साम्राज्यवाद विरोधी वृत्तचित्र : द वार अन डेमोक्रेसी

प्रथम विश्वको नेतृत्व गर्दै संसारभर प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गराउने निहुँमा अमेरिकी सरकारले थोपरेको युद्ध र प्रताडनाको यथार्थ कथा हो वृत्तचित्र ‘द वार अन डेमोक्रेसी’ । सम्मानित ‘बाफ्टा (ब्रिटिस एकेडमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्) पुरस्कार’ विजेता अस्ट्रेलियन मुलका बेलायती पत्रकार जोह्न पिल्गरद्वारा मध्य तथा ल्याटिन अमेरिकी मुलुकहरुको भ्रमण पश्चात प्रस्तुत गरिएको यस वृत्तचित्रले अमेरिकाको वास्तविक प्रजातन्त्रको पर्दाफास गरेको छ । कथित राष्ट्रिय सुरक्षाको वहानामा सार्वभौम मुलुकहरुमाथि लादिएको अनैतिक युद्ध तथा हस्तक्षेपकारी राजनितीको लामो फेहरिस्ता तयार पार्दै पिल्गर भन्दछन्, ‘प्रजातन्त्रको नाउँमा अप्रजातान्त्रिक युद्ध किन ?’
वृत्तचित्रको कथ्य सिलसिला भेनेज्वेलाबाट आरम्भ हुन्छ जहाँ पिल्गर राजधानी काराकास लगायतका विभिन्न क्षेत्रमा पुगी परिवर्तित भेनेज्वेलाको अवलोकन गर्दछन् । वर्तमान राष्ट्रपति ह्युगो चाभेज निर्वाचित हुनुपूर्वका सरकारहरुको पालामा आफूलाई उपेक्षित महसुस गरेका विपन्न तथा निम्न मध्यम वर्गका मानिसहरुको जीवनमा चाभेज निर्वाचित भएपश्चात आएका अनेकौं सकारात्मक परिवर्तनहरुको अनुभूति संकलन गरी उनी चाभेजलाई भेट्न पुग्दछन् । राष्ट्रपतित्वकालीन आरम्भीक दिनहरुमै अमेरिकी गुप्तचर निकायको प्रत्यक्ष नेतृत्व र पुँजिवादी मिडियाको सहयोगमा अपहरण गरी अपदस्त समेत गरिएकोमा लाखौं भेनेज्वेलनहरुको प्रदर्शनका कारण पुनर्वहाली भएका चाभेजको विचारोत्तेजक अन्तरवार्ता यस वृत्तचित्रको विशेष पक्ष हो ।
ल्याटिन अमेरिकी देशहरुमाथि साम्राज्यवादी वर्वरता अवलोकन गर्न पिल्गर भेनेज्वेलाबाट चिली पुग्दछन् जहाँ अमेरिकी योजना र सहयोगमा सैनिक तानाशाह अगस्टो पिनोसेले शासन हत्याएका थिए । अमेरिकामा तालिम लिएका प्रशासकहरुले पिनोसेको शासनकालमा मच्चाएको निर्मम दमन, हत्या र यातनाको संस्मरण सुन्दा उनलाई अमेरिकी शासकहरु खुनी लाग्दछ र प्रश्न गर्छन्, ‘प्रजातन्त्रको बाटो यस्तै हुन्छ ?’
अमेरिकी ताण्डव अवलोकन गर्ने क्रममा पिल्गर एल साल्भाडोर देखि निकारागुआ अनि ग्वाटेमालादेखि बोलिभियासम्म पुग्दछन् । जहाँ पुगेपनि एउटै दृश्य अनि हरेकमा अमेरिका विरोधी एउटै भाव पाएका पिल्गरलाई सबैले भोग्नुपरेको साम्राज्यवादी पीडा उस्तै लाग्छ । निशस्त्र साल्भाडोरियन किसानहरुको कत्लेआम तथा ग्वाटेमालाका हज्जारौं गाउँलेहरुको हत्या मात्रै होइन, मध्य अमेरिकी सानो कमजोर मुलुक निकारागुआमाथि प्रत्यक्ष सैनिक हमला जस्ता अपराधमा उच्च अमेरिकी अधिकारी र नेताहरुलाई दोषी पाउँछन् उनी । त्यहाँ अमेरिकी स्वार्थ अनुसार चल्न नचाहने जननिर्वाचित सरकार प्रमुखलाई सत्ताच्युत गरेर कपडा खोल्न लगाई बेइज्जत गर्न समेत पछि नपरेका अमेरिकी अधिकारीहरुकै योजना र नेतृत्वमा बोलिभियाका आदिवासीहरुमाथि चरम शोषण तथा उत्पीडन मच्चाइएको उनलाई ज्ञात हुन्छ । अनि एक स्वतन्त्र पत्रकारको हृदयमा विद्रोह जन्मन्छ,’साम्राज्यवादी हस्तक्षेपको अन्त्य गर ।’

करीब ९४ मिनेट लामो यस वृत्तचित्रले कथित प्रजातान्त्रिक युद्धका पीडितहरुको मात्रै होइन, उच्च अमेरिकी अधिकारी तथा युद्धकालीन सि.आई.ए. र सरकार प्रमुखहरुको अन्तरवार्ता र भनाई समेटेको छ जहाँ उनीहरु या त अनुत्तरित छन् या सफेद झूठ बोल्न बाध्य । वृत्तचित्रले साम्राज्यवादी युद्ध तथा हस्तक्षेपका दुर्लभ श्रव्यदृश्य अनि सि.आई.ए.का अति गोप्य प्रतिवेदनहरु समेत सार्वजनिक गरेको छ । नेपाली बजारका समेत उपलब्ध ‘द वार अन डेमोक्रेसी’ हरेक देशभक्त तथा साम्राज्यवाद विस्तारवाद विरोधी नेपालीले हेर्नैपर्ने एक महत्वपूर्ण सामग्री हो ।

– जनादेस साप्ताहिक, बर्ष १९ अंक ११ पृष्ठ ८ (२०६६ माघ १२ गते मंगलबार )मा पहिलो प्रकासन

WATCH THE TRAILER ON YOU-TUBE