विडम्वना – नेपाली कविता

हेर  राम्ररी हेर
आङ ढाक्न भनी
शीरदेखि पाउसम्मै
मैले पहिरेका श्वेत बस्त्र
लौ भन…
“के म निश्चल देखिन्नँ त
”निशन्देह…!”
किन्तु विडम्वना
देख्न सक्दैनौ तिमी
शरीर ढाक्ने नाँउमा
ढाकिएका मेरा कर्तुतहरु,
भेट्न सक्दैनौ तिमी
जीउभरी छरप्रष्ट रहेका
आला रक्त टाटाहरु।
अनि त…
ठम्याउन सक्दैनौ तिमी
हत्यारा मेरा कृत्यहरु।
र त…
भन्न सक्दैनौ तिमी
यो त ‘खुनी’ भनेर।

सुन, राम्ररी सुन
सजीव शिव सुन्दरतम्
प्रभावी र मृदुभाषी
मेरा हरेक बचनहरु
लौ भन…
“के म सत्य सुनिन्नँ त
”निश्चय नै…!”
किन्तु विडम्वना
पाउन सक्दैनौ तिमी
स्वैर कल्पनाकृत
सत्य भित्रका असत्यहरु,
भेट्न सक्दैनौ तिमी
पवित्र मन भाँचिएसंगै
उजाड कुनै जिन्दगानी।
अनि त…
पर्घेल्न सक्दैनौ तिमी
पापिष्ठ मेरा कदमहरु।
र त…
भन्न सक्दैनौ तिमी
यो त पापी भनेर।

हेर  राम्ररी हेर
स्निग्ध मुहार भित्र
निरपराध र निष्कपट
मेरा भाव भङि्गमाहरु
लौ भन…
“के म निर्दोष देखिन्नँ त
”अवश्य पनि…!”
किन्तु विडम्वना
देख्न सक्दैनौ तिमी
निर्दोषपनको अभिनयभित्र
विलीन मेरा अपराधहरु,
भेट्न सक्दैनौ तिमी
ईच्छाहरुको मरणसंगै
सजल कसैको नयनहरु।
अनि त…
नियाल्न सक्दैनौ तिमी
विश्वासघाती मेरा कदमहरु।
र त…
भन्न सक्दैनौ तिमी
यो त ‘धोकेबाज’ भनेर।

पढ, राम्ररी पढ
सुन्दर शील्पी लेखोटभित्र
भावनाका छालसंगै
अभिलिखित मेरा शब्दहरु
लौ भन…
“के म कोमल छैन त
”पक्कै पनि…!”
किन्तु विडम्वना
देख्न सक्दैनौ तिमी
भावुकताको खोलभित्र
सुसुप्त मेरा नृशंशताहरु,
दर्पणहरु फुटेसरी
टुटेका कसैका स्वप्नहरु।
अनि त…
पहिल्याउन सक्दैनौ तिमी
स्वार्थपूर्ण मेरा चालहरु।
र त…
भन्न सक्दैनौ तिमी
यो त स्वार्थी भनेर।

#२०६४ फाल्गुन २ गते, नयाँ वानेश्वर काठमाडौंमा लेखन