भियतनामी साहस र वीरताको प्रस्तुती : 1968 TUNNEL RATS

अत्याधुनिक शस्त्रास्त्रले सुसज्जित साम्राज्यवादी अमेरिकी सेना विरुद्ध निशस्त्रप्रायः भियतनामी जनताले लडेको विश्वप्रसिद्ध सुरुङ् युद्धमा आधारित यथार्यपरक सन्तुलित चलचित्र हो – ‘1968 TUNNEL RATS’ । सन् १९५९ देखि १९७५ सम्मको दुई दशक लामो युद्धको दौरान दैनिक हत्या, लुट, बलात्कार अनि निरन्तरको हवाई हमलामा लाखौं भियतनामी जनताहरुको कत्लेआम गरिएपनि अमेरिका र उसका पिछलग्गु आक्रमणकारीहरुलाई धुलो चटाउन सफल साहसी तथा वीर भियतनामीहरुले अपनाएको आदिम युद्ध कौशल प्रस्तुत गर्नु यस चलचित्रको विशेषता हो ।

दक्षिणी भियतनाम स्थित विश्वविख्यात ‘चु ची’ क्षेत्रका वचेखुचेका भियतनामी जनता र स्वयं सेवक मिलिसियाहरु तथा भियत किन्ह सिपाही र ‘स्नाइपर’हरुले जमिनमुनी सुरुङ्भित्रै निर्माण गरेका अनेकौं अस्पताल, आवासगृह, चमेनाघर, सभाहल, हतियारकक्ष लगायतका संरचनाहरुको आडमा जमिनमाथि वमवारी र ‘पेट्रोलिङ’ गर्ने अमेरिकी सेनालाई एकएक गर्दै ढालेको तथ्य विश्वभर पुर्याषउँदै यसअघि पि.वि.एस. टेलिभिजन श्रृङ्खला र सि.आई.ए.को स्वार्थानुकूल निर्मित भियतनाम युद्धवारेका एकपक्षीय चलचित्रहरुले छरेका भ्रम हटाउन यो चलचित्र सफल रहेको छ ।

भियतनामी कम्युनिष्ट सत्ताको रक्षा अनि उत्तर–दक्षीण भियतनाम एकीकरणका लागि जीवन मरणको युद्धमा होमिएका भियतनामीहरुको उच्च मनोवल अनि युद्धका हरेक मोर्चावाट आफ्ना सैनिकहरुको शव उठाउनुपेकोमा तीतो पोखिरहेका अमेरिकी सैनिकहरुको कमजोर इच्छाशक्तिको प्रस्तुतीसंगै चलचित्र आरम्भ हुन्छ । पेट्रोलिङको क्रममा एकदिन एउटा सुरुङ्को प्रवेशद्वार फेला पर्छ जहाँ केहि अमेरिकी सैनिकहरु प्रवेश गर्छन् तर जीवित फर्कन सक्दैनन् । उनीहरुले सुरुङ् भित्र विष्फोट गराउने देखि विषालु ग्याँस विसर्जन सम्म गर्छन् । सुरुङ्भित्रै खनिएका धराप, राखिएका भित्ते विष्फोटकहरु, तेर्स्या इएका भाला र घोचाहरु अनि खनिएका भुमिगत पोखरी तथा पानी कोठरी जस्ता अचम्मलाग्दा युद्धसामग्रीका कारण एकपछि अर्को गर्दै थुप्रै अमेरिकी सैनिकहरु मारिन्छन् । सुरुङ् भित्रको अँध्यारो तथा अमेरिकी सैनिकहरुको प्रविष्टिप्रति वेखवर केहि भियतनामी स्वयंसेवकहरु पनि हताहत हुन्छन् । अर्कोतर्फ भियत किन्ह सिपाहीहरु सुरुङ् वाहिर आई अमेरिकी सेनासंग प्रत्यक्ष भीँड्दछन् र सम्पूर्ण क्याम्प नै उडाइदिन्छन् । बचेखुँचेका एकाध अमेरिकी सैनिकहरु हवाई हमलाका लागि अर्को क्याम्पमा सम्पर्क गर्दछन् तर त्यत्तिखेर सम्म काफी ढीला भैसकेको हुन्छ र युद्धमा भियतनामीहरुको सानदार विजय हुन्छ । चलचित्रको अन्त्यमा भने सुरुङ्भित्रै हराएका एक शसस्त्र अमेरिकी सैनिकले निशस्त्र भियतनामी स्वयंसेवक महिलासंग आत्मसमर्पण गरेको र दुवै मिलेर हवाई हमलामा पुरिएको सुरुङ्द्वार खनेको देखाउँदै मैत्री सन्देश देखाइएको छ ।

स्वतन्त्र जर्मन निर्देशक उवे बोलद्वारा निर्देशित यस चलचित्रमा माइकल पारे, विल्सन वेथेल, नेट पार्कर लगायतका कलाकारहरुको अभिनय रहेको छ । करीव ९२ मिनेट लामो यस चलचित्रमा प्रयुक्त अमेरिकी सेनाको भाषाशैली र हिंसाको कारण १८ वर्ष उमेर पुगेका दर्शकहरुको लागि मात्र उपयुक्त भनि निर्धारण गरिएको छ । चलचित्रको छायाँकन, स्वराङ्कन तथा सम्पादन जस्ता प्राविधिक पक्ष समेत उत्कृष्ट छ । कमरेड हो चि मिन्हको कुशल नेतृत्वमा भियतनामी जनताको त्याग र वलिदान अनि वीरताको गौरवगाथा बोकेको यस चलचित्र तपाईंले चाँही नहेर्ने ?