तिम्रो संसार – नेपाली कविता

मित्र,
जब तिमी हाँस्छौ,
तिम्रो हाँसोमा हाँसो मिलाई
तिम्रो खुसीमा खुसी थप्दै
तिम्रो संसार
तिम्रा नातागोता आफन्तहरु
प्रीयजन र साथीहरु
तिम्रो सुखको भाग खोज्छन् ।

मित्र,
जब तिमी बोल्छौ
तिम्रो बोलीमा लोली मिलाई
तिम्रो आवाजमा स्वर थप्दै
तिम्रो संसार
तिम्रा परिचित प्रशंसकहरु
प्रीयवर र मित्रहरु
तिम्रो विचारको साक्षी बन्छन् ।

मित्र,
किन्तु जब तिमी रुन्छौ
तिम्रो आँशुमा अश्रु बहाउने
तिम्रो पीडामा मल्हम लगाउने
तिम्रो संसार
नातागोता परिचितगण
प्रीयजन र मित्रहरु
कतै अज्ञातमा विलिन हुन्छन् ।

#२०६७ पौष १४ गते, इमाडोल ललितपुरमा लेखन