एक दर्शनीय युद्ध चलचित्र : एनिमी एट् द गेट्स

केहि व्यक्तिहरु नायक बन्नैका लागि जन्मेका हुन्छन् भन्दै दोश्रो विश्वयुद्धको ऐतिहासिक तथ्यहरुका जगमा आधारित भई बनाइएको एक दर्शनीय युद्ध चलचित्र हो, ‘एनिमी एट् द गेट्स’ । विश्वविख्यात फ्रान्सेली चलचित्रकर्मी जीन ज्याक्स एन्नाउडद्वारा निर्देशित यस चलचित्रले द्वितीय महासमरको दौरान जर्मन आक्रमणमा ध्वस्तप्रायः पश्चिमी रुसको भोल्गा नदी छेउमा रहेको स्टालिनग्राद शहरमा भएको युद्धको कथा बोकेको छ । यसले आरम्भमा हतोत्साहित सोभियत लाल सेनाले पछि आर्जन गरेको उत्साह अनि उर्जाका कारण युरोपको सर्वशक्तिसम्पन्न जर्मन सेनाले घुँडा टेक्नु परेको विषयबस्तु उजागर गरेको छ ।

चलचित्रको कथा अनुसार स्टालिनग्रादको पराजयले देशकै पराजय निम्त्याउन सक्ने सोभियत नेता स्टालिनको बुझाइका कारण सोभियत संघ आफ्नो सम्पूर्ण शक्ति लगाई स्टालिनग्राद बचाउन चाहन्छ, किन्तु कमसल र न्युन हातहतियारको कारण रुसी लालसेनाले राम्ररी युद्ध लड्न सकिरहेको छैन । उनीहरु शत्रुपक्षसंग विद्यमान सामरिक शक्तिका कारण हतोत्साही छन् । परिस्थिती झनभन्दा झन बिग्रन थालेपछि निकिता ख्रुश्चेभ (बब हस्कीन)को प्रत्यक्ष नेतृत्वमा लालसेनाका एक राजनैतिक कमिसार ड्यानिलोभ (जोसेफ फेन्नेस)को सुझाव वमोजिम रुसी सेना र जनतामा आशाको सञ्चार गर्ने काम हुन्छ ।

त्यस्तै, लालसेनाका स्वयंसेवक भई काम गरिआएका भ्यासिली जेइत्सेभ (जुङ् ल)लाई निशानावाजको जिम्मेवारी दिइ खटाइएपछि उनको कार्यकौशलताका कारण थुप्रै जर्मन सेना र अधिकारीहरुको अन्त्य हुन थाल्छ । भ्यासिली, मस्को रेडियो देखि रुसी पत्रपत्रिकाहरुमा छाउँछन् । उनको प्रतिकार गर्न जर्मन सेनाले आफ्ना वरिष्ठ स्नाइपर (निशानावाज) मेजर कोइङ् (एड् ह्यारिस)लाई स्टालिनग्रादमा खटाउँछ । प्रकारान्तरमा दुई देशविचको युद्ध ती दुई निशानावाजको भीडन्तमा परिणत हुन्छ । अर्कोतर्फ भ्यासिली र ड्यानीलोभ दुवैले एउटै महिला लालसैनिक तान्या (राचेल विश्ज)संग प्रेम गर्दछन्, जसको परिणाम अचम्मलाग्दो गरी कोइङ्को अन्त्यसंग जोडिन्छ र युद्धमा सोभियत लालसेनाको विजय हुन्छ ।

युद्धका विषयवस्तु, तिगडम र कुटनीति समेटेर वनेको १३१ मिनेट लामो यस चलचित्रले कतिपय काल्पनिक घटनाहरु जोड्दै स्टालिनग्रादको युद्ध र सोभियत जनताको उच्च वलिदानी प्रस्तुत गरेको छ । भ्यासिली जेइत्सेभको नायकत्व बोकी सन् २००१ मा सार्वजनिक प्रदर्शनमा आएलगत्तै विवादित वनेको यस चलचित्रलाई विश्वभरका फरकधारका फिल्मप्रेमीहरुले मन पराएका छन् । स्वराङ्कन देखि छायाँकन अनि सम्पादन पक्ष समेत राम्रो रहेको यस चलचित्र तपाईंको फुर्सद कटाउने एक असल साथी बन्न सक्छ ।