ऊ नाँचिरही – नेपाली कविता

ऊ नाँचिरही,

मैले हेरिरहें ।

रित्तिइजाने प्यालाहरुमा
स्कचको बर्षा गरी
पिउँदै र पियाउँदै
‘कायामद’ पोख्याउँदै
ढल्किँदै मस्किएर
लजाउँदै जिस्किएर
ऊ नाँचिरही,

मैले हेरिरहें ।

मध्य मोहक यौवनमा
सुन्दर श्रृङ्गार गरी
लाजको पर्दाका खातिर
‘अत्याधुनिक’ दुई वस्त्रमा
सर्लक्क ढाकिएर
मदमस्त मातिएर
ऊ नाँचिरही,

मैले हेरिरहें ।

मस्त मधुर पाश्र्वधुनमा
अट्टहास र वात मार्दै
शुश्क मत्त अतिथीबिच
‘बहुरङ्गी’ प्रदीप्तीबिच
क्याविनभरी काया बाँडी
अङ्गालोको माया बाँडी
ऊ नाँचिरही,

मैले हेरिरहें ।

घरिघरी अनायासमा
नयन सजल हुन खोज्दा
विवशताका विम्बहरु
‘चित्कार’का चिन्हहरु
हतारहतार लुकाएर
अन्तै शिर झुकाएर
ऊ नाँचिरही,

मैले हेरिरहें,
बस्, हेरिरहें ।

# २०६९ पौष १६ गते, इमाडोल ललितपुरमा लेखन