दोश्रो विश्वयुद्धको दौरान नाजी स्ट्रोम ट्रुपर्सले नरसंहार मच्चाइरहँदा एक जर्मन व्यापारीले सयौं यहूदीहरुलाई संरक्षण दिई उद्दार गरेको विषयको मानवताबादी चलचित्र हो – ‘सिन्डलर्स लिस्ट’। विश्वविख्यात निर्देशक ‘स्टेभेन स्पिलवर्ग’द्वारा निर्देशित सिन्डलर्स लिस्टले उत्कृष्ट चलचित्रसंगै सात बिधामा ओस्कर पुरस्कार जितेको थियो । युद्धको कालो बादल मडारिइरहँदा पनि मानवता र हार्दिकताको अन्त्य हुँदैन भन्ने शन्देस बोकेको यस चलचित्रले दर्शकलाई दोश्रो विश्वयुद्धको झझल्को दिलाउँछ ।

चलचित्रको कथा अनुसार फासीवादी तानाशाह अडोल्फ हिटलरको जर्मन नाजी सेनाले सेप्टेम्वर १९३९मा दुई हप्ते युद्ध पश्चात पोल्यान्डमाथि कब्जा जमाउँदै पोलिस यहूदीहरुलाई नाजी सेना अधिकारीसमक्ष नाम दर्ता गर्न उर्दी जारी गरी दमन, अपमान र हत्याको श्रृङ्खला आरम्भ गर्दछ। औद्योगिक मजदुरका रुपमा गैर यहूदी पोलिसहरुको सट्टामा अति न्यून पारिश्रमिक दिई यहूदीहरुलाई खटाइन्छ । केहि शिक्षित तथा काम गरिरहेका यहूदी मजदूरहरुलाई नाजी सैनिकहरु आफ्नो इच्छा अनुसार गोली प्रहार गरी मार्दछन् या तड्पाउँदै यौनसाथी बनाउँदछन् । यस्तैमा सेनाका लागि भाँडाकुँडा उत्पादन गर्ने उद्योग सञ्तालन गर्न आइपुग्छन् एक ‘जर्मन राष्ट्रिय समाजवादी पार्टी’ (संक्षेपमा–नाजी) सदस्य तथा व्यापारी ‘ओस्कर सिन्डलर’ (लियम निसन)। उनी अरु नाजीहरु भन्दा फरक तथा उदार स्वभावका हुन्छन् ।

युद्धको बिभिषिका चर्कदै जाँदा यहूदीहरुमाथिको अत्याचार पनि बढ्दै जान्छ । विशेषत शोभियत रुसको दक्षिणी भेगबाट नाजी सैनिकहरु पराजित हुन थालेपछि यहूदीहरुमाथि सामुहिक कत्लेआम सुरु गरिन्छ । निहत्था यहूदी पुरुष महिलाहरुलाई निर्वस्त्र पारी रेलमा कोचेर विभिन्न यातना शिविर तथा बन्दीगृहहरुमा लगिन्छ जहाँ उनीहरुले मृत्यु कुरेर बस्नुपर्ने हुन्छ । मृत्यु ताण्डव मच्चिइरहँदा शैन्य सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने भन्दै व्यापारी सिन्डलर ले आफ्नी प्रीय यौनसाथी ‘हेलेन हिर्र्चर’ (एम्वेथ ड्याभिट्ज) समेत करीव एक हजार यहूदीहरुको सुची तयार पारी पोल्याण्डको क्राकोउ शहरबाट आफ्नो गृहशहर ज्वीट्टाउ–ब्रिन्लीज (चेकोस्लोभाकिया) ल्याउँदछन् । नाजी सेना अधिकारी ‘एमोन गोवेथ’ (राल्फ फेन्निज) लाई प्रतिव्यक्ति चर्को घुस दिएर ल्याइएका ती यहूदीहरु सिन्डलरको नयाँ उद्योगमा सुरक्षित त रहन्छन् तर उद्योगले प्रगति गर्न भने सक्दैन । अन्त्यमा, हिटलरको आत्महत्या संगै जर्मन सेनाले आत्मसमर्पण गर्दछ र शोभियत लालसेनाद्वारा यहूदीहरु मुक्त गरिन्छन् । मुक्त यहूदीहरुलाई दिन आफूसंग थप केहि नभएको अवस्थामा सिन्डलरले सबैलाई एक बोत्तल भोड्का र अढाई मिटर कपडा उपलब्ध गराई मजदूर यहूदीहरुसंग भावपूर्ण विदावारी हुन्छन् ।

चलचित्रको अधिकांश भाग ‘फ्ल्यास व्याक’ शैलीमा श्यामश्वेत रङ्गमा प्रस्तुत गरिएको छ । करीव १९५ मिनेट लामो यो चलचित्रले पटक पटक दर्शकको जीउ सिरिङ्ग गराउने मात्रै होइन, साम्राज्यवादी फासिस्टहरुको नाङ्गो स्वरुप उजागर समेत गरिदिन्छ। छाँयाकन, स्वराङ्कन, सम्पादन तथा सांगितिक पक्ष समेत उत्कृष्ट रहेको यो चलचित्र एउटा दर्शनीय तथा संग्रहणीय श्रव्यदृष्यको रुपमा आएको छ ।