उपहार – नेपाली कविता

मध्य मरुस्थलको
लम्बे यात्रामा हिँडिरहँदा
भेटिएका थियौ तिमी
तिर्खाले आकुल व्याकुल भएका
पानी माग्यौ तिमीले
नसाँचेर पछिका लागि
अनि
आफ्नै प्यासको वास्ता नगरी
प्यास मेटाएँ तिम्रो।

अनवरत हिँड्दा हिँड्दै
तिम्रा गोडा गलेपछि
जीउ ज्यान थलिएपछि
एकक्षण आराम गर्न
मेरो साथ खोज्यौ तिमीले
पुग्नु त टाढै थियो
किन्तु
आफ्नो गन्तव्यको वास्ता नगरी
साथ निभाएँ तिम्रो ।

भोक लाग्यो भन्यौ,
खानेकुरा दिएँ
बलौटे हुरी चल्दा ओत नि दिएँ
आफ्नो लागि नसाँचेर
आफ्नै भाग नराखेर
जे जे माग्यौ सबै दिएँ
र त
तिमीले पार गर्‍यौ
अमानुष रेगिस्तान।

प्रिय साथी,
आज तिमी ‘ठाउँमा’ छौ
शक्तिशाली र अधिकारी पनि
बोली विक्छन् तिम्रा
किन्तु म त आम–साधारण
चाहँदैनौ तिमी आज पानी र ओत
दिन सक्तिन म डलरको भेट
भन के स्वीकार्छौ त
कवितारुपी यो उपहार ?

#२०६७ असोज २१ गते, इमाडोल ललितपुरमा लेखन