प्रकाश – नेपाली कविता

प्रत्युष,
अविश्रान्त दैनन्दिन
पूर्वीय क्षितिज मा लालिमा छर्दै
मुस्कुराउने चेष्टा गर्छ
गुञ्जन्छे अनि
सुमधुर सुस्वादु प्रभातीलय
चिर्दै रजनी अवयवहरु
प्रकाश,
हठात् उद्घोष गर्छ
शान्त, शीतल अनि शौम्य
मनोहर एक नवविहान।

आभाकृत रश्मि,
अनि जाज्वल्यमान प्रकाश
निर्छावर भई जगतमा
अथकित र अविचलित
अनि
अविरल बर्षाइरहन्छन्
संगाल्दै माया हरेक जनको
अंगाली प्रीत हरेक चरको
र प्रकटमा सुन्दर अनि उत्साहकारी
सजीव एक दिवाकाल।

परन्तु,
ईष्यालु कादम्विनी
बज्रन्छे उसको छातीउपर
नसकी देख्न उसको चमक
या फेरी,
निष्ठूर पाश्चात्य क्षितिज
गर्भतिर आफ्नो खिंच्दै उसलाई
भोगाउँछ नियती विलीनताको
र छाउँछे,
निरस अनि निरुद्देश्यीय
शैतानी एउटी निशा।

निशा,
किन्तु जत्ति फिजाओस्
घनिभूत निस्पट्टता बाहूहरु
सक्तिन मेट्न
अनि,
सक्तिन छेक्न
कोटीकोटी अन्तस्करणहरुमा
चित्रित प्रकाश विम्बहरु
अप्रकट नै सही
ऊ त अमर रहन्छ
चाहे जत्ति बढोस् रात्री कहरहरु
चाहे जत्ति बढोस् रात्री प्रहरहरु

#२०६४ फाल्गुन ३० गते, पाटनढोका ललितपुरमा लेखन