'चे' : एक क्रान्तिकारी पूर्ण मानवको जीवनगाथा

विश्वभर र विशेषत ल्याटिन अमेरिकी देशहरुमा थोपरिएको सामाजिक, आर्थिक, राजनैतिक तथा साँस्कृतिक दासत्व, शोषण, उत्पीडन र असमानताको समूल अन्त्यका खातिर शसस्त्र विपुलको नेतृत्व गरेका क्रान्ति नायक अर्नेष्टो ‘चे’ ग्वेभाराको जीवनीमा आधारित चलचित्र हो – ‘चे – अर्जेन्टाइन’ (पहिलो भाग) र चे – गुरिल्ला (दोश्रो भाग) ।

ओस्कर पुरस्कार विजेता अमेरिकी निर्देशक स्टेभेन सोडरवर्गद्वारा निर्देसित यस चलचित्रमा चे ग्वेभाराको भुमिका निर्वाह गरेका छन्, प्युरिको रिटो नामक मध्य अमेरिकी मुलुकका अभिनेता ‘बेनिचियो डोल टोरो’ले । सन् २००८ मा सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्र करीब २५६ मिनेट लामो भएकाले दुई भागमा बाडिएको छ जसमध्ये पहिलो भाग (चे : अर्जेन्टाइन)ले चेको सैन्य नेतृत्वमा क्युवाली क्रान्ति सफल भएको र दोश्रो भाग (चे : गुरिल्ला)ले चेको शैन्य नेतृत्वमा बोलिभियामा शसस्त्र बिद्रोहको थालनी भई उनको सहादत भएको घटनाक्रम प्रस्तुत गर्दछ । क्युबाली क्रान्तिको सफलता पश्चात राष्ट्रप्रमुख फिडेल क्यास्ट्रोको बिशेष दूतका रुपमा चेले राष्ट्रसंघ लगायतका बिभिन्न मुलुकहरुका दिएको मन्तब्य र अन्तरवार्ताका श्रब्यदृश्य समेटेर तयार पारिएको यस चलचित्रले चेको जीवनका प्रमुख घटनाहरु र प्रवृत्तिको उजागर गरेको देखिन्छ ।

बिभिन्न मध्य तथा दक्षिण–अमेरिकी देशहरु घुम्दै हिँडेका अर्नेष्टो चे ग्वेभाराले मेक्सिको स्थित मारिया एन्टोनियोको घरमा फिडेल क्यास्ट्रोलाई भेट्न पुग्दछन् जहाँ क्यास्ट्रोले क्युवाली जनताहरुको दयनीय स्थिति र अमेरिकी सहयोगमा भ्रष्ट तानाशाह फुल्जेन्सियो बाटिस्टाले मच्चाएको दमन र अत्याचारबारे उनलाई अवगत गराउँदछन् । लगत्तै करीब ८० जनाको टोली ग्रान्मा नामको सानो पानीजहाज मार्फत क्युबा पुगी बाटिस्टा बिरुद्ध छापामार बिद्रोह सुरु गर्दछ । सामन्ती भू–स्वामित्वका कारण चरम शोषणमा परेका क्युबाली कृषकहरुले बिस्तारै बिद्रोहमा साथ सहयोग बढाउँदै जान्छन् भने शिक्षित तथा अशिक्षित दुबैखाले युवाहरु स्वतः–स्फूर्त रुपमा बिद्रोही सेनामा सामेल हुन आइरहन्छन् । फलतः शसस्त्र बिद्रोहको आकार बढ्दै जान्छ र सरकारी सेना क्रमशः पराजित हुँदै जान्छ । अन्त्यमा तानाशाह बाटिस्टा सत्ता छाड्दै अमेरिका पलायन भएपछि क्युवाली क्रान्ति सम्पन्न हुन्छ र चलचित्रको पहिलो भाग पनि ।

चलचित्रको दोश्रो खण्डको कथा अनुसार क्युबाली मन्त्रीपदबाट राजिनामा दिई ‘चे’ मेक्सिकोबासी आफ्नी श्रीमतीलाई भेट्दै छद्म भेषमा बोलिभिया पुग्दछन्। त्यहाँ बोलिभियन कम्युनिस्ट पार्टीका महासचिवसंग बैचारिक मतभेद राख्दै छापामार युद्ध आरम्भ गर्दछन् । बिभिन्न उतार चढावका बिच बिकास हुँदै गरेको बोलिभियाको शसस्त्र युद्ध दमन गर्न सि.आई.ए. समेतको संलग्नतामा परिचालित बोलिभियन सुरक्षाकर्मीको घेराबन्दीमा परेपछि दोहोरो भीडन्तको दौरान घाइते हुन पुगेका चेलाई पक्राउ गरिन्छ र त्यसको केहि समयपश्चात अन्तराष्ट्रिय मान्यताको खिल्ली उडाउँदै हत्या गरिन्छ ।

समानता र स्वतन्त्रताका निम्ति विश्वक्रान्तिको मसाल बाल्ने महान क्रान्तिकारी योद्धा ‘चे’को सम्पूर्ण जीवनगाथा सवा चार घण्टाको एक चलचित्रमा समेट्न सकिदैनथ्यो नै । चेको जीवनका थुप्रै पाटोहरुमाथि न्याय गर्न नसकेको भएपनि चलचित्र चेले उत्कृष्ट प्रबिधिको बलमा क्रान्तिनायक चेलाई उनका करोडौं प्रशंसकहरुमाझ उभ्याएको छ । नेपाली वजारका सहजै उपलब्ध यस क्रान्तिकारी चलचित्र तपाईंले हेर्नुभयो के ?

– जनादेस साप्ताहिक, बर्ष १९ अंक १३ पृष्ठ ८ (२०६६ माघ २६ गते मंगलबार) मा पहिलो प्रकासन

WATCH THE TRAILER ON YOU-TUBE