‘आई हेट हिम्’ – नेपाली कविता

मेरो बुढो
कविता लेख्ने गर्छ
‘आई हेट हिम्’ ।

चिन्ता छैन उसलाई
छिमेकीले
‘ब्याङ्क ब्यालेन्स’ गरेको,
सुर्ता गर्दैन ऊ
साथीहरुले
‘प्राइभेट कार’ चढेको;
गमक्क परी आफैसंग
मोरो बुढो
निस्फिक्री निसङ्कोच
उपन्यास लेख्नेगर्छ
‘आई हेट हिम्’ ।

वास्ता छैन उसलाई
श्रीमतीका
‘बेसिक निड’हरु
मतलब गर्दैन ऊ,
छोराछोरीका
‘स्कुल बिल’हरु;
गजधम्म एकान्तमा
मोरो बुढो
निस्फिक्री निसङ्कोच
एकाङ्की लेख्नेगर्छ
‘आई हेट हिम्’ ।

इच्छा छैन उसलाई
देवर जस्तै
‘बिजनेस म्यान’ बन्ने,
रुची गर्दैन ऊ
भाइबहिनीले झैं
‘अफिस ज्वाइन’ गर्ने;
गुपचुप बसी एक्लै
मोरो बुढो
निस्फिक्री निसङ्कोच
निबन्ध लेख्नेगर्छ
‘आई हेट हिम्’ ।

मेरो बुढो
कविता लेख्ने गर्छ
‘आई हेट हिम्’ ।

– २०६९ पौष १९ गते, इमाडोल ललितपुरमा लेखन