सन्तानहरु – नेपाली कविता

आमा,
ओ प्यारी आमा
आज तिम्रो छाती चस्कँदा
खै कहाँ गायव !
तिम्रा प्यारा सन्तानहरु…

तिमी भन्थ्यौ नि,
सिकार हान्न
सिपालु छ मेरो जेठो;
आज तिम्रै छानामाथि
एउटा कालो चील
निस्फिक्री मडारिइरहँदा
खै कहाँ गायव !
तिम्रो प्यारो जेठो
किन सक्तैन खै
फ्याँक्न एउटा गोली
कालो चीलको टाउकोमाथि ।

तिमी भन्थ्यौ नि,
साँध जोगाउन
टाठो छ मेरो माइलो;
आज तिम्रै आँगनभित्र
तिरङ्गाको कालो चक्र
बेरोकटोक जङ्गिइराख्दा
खै कहाँ गायव !
तिम्रो प्यारो माइलो
किन निक्लन्न खै
फ्याँक्न उखेली समूल
कुटील काला तिरङ्गाहरु।

तिमी भन्थ्यौ नि,
घरवार सम्हाल्न
सिपालु छे मेरी कान्छी;
आज तिम्रै घरभित्र
एउटा रातो ड्रयागन
जजमानी चलाइरहँदा
खै कहाँ गायव !
तिम्री प्यारी कान्छी
किन आँटदिने खै
फ्याँक्न एउटा खुकुरी
ड्रयागनको टाउकोमाथि।

आमा,
ओ प्यारी आमा
आज तिम्रो छाती
चस्कँदा
खै कहाँ गायव !
तिम्रा प्यारा सन्तानहरु…

#२०६७ असोज १८ गते, इमाडोल ललितपुरमा लेखन