देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (पहिलो पृष्ठ)

गजल १
हरेक पल जिऔं जीवन, रमाउँदै मन खोली
रातो, नीलो, हरियोले रंगाउँदै हरेक चोली
आएकाथ्यौं खाली हात, जान्छौं पनि त्यसैगरि
बाँचुञ्जेल नाँचौं गाऔं सबैसंग मीठो बोली
धोका पीडा वियोगहरु शब्दकोष बाटै हटाई
खुसी भइरहौं सधै मिलन र माया घोली
जिन्दगीको हरेक आयाम अनुभव गरौं साथी
ढीला गरी फईदा छैन, के भरोशा छ र भोली
सुन्दर यो संसारलाई झनै सुन्दर तुल्याउन
चढौं साथी आजै डोली, के भरोशा छ र भोली
हरेक पल जिऔं जीवन, रमाउँदै मन खोली
रातो, नीलो, हरियोले रंगाउँदै हरेक चोली

गजल २
मेरो माया तिम्रो निम्ति जिन्दगीको गीत बनोस्
चाहना र साथ मेरो, आशा अनि जीत बनोस्
संधै फूलिरहू तिमी, बसन्तको फूल बनी
हर प्रभात त्यो फूललाई चुमिरहने शीत बनोस्
निशाहरु चिरीरहू, आभाकालिन भानु सरी,
कामना र गाथ मेरो, संधै तिम्रो हीत बनोस्
बिराजमान रहू तिमी, सफलताको चुचुरोमा,
प्रार्थना छ जीवन मेरो संधै तिम्रो मीत बनोस्
प्रीत लगाईरहू संधै, सौभाग्य सुस्वास्थ्यसंग
ईच्छाहरु पुर्ती हुनु, संधै तिम्रो रीत बनोस्
मेरो माया तिम्रो निम्ति जिन्दगीको गीत बनोस्
चाहना र साथ मेरो, आशा अनि जीत बनोस्

गजल ३
कति बर्ष लाग्यौ भन, उनलाई तिम्ले बनाउँदा,
स्वर्गकी ती परिलाइर्, धर्ती झर्न मनाउँदा
चञ्चल अस्थिर कर्के नयन, स्वेतवर्णी सम्पूर्णता,
संसारैभर उनको कोमल रुपको कथा भनाउँदा
कोकिलकन्ठी वाणी उनको, बादलुझैं केशराशी
मेरो मन मुटुभित्र उनकै हाजिर जनाउँदा
सरलता सहजता, मुस्कुराउँदा मोनालिसा
हरेक खुबी युक्त पारि संसारभरमा छनाउँदा
सर्वसुन्दर बर्ण उनको, हिमालसरी दन्त्यलहर
मेरो मनको महलमा उनकै जग खनाउँदा
कति बर्ष लाग्यौ भन, उनलाई तिम्ले बनाउँदा,
स्वर्गकी ती परिलाइर्, धर्ती झर्न मनाउँदा

गजल ४
प्रभातका रक्तिम किरण छाईरहेको बेला थियो
पीर चिन्ता बिर्सिएका मान्छेहरुको मेला थियो
खुसी थिए हरेक जन, पुलकित थिए सबै,
तर एउटा हृदयभित्र चोटैचोटको भेला थियो
मानविय हल्ला खल्ला, सुसेली र गुञ्जन भित्र,
हृदयमा अत्यास लाग्दो मौनताको खेला थियो
ओहोरदोहोर कल्याङ्कुल्युङ्, सबैजना आफ्नै सुरमा,
किन्तु त्यस् हृदय भने एकलासको फेला थियो
खाद्य मद्य नाचगान, चाहिएका सबै थिए,
तर हृदयलाई भने सबले देको हेला थियो?
पीर चिन्ता बिर्सिएका मान्छेहरुको मेला थियो।
प्रभातका क्तिम किरण छाईरहेको बेला थियो

