यथार्थवादी प्रगतिशील चलचित्र : इनोसेन्ट भोइसेज

जनताको न्यायपूर्ण विद्रोह तथा आन्दोलन दमन गर्न साम्राज्यवादी अमेरिका र उसका पिछलग्गु सरकारहरु जस्तोसुकै हत्कन्डाहरु अपनाउन समेत पछि नपर्ने वासतविकता प्रस्तुत गरेको छ स्पेनी भाषाको मेक्सिकन चलचित्र इनोसेन्ट भोइसेजले । भुमिमाथिको स्वाधिकार जस्ता न्यायपूर्ण माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका मध्य अमेरिकी मुलुक एल साल्भाडोरका किसान तथा गरीबहरु साल्भाडोरियन तानाशाही सैनिक सरकारले चरम दमन गरेपछि एफ.एम.एल.एन. (फाराबुन्टो मार्टी नेशनल लिवरेशन फ्रन्ट) नामक बामपन्थी पार्टीको छातामुनी संगठित भई सन् १९८० मा सरकार विरोधी शसस्त्र संघर्षमा उत्रिए । आफूलाई प्रजातन्त्रको विश्व ठेकेदारको रुपमा चिनाउन चाहने अमेरिकी सरकारको प्रत्यक्ष निर्देशन तथा अरबौं डलर बराबरको शैन्य सहयोगको बलमा साल्भाडोरियन सेनाले विद्रोह दवाउन थालेपछि सुरु भएको गृहयुद्धको एक दर्जन बर्षको अवधीमा करीब ७५ हजार मानिसहरुले ज्यान गुमाउनुपर्‍यो । युद्धमा एफ.एम.एल.एन. पक्ष विजयी हुँदै गएपछि अत्तालिएको सैनिक सरकारले आफ्नो पक्ष सुदृढ गर्ने चेष्टास्वरुप १२ बर्ष उमेर पुगेका सबै बालकहरुलाई अपहरण गरी सेनामा जवरजस्ती भर्ती गर्न थाल्नाले देखापरेको सामाजिक, राजनैतिक तथा बाल मनोविज्ञानगत प्रभाव उजागर गर्नु चलचित्र ‘इनोसेन्ट भोइसेज’ मार्फत निर्देशक लुइस म्यानडोकीको अभीष्ट हो ।

चलचित्रको कथा अनुसार अमेरिका पालित सैनिक सरकार र विद्रोही एफ.एम.एल.एन. गुरिल्लाहरु बिच युद्ध चलिरहँदा विद्रोही पक्षलाई समर्थन र सहयोग गरेको भन्दै १२ बर्षीय बालक ‘चाभा’ (कार्लोस प्याडिल्ला) तथा उनका साथीहरुलाई पक्राउ गरी हत्या गर्न जंगलछेउको खोलातिर लगिन्छ । शसस्त्र सेनाको घेरावन्दीविच झरीमा रु137दै मृत्यु यात्रामा रहँदा बालक चाभाले फ्ल्यास व्याक शैलीमा आफ्नो विगत सम्झँदै जान्छन् । युद्धको सुरुवात संगै वुवा विदेसिएपछि आमा ‘केला’ (लियोनोर भ्यारेला) को माया र साथीहरुसंगको हाँसखेलविच स्कूल जाने आउने गरेका चाभा एकदिन आफ्नै बिद्यालयबाट समेत सेनाले बलपुर्वक १२ बर्ष उमेर पुगेका बालकहरु अपहरण गरेपछि सन्त्रस्त बन्न पुग्दछन् । किन्तु एफ.एम.एल.एन. सदस्य तथा उनका मामा ‘तियो बेटो’ (जोसे मारिया याज्पीक)को ढाडस र नवप्रेमिका क्रिस्टिना मारिया (जूना प्रिमस) को साथका कारण उनी आफ्नो बालसुलभ गतिविधी जारी राख्दछन् । बिद्रोहीहरुको प्रभाव र विजययात्रा बढ्दै जाँदा सैनिक आतंक समेत बढ्दै जान्छ । सैनिकहरु गाउँ घेरा हाली बालक अपहरण गर्न सुरु गर्दछन् तर पूर्व जानकारी पाएका कतिपय बालकहरु भने छानामा लुकेर सेनालाई झुक्याउँछन् । दुर्भाग्यवस् सेनाले आफूलाई झुक्याइएको चाल पाउँछ र दोश्रो चरणमा थुप्रै बालकहरु अपहरित हुन्छन् । चाभा र उसका साथीहरु भने बिद्रोही समूहमा संगठित हुने अठोटका साथ भाग्दछन् र सेनाद्वारा पक्राउ परी मारिनका लागि जंगलछेउको खोलातिर डोर्‍याइन्छन्। उता चाभाको घर रहेको बस्तीका आगो लगाइन्छ र मानिसहरु घरबार विहीन भई विस्थापित हुन पुग्छन् ।

पटकथाकार ओस्कर टोर्रेजको बाल्यकालिन भोगाईमा आधारित १०७ मिनेट लामो चलचित्र इनोसेन्ट भोइसेज प्राबिधिक कोणबाट समेत शसक्त छ । चाभाको रुपमा कार्लोस प्याडिल्ला र आमाको भुमिकामा लियोनोर भ्यारेलाको अभिनय राम्रो छ। वर्गीय युद्धमा प्राणहूती दिएका साल्भाडोरियन जनताहरुको सजीव प्रस्तुतिकरण बोकेको यस चलचित्रलाई यथार्थको धरातलका उभिएको एक प्रगतिशील चलचित्रको रुपमा स्वीकार गर्न सकिन्छ ।

-जनादेस साप्ताहिक, बर्ष १९ अंक १३ पृष्ठ ८ (२०६६ माघ १२ गते मंगलबार )मा पहिलो प्रकासन