साइँलो – नेपाली कविता

“साँच्ची हो र”
“लौ न हो, विताएछ”
सिमलघारे साहूको चिया भट्टीमा
एकाविहानै भीड जमाएका
चिया तमासेहरु
अचानक खैलाबैला गर्छन्
“कस्तो मूर्ख त्यो कान्छो त”
“जोसमा होस पुर्‍याएन त्यसले”
“मति बिग्रेछ कान्छोको”
“जे भएपनि आफ्नै ठूल्दाई…”

अल्छी लागेर हो कि
अलिक अवेर उठ्नाले
केहि ढीला गरी आइपुग्छ साँइलो
चियागफमा पैसा उडाउन
उही ड्याङ्को मुला न हो
गफ त दिनैपर्‍यो
र फेरि उही कान्छोकै कुरा
साँझ अवेरसम्म
दाजुभाईको भनाभन चल्दा
गोठमुनिको चिर्पट निकाली
ठूल्दाईको टाउको फुटाएको कुरा

“कान्छोको मात्रै के दोष र,
ठूल्दाईले पनि त
साँध मिच्नु हुन्नथ्यो नि
जेठो बाठो भएँ भन्दैमा
कान्छोको परिवारभित्र
भाँडभैलो गर्न मिल्दैनथ्यो
बलियो बाङ्गो छु भन्दैमा
कान्छोलाई सताइराख्नु
कहिले खेतको पानी थुन्नु
कहिले घरको गल्ली बार्नु
ठूल्दाईका ठूला बलमिच्याईं हुन्।”

साइँलो जङ्गिंदै गयो
“तपाईं भएपनि उही गर्नुहुन्थ्यो
अनि म पनि त
ठ्याक्कै त्यहि गर्ने थिएँ
स्वाधीनताको चाह गर्दा
बराबरीको हक खोज्दा
सिंङ जुधाउन आउनेसंग
सिंङ त लडाउनै पर्छ
चिर्पटका त के कुरा
लाठी, भाला, तरवार अनि
बन्दुकै पनि चलाउनुपर्छ…”

#२०६७ असोज १९ गते, इमाडोल ललितपुरमा लेखन