गजल ५
घुर्कीहरु छाड्नुस् हजुर, आउनुहोस् अब खुरुक्क
चोखो प्रेमको भाका हजुर, गाउनुहोस् अब खुरुक्क
धेरै भयो पीडाहरु, तडप अनि जलनहरु,
यो हृदयभित्र हजुर छाउनुहोस् अब खुरुक्क
मुटुभित्र लुकाउछु, हृदयभित्र सजाउँछु
हजुरकै हो माया मेरो पाउनुहोस अब खुरुक्क
सारा जगत विश्वासमा, अडेको छ भन्छन सबै
चोखोप्रेम साट्न हजुर धाउनुहोस् अब खुरुक्क
दुई दिनको चोला हाम्रो, बिति नजाओस् त्यस्सै
हातहरु मेरा हजुर समाउनुहोस् अब खुरुक्क
घुर्कीहरु छाड्नुस् हजुर, आउनुहोस् अब खुरुक्क
चोखो प्रेमको भाका हजुर, गाउनुहोस् अब खुरुक्क

गजल ६
सन्नटालाई भंग गरि केहि कुरा गर्नुहोस् न
चिसो निकै बढिराछ, केहि तातो छर्नुहोस् न
छाडिदिनोस् लज्जाहरु, मारिदिनोस् संकोचहरु
एकलास यो कालो रातमा केहि प्रीत भर्नुहोस् न
क्षणभङ्गुर जिन्दगानी, आज छ त भोली छैन
न्यानो मेरो बाहुपासमा आज हजुर पर्नुहोस् न
हरेक हद र सीमा तोडी, पीर चिन्ता त्यतै छोडी
रात झनै रङ्ग्याउदै सगर आज तर्नुहोस् न
माया गाँस, प्रेम साँच, मौसमले नि भनिराछ
प्रकृतिको भाव बुझी आज तल झनुहोस् न
बसाउँ एक पृथक संसार, मेरो अनि हजुरको
ढीला किन गर्नुहुन्छ, आजै मलाई हर्नुहोस् न

गजल ७
निशा पछि उषा आउछिन्, बित्था आशा किन मार्नु ?
एकाध पटक लडनुपर्दा, जीवनदेखी किन हार्नु ?
आउछन् जान्छन् कहरहरु, चोट अनि पीडाहरु,
आशा किन्तु अजर हुन्छ, नुन तिहुन किन बार्नु ?
कहिलेकाही चल्छ हुरी, झर्छन हाँगाबाट पुष्प,
निभाइ किन्तु जीवन ज्योति, अन्धकार किन पार्नु ?
काँडा अक्सर बिज्ने गर्छन्, अग्रपाइला चालीराख्दा,
यात्रा किन्तु थाती राखी, गन्तब्यलाई किन टार्नु ?
रजनीकाल रुने भानु, आभासंगै मुस्कुराउछन्,
खुसी किन्तु रित्याउन, अश्रुबीज किन सार्नु ?
निशा पछि उषा आउछिन्, बित्था आशा किन मार्नु
एकाध पटक लडनुपर्दा, जीवनदेखी किन हार्नु ?

गजल ८
बरपिपलु चौतारीमा संगै खेल्ने गर्या गट्टा
फेरि आज आयो याद, बच्पनामा गर्या ठट्टा
पालुवाको संगितमा संगै बाख्रा चराउँदा
हात समाई संगसंगै हेरेको त्यो पानी घट्टँ
बालसखा हरुसंगै भाँडाकुँडी खेल्न भनि
घरबाटै झोलाभित्र लुकाएर ल्याको बट्टा
स्कुलमा कक्षाभित्र, गुरुआमा लाई बिर्सी
जिस्किएर हाँसिराख्नु, लेख्नु र पढ्नुको सट्टा
मिलिजुली साथी सबै, बनभोज खान जादा
कुनै अञ्जान चोप लागी तिम्रो केशमा पर्या लट्टा
बरपिपलु चौतारीमा संगै खेल्ने गर्या गट्टा
फेरि आज आयो याद, बच्पनामा गर्याट ठट्टा

गजल ९
परिवर्तन भईछ्यौ तिमी, बिर्सिएछौ सबै गुन
तिम्रै लागि बगाएको आँशु पसिना र खुन
तिम्रै लागि टाढा भएँ, मुटुमाथि ढुङ्गा राखी
दिन रात हरेक घडी, जम्मा गरी राखेँ सुन
बदलिएकी रहिछ्यौ तिमी,भुल्या रैछ्यौ हाम्रो अतित
सोध्न मन लाग्यो तिम्लाई, बिर्स्यौ किन खाको नुन
तिम्रै मधुर याद साँची, भविष्यको आश बोकी
परदेशिया भाको थिएँ, छुन खोज्दै आकाशको जून
भुल्न खोज्दा तिमीलाई, जलन भैराछ मलाई
मात्र यति भनिदेउ, गल्ती मेरो थियो कुन?
परिवर्तन भईछ्यौ तिमी, बिर्सिएछौ सबै गुन
तिम्रै लागि बगाएको आँशु पसिना र खुन

