द मोटरसाइकल डायरिज : एक दर्शनीय चलचित्र

पहिला संसारले तिमीलाई बदलोस् अनि तिमीले संसार बदल्नेछौ ।’ – यो कथन हो स्पेनी भाषको प्रगतिशील चलचित्र ‘द मोटरसाइकल डायरिज’को । चलचित्रमा, अर्जेन्टिनामा जन्मिई हुर्केर चिकित्साशास्त्र अध्ययन गरी कुष्ठरोग विशेषज्ञ बनेका युवामा कसरी विश्वक्रान्तिको भाव उजागर हुनपुग्यो भन्ने विषयबस्तु उठान गरिएको छ । विख्यात ब्राजिलियन निर्देशक वाल्टर स्यालेजद्वारा निर्देशित उक्त १२७ मिनेट लामो चलचित्रमा तात्कालीन ल्याटिन अमेरिकी मुलुकहरुको सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक परिवेशको चित्रण गर्दै आमूल परिवर्तनको आवाज मुखरित गरिएको छ ।

चलचित्रको कथा अनुसार दुई आत्मीय साथीहरु ‘अर्नेस्टो ग्वेभारा’ (जील गार्सिया बर्नल) र ‘अल्बर्टो ग्रानाडो’ (रोड्रिगो डे ला सेर्ना) चिकित्सकीय स्वयंसेवा गर्दै दक्षिण अमेरिकी प्रायद्वीपको मोटरसाइकल भ्रमणमा निस्कन्छन् । करीब ६ हजार माइलको दुरी एक पुरानो मोटरसाइकलमा पुरा गर्ने दुस्साहसपूर्ण यात्राको दौरान उनीहरु अर्जेन्टिनाबाट चिली अनि पेरु हँदै भेनेज्वेलासम्म पुग्दछन् । पुरानो मोटरसाइकल अक्सर बिग्रिरहेपनि र आर्थिक अभाव खड्किइरहेपनि उनीहरुको यात्रा निरन्तर जारी रहन्छ । आरम्भमा मनोरञ्जनात्मक गतिविधी र प्रेममय भेटघाटमा सिमित यात्राले चिलीको ग्रामीण भेगमा पुगेपछि भने गम्भीर मोड लिन पुग्छ । त्यहाँ स्थानीय कृषकहरुले बर्षौदेखि खनजोत गर्दै आइरहेको जमीन सरकार संरक्षित ठेकेदारहरुले विना मुआब्जा कब्जा जमाई उल्टै कृषकहरुलाई भुमिहीन मजदूरमा परिणत गरेको देखेपछि युवा अर्नेस्टो ग्वेभाराभित्र बिद्रोहको झिल्को सल्कन्छ । अझ यात्राकै दौरान पेरु पुग्दा साम्राज्यवादीहरुले विनाश गरेको सभ्यता र गरीब तथा विरामीहरुमाथि हुनेगरेको विभेद देखेपछि उनीभित्रको विद्रोहको झिल्को राँकोमा परिणत हुन्छ अनि भेनेज्वेला पुगेर सहयात्री अल्बर्टोसंग भावपूर्ण विदावारी भई उनी विश्वक्रान्तिको मसाल बाल्न पुग्दछन् ।

केहि व्यापारिक मसलाहरुको प्रयोग गरिएको भएपनि ‘द मोटरसाइकल डायरिज’ एक सार्थक सडक चलचित्र बनेको छ । क्युबाली क्रान्तिपूर्वका चे ग्वेभारालाई जस्ताको तस्तै उतार्न निर्देशक वाल्टर स्यालेज सफल रहेका छन् । विभिन्न ल्याटिन अमेरिकी देशहरुमा छाँयाकन गरिएको सो चलचित्रको छाँयाकन र सम्पादन पक्ष समेत शसक्त रहेको छ । चे ग्वेभाराको रुपमा जील गार्सिया बर्नल र अल्बर्टो ग्रानाडोको भुमिकामा रोड्रिगो डे ला सेर्नाको अभिनय समेत प्रशंसनीय छ । अतिरिक्त सामग्रीको रुपमा कमरेड चे ग्वेभाराकी छोरी ‘अलेइडा ग्वेभारा’ तथा हालसम्म जीवित सहयात्री ‘अल्बर्टो ग्रानाडो’संगको अन्तरवार्ता समेत राखिएको छ । निरुद्देशीय हजारौं चलचित्रहरुको भीडमा उपलव्ध यो चलचित्र दर्शनीय मात्रै नभई संग्रहणीय समेत रहेको अनुभूत हुन्छ ।

WATCH THE TRAILER ON YOU-TUBE