उज्यालो छर्ने गुरुहरुको अँध्यारो जीवन अनि भविष्य

शिक्षकहरु मैनबत्ती हुन जो अरुको अँध्यारो हटाउने प्रयासमा आफै सकिन्छन, रित्तिन्छन । स्वप्न देखि बिपनीका पलपलमा आफ्ना शिष्य र बिद्यार्थीहरुको हीत, ज्ञान अनि उत्थानका तानाबाना बुनिरहने शिक्षक शिक्षिकाहरु आफ्नो ब्यक्तिगत जीवन बिरलै बाँच्दछन । बिद्यार्थीको समुज्जवल भविष्य निर्माण यात्रामा आफ्नो भबिष्य यात्रा बिर्सने शिक्षक शिक्षिकाहरुलाई समाजले आदर गर्छ, सम्मान गर्छ अनि पुजा पनि गर्दछ । तर दुर्भाग्य, आदर, सम्मान र पुजाले पेट भरिदो रहेनछ, जीवन ब्यतित हुदैन ।

यो लेखको आशय नेपाली भूगोलमा शिक्षाकर्मी भई शैक्षिक बिकासमा योगदान पुर्याकईरहेका लाखौं शिक्षक शिक्षिकाका समान प्रकृतिका समस्याहरु खोतल्नु हो । शिक्षाको प्रदीप्तीबिना कुनै पनि प्रकारका उन्नतिकरण र बिकास हुन नसक्ने पृष्ठभूमिका पात्र शिक्षक शिक्षिकाहरु आफ्नो हातमुख जोड्न अनि परिवार पाल्न नसक्ने अवस्थामा रहिरहँदा पनि राज्य तथा शैक्षिक ठेकदारहरुलाई कुनै मतलब देखिंदैन । ढुँङ्गा मुढा र तोडफोड बेगर कुनै आवाज नसुन्ने मूर्ख नेपाल सरकारलाई शिक्षक शिक्षिकाहरुको शान्तिपूर्ण आन्दोलनले ध्यानाकृष्ट गराउन सकेन । अनि बिद्यार्थीको भविष्य बिग्रने हवाला दिंदै शैक्षिक ठेकदारसंग साँठगाँठ राख्ने केहि अभिभावक नेतृत्वहरु आफ्ना सन्तानको जीवन बनाईदिने शिक्षक शिक्षिकाहरुको अन्धकार भबिष्य र अस्तब्यस्त दैनिकीप्रति नजरअन्दाज गर्छन् । आखिर किन भैरहेछ यस्तो ?

बिशेषतः निजी तथा संस्थागत बिद्यालयमा काम गर्ने शिक्षक शिक्षिकाहरुको अवस्था अरुको भन्दा झनै समस्यापूर्ण रहेको छ । बाहिर ठाँटिएर प्रस्तुत भइदिनुपर्ने शिक्षक शिक्षिकाहरु भित्रभित्रै भने चरम शोशित अनि उत्पीडित हुन्छन् । ब्यापारिक स्वार्थमा सञ्चालित बोर्डिङ् स्कुलहरुले बिद्यार्थीसंग बिभिन्न शीर्षकमा प्रसस्त चर्को शुल्क उठाउने गरेपनि वास्तबिक श्रम गर्ने शिक्षक कर्मचारीहरुले भने अत्यन्तै न्यून पारिश्रमिक लिएर काम गर्नु परिरहेको हुन्छ । उक्त तलब पनि समयमा नपाएर भौतारिनु पर्ने अनि घरभाडा देखि खाद्यान्न लत्ताकपडामा सामयिक ब्यय गर्न नसक्ने समस्या आइलाग्छ । फेरिपनि बिद्यार्थीको भविष्य प्रतिको चिन्ता र शिक्षक हुनुको दायित्व बोधले थिचिएर उनीहरु आफ्नो पेशाप्रति इमान्दारितापूर्वक दत्तचित्त भइरहन्छन् ।

नाफा आर्जन गर्ने एकमात्र भित्रि उद्देश्य भएपनि बाहिर बिभिन्न आकर्षक आवरणमा प्रस्तुत हुने निजी बिद्यालयको आर्थिक कारोबार अपारदर्शी हुनु, अभिभावकबाट अतिरिक्त र अनावश्यक शीर्षकमा समेत पैसा असुल्नु, दिइनुपर्ने सेवा सुबिधाहरु (जस्तैः सुलभ बस सेवा, ब्यवस्थित कम्प्युटर प्रायोगिक कक्षा, खेलकूद सामग्रीहरु, पुस्तकालय र पत्रपत्रिका आदि) को राम्रो ब्यवस्था नहुनु, निर्णय प्रकृया तानाशाही हुनु, बिभिन्न बहानामा बिद्यार्थीहरुलाई सजाय, पैसा र अनावश्यक नियमहरुको भारी बोकाउनु इत्यादि पनि यस क्षेत्रका समस्याहरु हुन् । शिक्षक शिक्षिकाहरुलाई अत्यावश्यक पर्दा बिदाको सट्टा अवकाश दिइनु, शिक्षक आन्दोलनको उपलब्धी स्वरुप तोकिएको पारिश्रमिक नपाइनु, दशैं पेश्की बापत पाउनुपर्ने पूर्ण रकम नदिइनु र अन्य कयौं प्रताडना भोग्नु पनि निजी तथा संस्थागत बिद्यालयका कर्मचारीहरुको नियति बनेको देखिन्छ ।

शिक्षक शिक्षिकाहरुले आफ्नो समस्यामाथि सुनुवाई हुनुपर्ने माग राखी गरेको आन्दोलनको नेतृत्वले आफ्नो अडान लिन नसकेपछि बिद्यालय सञ्चालकहरुको मनोमानी बढेको देखिन्छ । शिक्षालाई संबैद्यानिक मौलिक हकको रुपमा अभिलिखित गरिएको र हुन गइरहेको अवस्थामा शिक्षक शिक्षिकाहरुको बर्तमान अवस्थाबारे पनि केहि बिचार बिमर्श गर्दै परिवर्तनका कदमहरु चाल्न सुरुवात गर्ने हो कि ?

– पवन प्रकृति स्कुल ललितपुरको २०६७ सालको बार्षिक प्रकाशन ‘पवन प्रकृति’मा पहिलो प्रकाशन