गजल १०
तिमी संग चोखो प्रीत लाउने कोशिश गरें मैले
जीवनभरी तिम्रो साथ पाउने कोशिश गरें मैले
बन्यौ तिमी जिन्दगानी, लक्ष्य अनि स्पन्दन
प्रीतभाव गीत बनाई गाउने कोशिश गरें मैले
मुटुभित्रै बस्यौ तिमी, सशरीर दूर छँदा
आँट गर्दै तिमी सम्म आउने कोशिश गरें मैले
बिते बर्षौं अति शीघ्र, साथमा तिमी मौजूद छँदा
जन्मौंजन्म तिम्रै साथमा छाउनें कोशिश गरें मैले
कठीन थियो यात्रा हाम्रो, बाधाहरु उस्तै थिए
हरेक चोट र पीडाहरु दाउँने कोशिश गरें मैले
तिमी संग चोखो प्रीत लाउने कोशिश गरें मैले
जीवनभरी तिम्रो साथ पाउने कोशिश गरें मैले

गजल ११
जिन्दगीको परिभाषा तीतो एउटा भुल हो सायद
काँडा बिच फुल्नुपर्ने विवश एउटा फुल हो सायद
कर्कलाको पानीसरी अनियन्त्रित र ढुल्मुले
संधै सपना देखिराख्ने मूर्खको एक हुल हो सायद
तारालाई टिप्न खोज्ने, चाँदलाई छुन खोज्ने
कोरा दिवास्वप्न दर्शी धर्तीको एक हूल हो सायद
कहिले घाम कहिले पानी, कहिले सुख अनि दुःख
मिलन अनि वियोगको संगम एक मुल हो सायद
अर्कालाई साथ दिइ गन्तब्यमा पुर्याहइरहदाँ
आफै स्याहार नपाएर भत्क्या एउटा पुल हो सायद
जिन्दगीको परिभाषा तीतो एउटा भुल हो सायद
काँडा बिच फुल्नुपर्ने विवश एउटा फुल हो सायद

गजल १२
यत्ति निष्ठुर भयौ तिमी, साथ हाम्रो टुटाई छाड्यौ
मनमुटु सार्हो पार्यौ , नाता हाम्रो टुटाई छाड्यौ
कोमल भन्थें नारीको कन, भावुक र शंवेदनशील
दिलभित्र पत्थर राख्यौ, प्रीत मेरो फुटाई छाड्यौ
असरल्ल पार्यौख मलाई, पीडित र छरप्रष्ट
गन्तब्य र लक्षय मेरो निमेषभरमै लुटाई छाड्यौ
एउटा सुन्दर संसार थियो, तिमी थियौ र म थिएँ
टाढा भई किन्तु मलाई नशासंग जुटाई छाड्यौ
प्रसन्न थें आफैसंग, आफ्नै एकल यात्रासंग
नियतिका प्रहारवाट अञ्जानलाई कुटाँई छाड्यौ
यत्ति निष्ठुर भयौ तिमी, साथ हाम्रो टुटाई छाड्यौ
मनमुटु सार्हो् पार्यौ, नाता हाम्रो टुटाई छाड्यौ

(द्रष्टव्य : यस पृष्ठमा समावेस गरिएका कतिपय निस्सारता पक्षधर र विचारहीन प्रेमविषयक तथा नैराश्यतावादी गजलहरु २०६१ / ६२ को किशोर कालखण्डमा अल्पाध्ययनको साँघुरो घेराभित्रबाट लेखिएका रचनाहरु भएकाले लेखक (देव अञ्जान)का वास्तविक प्रतिनिधी सिर्जनाहरु नभएको र कतिपय रेडियोकर्मी साथी तथा पाठकहरुको मागबमोजिम प्रकासन गरिएको अनुरोध छ ।)