तिम्रो नारा – नेपाली कविता

साथी,
तिमी चिच्याउँछौ मण्डलामा
शान्ति चाहियो भन्छौ,
वैदेशिक सहयोगमा आयातित
एकाध दर्जन
राता पहेंला मैनबत्ती जलाई
शान्तिको प्रार्थना गर्छौ ।
भोलिपल्ट,
प्रायोजित खबर र लेखहरुले
ढाकिन्छन छापा पृष्ठहरु
बस्, पुग्छ तिमीलाई
एकमासको ककटेल खर्च
चलिरहेछ यसैगरी
तिम्रो आगत विगत ।

साथी,
आज एकपटक
छातीमा हात राखी भन
के तिमी साँच्चै शान्ति चाहन्छौ त ?
शान्तिको पुजारीका रुपमा
अमनको तिम्रो महायज्ञले
मानौं पूर्णता पायो रे,
चैनको त्यस रामराज्यमा
तिम्रो ककटेलका दाताहरु
पक्कै पनि गायब होलान्,
अनि के गर्छौ तिमी ?
त्यसैले भन त लौ
तिम्रो नारा
के साँच्चै शान्तिकामी ?

#२०६७ पौष १३ गते, इमाडोल ललितपुरमा लेखन