सपना – नेपाली कविता

स्वप्नील संसार
अक्सर मीठो हुने गर्छ
सुस्वादु अनि रङ्गिन पनि
क्षणभङ्गुर नै सही
इच्छातृप्ती र सफलता
सपनाका विशेषताहरु हुन
जाग्रामका चोट ब्यथाहरु
बिर्सने थलो पनि हो सपना
त्यसैले कामना गरिन्छ स्वप्नको ।

किन्तु म
देख्न चाहन्नँ सपना
पाउन चाहँदिन स्वप्नील सुख
कारण त्यो टुट्न सक्छ
फुट्न सक्छ तर जुट्न सक्दैन
क्षणिक प्रसन्नता हेतू
सत्यता कुल्चन चाहन्नँ म
त्यसैले देख्न चाहन्नँ म सपना
जस्तो सबले देख्ने गर्छन् ।

#२०६५ श्रावण २४ गते, पाटनढोका ललितपुरमा लेखन