एक पृथक र उद्देश्यपूर्ण कोरियाली चलचित्र : 'मे एटिन'

तपाईं कोरियाली भाषाका चलचित्रहरुको पारखी हुनुहुन्छ र कोरियाली स्वादको प्रगतिशील चलचित्रको खोजीमा हुनुहुन्छ भने निशन्देह तपाईंको खोजी हो, ‘मे एटिन’ । उत्तर–दक्षीण विभाजन पश्चात उत्तरी कम्युनिस्ट कोरियालाई छाँयामा पार्न अमेरिका र प्रथम विश्वका मुलुकहरुको लगानीमा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुद्वारा निर्मित दक्षिण कोरियाको सक्कली प्रजातन्त्र उजागर गरिएको यस चलचित्रले सन् १९८० मा उर्लेको विद्यार्थी आन्दोलन अनि सशस्त्र नागरिक विद्रोह तथा त्यसलाई दमन गर्न लागु गरिएको मार्शल लको कथा बोकेको छ ।

चलचित्रको कथा अनुसार एक ट्याक्सी ड्राइभरको रुपमा मीन ऊ (किम स्याङ क्युङ) आफ्नो एकमात्र जीवित परिवार सदस्य तथा सहोदर भाइ जीन ऊ (ली जून की)को साथमा ग्वाञ्ज्यू शहरमा साधारण जीवनयापन गर्दछन् । आम कोरियालीहरुझैं उनको एक सपना छ, एक सानो घर परिवार अनि सुख शान्तिको। उनी एक स्वास्थ्य परिचारिका सिन ए (ली वो वन) संग प्रेम, अनि भाइ जीन ऊलाई अत्यन्त माया गर्दछन् । तर सामान्य जीवनको त्यो परिवेशमा एकाएक भयानक उथल पुथल आउँछ, जतिखेर तात्कालीन चुन डु ह्वानको सैनिक सरकारको विरुद्ध विद्यार्थीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गर्छन् अनि सैनिकहरु धरपकड र दमनमा उत्रन्छन् ।

 विस्तारै सैनिक दमन बढ्दै जान्छ र आन्दोलनरत विद्यार्थीहरुमाथि अन्धाधुन्ध गोली बर्षाइन्छ जसको कारण जीन ऊले ज्यान गुमाउन पुग्छन् । आफ्नै देशका निहत्था नागरिकहरुमाथि गोली बर्षाउने सरकारी कदमको विरोध गर्दै एक भूतपूर्व सैन्य क्याप्टेन हेयोङ् सु (आह्न सुङ की)ले नागरिक सेना गठन गर्दछन् जसमा प्रतिशोधको भावले मीन ऊ पनि सामेल हुन्छन् । उनीहरु निर्भिकतापूर्वक लड्दछन् र ग्वाञ्ज्यूबाट सरकारी सेनालाई धपाउँछन् तर साम्राज्यवादी अमेरिकाको सहयोग प्राप्त सरकारी सेनाले एकदिन मध्यरातमा ग्वाञ्ज्यूमा आक्रमण गरी रक्तपात मच्चाउँछ, जसमा मीन ऊ लगायत हेयोङ् सुको सहादत हुन्छ ।

 मुलधारका कोरियन चलचित्रहरु भन्दा फरक र पृथक यस चलचित्रले शैन्यबलको आडमा मच्चाइएको दमन, उत्पीडन र यातना तथा राज्य आतंक विरुद्ध धावा बोलेको छ । १२० मिनेट लामो सत्य घटनामा आधारित यस चलचित्र मार्फत निर्देशक किम जी हुनले ग्वाञ्ज्यू घटनाका मृतकहरुको सम्झना गर्दै निहत्था आन्दोलनकारीहरुमाथि गोली बर्षाउने सैनिक र सरकारी अधिकारीहरु विरुद्ध कानुनी कारवाहीको आवाज उठाएका छन् । समग्रमा राम्रो प्राविधिक स्तरमा निर्मित यस पृथक र दुर्लभ उद्देश्यपूर्ण प्रगतिशील कोरियाली चलचित्र तपाईंले नहेर्ने ?

WATCH THE TRAILER ON YOU-TUBE