द रिभोल्युसन विल नट बी टेलिभाइज्ड : विशिष्ठ वृत्तचित्र

अमेरिकी गुप्तचर नियोग सि.आई.ए.को योजना र ब्यापारिक घरानाद्वारा सञ्चालित पुँजीवादी सञ्चार संस्थाहरुको बलमा भेनेज्वेलाका जननिर्वाचित राष्ट्रपति ह्युगो चाभेजलाई ‘मिडिया कु’ गरिएको बिषयमा बनेको वृत्तचित्र हो ‘द रिभोल्युसन विल नट बी टेलिभाइज्ड’ । अप्रिल ११, २००२ मा सुरु भई ४७ घण्टा लम्विएको उक्त

असफल ‘मिडिया कु’ को दौरान राष्ट्रपति चाभेजलाई अपहरण गरी बेपत्ता बनाउँदै भेनेज्वेलन उद्योग बाणिज्य महासंघ प्रमुख पेड्रोलाई अन्तरिम राष्ट्रपति घोषित गरियो र राष्ट्रिय सभा, निर्वाचन आयोग ,महान्यायधिवक्ता केन्द्रीय बैंक तथा सर्वोच्च अदालत लगायतका निकायहरु बिघटन गरिए । चाभेजद्वारा सन् १९९९ मा जारी तथा दुई तिहाइ बढी जनमतद्वारा अनुमोदित जनसंबिधान निस्त्रि्कय पार्दै षड्यन्त्रपूर्वक मच्चाइएको उक्त कु को मुख्य मतियार चाभेज बिरोधी पुँजिवादी मिडियाहरु थिए जसका गलत अतिसयोक्तिपूर्ण र पक्षपाती सुचना, समाचार र बिचार प्रवाहको सहयोगमा सि.आई.ए. पालित पूर्व पेट्रोलियम अधिकारीहरु तथा उच्च ब्यापारीहरुले कु मच्चाएका थिए । आकस्मिक कु लगत्तै अन्यौलमा परेका भेनेज्वेलनहरु दुई दिनभन्दा बढी अवधीसम्म आफ्ना आधिकारिक राष्ट्रपतिबारे बेखबर मात्रै भएनन्, चाभेजले राजिनामा दिइसके भन्ने झूठो समाचारको समेत सिकार भए। कार्मोनाको अन्तरिम सरकारलाई अमेरिका र स्पेनले तुरुन्तै मान्यता दिएपनि ल्याटिन अमेरिकी देशहरुले भने पहिचान गरेनन् ।

अन्ततः व्यापक जनदवाव तथा चाभेजप्रति वफादार ‘प्रेसिडेन्सियल गार्डस्’का सैनिकहरुको हस्तक्षेपका कारण कु अन्त्य भयो र मारिनै आँटिएका चाभेज पुनः राष्ट्रपति भवन फर्काइए । कु भइरहेको त्यो समयमा निर्देशक ‘किम बर्टली’ तथा छाँयाकार ‘डोनाचा ओब्रिर’को वृत्तचित्र निर्माण टोली संयोगवस् राजधानी काराकासस्थित राष्ट्रपति भवन ‘मिराफ्लोर्स’ भित्रै उपस्थित थियो जसले तात्कालीन पलपलका श्रव्यदृश्य छायाँकन गर्ने दुर्लभ अवसर प्राप्त गर्यो । युरोप, अमेरिका लगायत विश्वभर लोकप्रीय भइरहेका चाभेजका बारेमा सत्य तथ्य वृत्तचित्र निर्माण गर्ने उद्देश्यसहित भेनेज्वेला पुगेको उक्त टोलीले आफ्नो अभीष्ट भन्दा बिल्कुल भिन्न वृत्तचित्र ‘द रिभोल्युसन विल नट बी टेलिभाइज्ड’ तयार पार्यो जसले थुप्रै सम्मान र पुरस्कारहरु प्राप्त गरेको छ ।

विश्वकै सबैभन्दा छोटो अवधीको भनी दावी गरिने उक्त कुको सन्दर्भमा वृत्तचित्रले आफूलाई स्वतन्त्र र मुलधारको सञ्चारगृह बताउने पुँजीवादी ब्यापारिक टेलिभिजन प्रसारण केन्द्रहरुको घीनलाग्दो सूचना सम्प्रेषण तथा राजनैतिक पक्षपातको भण्डाफोर गरेको छ । स्पेनी र अंग्रेजी भाषाको मिश्रणबिच तयार पारिएको उक्त वृत्तचित्रले साम्राज्यवाद र उसका दलालहरुको अनेकन तिगडमका बिचसमेत क्रान्तिको फूल फुलेरै छाड्ने शन्देस छोडेको छ । बोलिभारियन क्रान्तिका प्रणेता तथा जनप्रीय राष्ट्रपति ह्युगो चाभेज विरुद्ध कु गरिँदा भेनेज्वेलाका गरीब र बिपन्न बर्गले गरेको जीवन मरणको संघर्ष र त्यस दौरान प्रतिक्रियावादीहरुले अपनाएका बिभिन्न हर्कतहरुको सजीव र प्रत्यक्ष छाँयाकन समेटेको यस ऐतिहासिक वृत्तचित्रले पुनः एकपटक साम्राज्यवाद र गोयबल्सवादलाई कागजी बाघको रुपमा प्रमाणित गरेको छ । मिडिया स्वतन्त्रताको नाउँमा सही, सत्य र सन्तुलित सामग्री पेश गर्नुपर्ने आचार संहिता बिर्सेर एकपक्षीय बिषवमन गर्दै भ्रामक समाचार र विचारको खेती गरी जनताको आँखामा छारो हाल्न खोज्ने देशविदेशका कयौं सञ्चार गृहहरुले हेरेर शिक्षा लिनुपर्ने यस वृत्तचित्रको उपलब्धता नेपालमा अत्यन्त दुर्लभ छ किन्तु विश्वभरका न्यायपूर्ण जनसंघर्षहरुप्रति सदैव ऐक्यबद्धता जनाउँदै आएका नेपालीहरुले हेर्न सक्दछन् ।