संघर्ष र जीवनवादको पर्याय चलचित्र : द पियानिस्ट

दोश्रो विश्वयुद्धकालीन नाजी नरसंहार र ध्वंस अनि युद्धको विभीषिकाविच मानवीय संवेदनाका पक्षहरु समेटेर बनेको पोलिस चलचित्र हो, ‘द पियानिस्ट’। सन् १९३९ मा जर्मनीद्वारा पोल्याण्ड कब्जा गरिए पश्चात त्यहाँ स्थित यहूदीहरु तथा कम्युनिस्टहरु माथि थोपरिएको वर्वर नाजी कत्लेआमका बिच ध्वस्तप्रायः पोलिस शहरका भग्नावशेषहरुमा लुक्दै छिप्दै र भोकै प्यासै बाँच्न सफल एक युवा यहूदी पियानोवादक ‘वाल्डिस्लभ स्ज्पील्म्यान’को यथार्थ जीवन भोगाइमा आधारित यस चलचित्रले एकैसाथ सात विधामा ओस्कार मनोनित भई सर्वश्रेष्ठ अभिनेता, निर्देशक र पटकथा लगायतका पुरस्कारहरु हात पारेको थियो । दशकौंसम्म अमेरिकामा प्रतिवन्धित रहेका पोलिस निर्देशक रोमन पोलान्स्कीद्वारा निर्देशित यस चलचित्रमा पियानोवादक स्ज्पील्म्यानको भूमिका निर्वाह गरेका छन् एड्रीन ब्रोडीले ।

चलचित्रको कथा अनुसार नाजी कव्जा पश्चात पोल्याण्डका यहूदीहरुलाई उनीहरुको घरवाट निकाली एक छुट्टै र साँघुरो स्थानमा राखी वरिपरिबाट घेराबन्दी गरिन्छ । आफ्नो जायजेथा र आम्दानीबाट बञ्चीत यहूदीहरु त्यहाँ भोक, प्यास अनि यातनाका कारण अत्यन्त कष्टकर जीवन जिउँदछन् । यसरी जीवन गुजार्न वाध्य पारिनेहरुमा एक सम्मानित पियानोवादक तथा उनको परिवार पनि हुन्छ । यस्तैमा, एकदिन महिला, बुढाबुढी र केटाकेटीहरुलाई अन्यत्रै (यातनागृहमा) लगिन्छ र श्रम गर्न सक्ने केहि यहूदी युवकहरुलाई नाजी उत्पादनको कामहरुमा खटाइन्छ, जसमा पियानोवादक स्ज्पील्म्यान पनि पर्दछन् ।

विस्तारै ती श्रमिकहरु नाजी अत्याचारको विरुद्ध शसस्त्र हुन सुरु गर्दछन् र भूमिगत भई नाजीहरुको प्रतिकार गर्न थाल्दछन् । स्ज्पील्म्यान पनि यस्तै समूहमा लाग्छन् र भूमिगत जीवन सुरु गर्छन्, किन्तु उनी लगत्तै गम्भीर विरामी हुन पुग्छन । युद्ध चर्क्रदै जाँदा नाजी कत्लेआम बढ्दै जान्छ। विश्वयुद्धको उत्तरार्धमा सोभियत लाल सेनाद्वारा पराजित हुँदै पछि हट्न थालेका नाजी सैनिकका एक उच्च अधिकारीले उनलाई लुकिरहेको अवस्थामा भेट्दछन् तर नाटकीय रुपमा उनलाई अन्नपानी र कपडा दिई संरक्षण गर्दछन् । सोभियत सेनाद्वारा पोल्याण्ड मुक्त भएपछि उनी वार्सा स्थित रेडियोका लागि पियानो वादक नियुक्त गरिन्छन् भने पराजित नाजी सैनिकहरुलाई युद्धवन्दी बनाइन्छ ।

निर्देशक पोलान्स्कीको व्यक्तिगत जीवनसंग मेल खाने ठानिएको यस चलचित्रले युद्धको मैदानमा परिवारप्रतिको स्नेह र प्रेम अनि भूमिगत जीवनका अवयवहरुलाई पक्रँदै जीवनवाद तथा आशावादको विगुल फुकेको छ । करीव १५० मिनेट लामो यस चलचित्र जति स्तरीय छ, त्यत्तिनै मार्मिक र हृदयस्पर्शी पनि छ । पियानोवादकको भूमिका निभाएका ब्रोडीको अतुलनीय अभिनय अनि समग्रमा प्राविधिक स्तरीयता सहितको यस चलचित्र नेपालमा सहज प्राप्य देखिन्छ ।