गरीवी र वाल मनोविज्ञानको संयोजन : द चिल्ड्रेन अफ हेभन

पुजीवादी अर्थ व्यवस्थामा पैसा विहिन गरीव हुनुको तीता भोगाइहरु समेटेर वाल सुलभ मानोविज्ञान पस्कँदै तयार पारिएको इरानी चलचित्र हो – ‘द चिल्ड्रेन अफ हेभन’ (इरानी भाषमा : बचेहा–ए असेमान) । विश्वविख्यात यथार्थवादी इरानी निर्देशक मजिद मजिदीको लेखन र निर्देशनमा बनेको ८९ मिनेट लामो यस चलचित्रले दैनन्दिन जीवनका बिषयवस्तुहरु पक्रँदै भ्रातृत्व, मानवता र सामाजिक आर्थिक परिवर्तनको उद्घोष गरेको छ । विशेषतः इरानी ग्रामिण समाजको गरीवी र जनजीविकाका समस्याहरु एउटा प्रतिनिधि परिवारको दाजु वहिनीका पात्रत्व मार्फत चित्रण गर्ने अभीष्ट स्वरुप उभ्याइएका छन् प्राथमिक विद्यालय जाने उमेरका दाजु अलि (अमिर फारोख हासेमियन) र वहिनी जाह्रा (बाहोर सेद्दिकी) ।

चलचित्रको कथावस्तु अनुसार वहिनी जाह्राको जुत्ता मर्मत गराइ फर्कने क्रममा तरकारी समेत किन्न पसल छिर्दा फोहोर उठाउने व्यक्तिले फोहोर ठानी जुत्ताको पोको लैजान्छ । त्यसपछि ती कलिला दाजुवहिनी अलिकै जुत्ता लगाई पालैपालो स्कूल जान आउन थाल्दछन् किनकि उनीहरुलाई आफ्ना बुवासंग नयाँ जुत्ता किन्ने पैसा नभएको जानकारी छ । जाह्रा विहान जुत्ता लगाई स्कुल जान्छिन र छुट्टीपछि हतारहतार दौडदै फर्केर अलिलाई जुत्ता दिई दाइलाई स्कुल पठाउँछिन् । तर जति दौडेपनि अलि समयमै स्कुल पुग्न नसकी विलम्वको सजायका भागिदार वन्नुपर्छ ।

एकदिन जाह्राले आफ्नो (हराएको) जुत्ता आफ्नै एक स्कुले साथीले पहिरिएको देख्छिन तर उनको वुवा अन्धो भएको र उनीहरुको गरीवी देखेपनि जुत्ता फिर्ता माग्दिनन् वरु उनको साथी बन्छिन् । यस्तैमा एकपटक विद्यार्थीहरुमाझ दौड प्रतियोगिता आयोजना गरिन्छ जसको तेश्रो पुरस्कार एकजोर जुत्ता रहेकोले अलि दौडमा सहभागी हुन्छन् । तेश्रो हुने अभीष्टका साथ दौडिएका उनी (दुर्भाग्यवश) प्रथम हुन्छन् । अरुले बधाई दिएपनि उनी भने खिन्न र दुखित हुन्छन् किनकि उनको चाह कुनै मेडल नभई जुत्ता हो । जेहोस, अन्त्यमा दुवैका लागि बुवाले जुत्ता किनिल्याएको र अलिको सफलताको प्रतिकात्मक दृश्य संगै चलचित्र सकिन्छ ।सन् १९९८ को ओस्कर पुरस्कारका लागि सर्वश्रेष्ठ विदेशी भाषाको चलचित्रका रुपमा मनोनित ‘द चिल्ड्रेन अफ हेभन’ मानवीय संवेदना तरङ्गित गरिदिन सक्ने यथार्थवादी प्रगतिवादी चलचित्र हो । दुई छाक खान नपुग्ने सर्वहाराहरुका निम्ति मान सम्मानका पोकाहरु भन्दा गाँस, वास र कपासको ज्यादा खाँचो हुन्छ भन्ने शन्देस जाहेर गरेको यस चलचित्रमा मजिदीले कलिला बालबालिकाबाट लिएको विश्वस्तरीय अभिनय हेर्न पाइन्छ । अर्थहीन र कोरा मनोरञ्जनका निम्ति वनाइएका हजारौं चलचित्रहरुभन्दा फरक र पृथक रहेको यस चलचित्र पनि हेर्नैपर्ने एक श्रव्यदृश्य मान्न सकिन्छ ।

WATCH THE TRAILER ON YOU-TUBE