परजीवि – नेपाली कविता

प्रिय चाँदनी,
तिम्रो रुपको वयान गर्न
तिम्रो धूपको बखान गर्न
हजारौं कविहरु
लाखौं शव्द खर्चिन्छन्,
मूर्ख कविहरु
जान्न सक्तैनन्
या बुझ्न खोज्दैनन्
दृश्य सुन्दर अनि सितल
तिम्रो रुपको वास्तविकता
तिम्रो धूपको यथार्थता।

पराय ताप र धूप नहुँदा
कोहि तिमीलाई हेरोस्
तिम्रो वास्तविक रुप
एउटा कालो पिण्ड अनि
एक धमीलो छायाँ सिवाए
अरु त केहि होइन
तिमी सिर्जना गर्न सक्दिनौं केहि
अरुको सिर्जनामा फूल्नुपर्ने
अरुकै धूपमा चम्कनुपर्ने
तिमी एउटी परजीवि हौ
फगत एक परजीवि।

विहानीप्रहर
सूर्यको आगमनसंगै
घुँडा टेक्ने तिमी
पुच्छर लकाई हराउने गर्छ्यौ
अस्मिताका लागि स्पर्धा नगर्ने
कातर अनि कमजोर
शक्तिहीन औं निस्प्रभावी
एउटी लाचार प्राणी
मत्स्य देहको जुकासरी
तिमी एक परजीवि हौ
फगत एक परजीवि।

#२०६७ असोज २० गते, इमाडोल ललितपुरमा लेखन