ध्रुबे हात्तीकाण्ड, जीवनरक्षाको प्रश्न र माडी आन्दोलन

मानव हत्या तथा धनजनको क्षती गर्दै निस्फिक्री (वा भनौं सैनिक सुरक्षा सहित) यत्रतत्र हिँडिरहेको मगज भ्रष्ट मत्ता ध्रुबेलाई मार्नु हुँदैन भनी आजकल केहि मिडिया तथा सामाजिक सञ्जाल र ब्लगका पृष्ठहरुमा केहि स्वघोषित संरक्षणवादीहरुले बोलिरहेको वा लेखिरहेको देखिन्छ । कथित ‘पवनकली प्रेम प्रसंग’ र हात्ती प्रजननमा ध्रुबेको योगदानजस्ता मुल्यहीन तर्क अघि सार्दै उसलाई कमजोर बनाई राखिनुपर्ने र मार्न नहुने जनधारण बनाउने एकसुत्रिय एजेण्डामा लागिपरेका केहि डरलप्रेमी तथा तारेहोटलका भोजन औं भत्ताप्रेमी संरक्षणबादीहरुको प्रपोगाण्डामा माडीबासीहरुले विश्वास गरेका छैनन् ।

ध्रुबेलाई कमजोर पारेर राख्नेनै हो भनेपनि त्यस्तो ‘निम्छरो’ हात्तीबाट ढोइ प्रजननको के अपेक्षा हुनसक्छ ? शरीरमा दर्जनौं गोली लागेको भनिएको ध्रुबेले अझैपनि आफ्नो हिंश्रक व्यबहार घटाएको छैन । बरु एउटा ध्रुबेका कारण थुप्रै हात्तीहरु घाइते भएका छन् र केहि मारिएका छन् । ध्रुबेको वितण्डा जारी भैरहँदा प्रश्न उठ्छ, के यस्तो भयानक जनावरलाई संरक्षण गर्न तम्सिएकाहरुले यसको थप क्षतीको जिम्मेवारी बहन गर्न सक्छन ?

माडीका जनताहरुलाई अराजक र संरक्षणबिरोधीका रुपमा चिनाउने हरसम्भव प्रयत्न गरिरहेका कतिपय पत्रकार र संरक्षणबादीहरुले बुझ्नुपर्ने एउटा तक्ष्य के हो भने तथा चितवन राष्ट्रिय निकुञ्ज मात्रै होइन, पर्सा बन्यजन्तु आरक्ष तथा शोमेश्वर जंगल श्रृङ्खलालाई हराभरा बनाउन, त्यहाँका बन्यजन्तुको संरक्षण र चोरी शिकार नियन्त्रण गर्न तथा संरक्षणबारे राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा उदाहरण र सन्देश पेश गर्न माडीबासीले खेलेको भुमिका निकुञ्ज वरिपरिका अन्य क्षेत्रहरुको भन्दा कयौंगुणा अधिक छ ।

त्यसर्थ नियतवश होस या अञ्जानवश, आफूलाई संरक्षणबादी भनाउने परम बिज्ञहरुलाई पहिले माडीको जंगल नजिक रहेका बस्तीमा घर बनाई बस्न आग्रह छ । जब ध्रबेले (उहाँहरु मध्येकै कसैको) घर भत्काउन थाल्छ, खाद्यान्न नष्ट गर्न सुरु गर्छ अनि मान्छेको शरीरलाई आफ्नो साँङ्ले सुँडले बेरी थेचारेर घाइते बनाई अजंगको खुट्टा बजार्न आरम्भ गर्छ, बल्ल माडीको कथित अराजक आन्दोलनको स्वभाविक स्वरुप (उहाँहरुको तेश्रो आँखाले) देख्नेछ । अचानोको चोट खुकुरीलाई थाहा नहुने नेपाली उखान त्यसै चलेको होइन ।

माडी आन्दोलनकै एक हिस्साका रुपमा माडीवासीले उठाइरहेको सडक विस्तारको मागबारे हाम्रा संरक्षणविदहरुले केकति बोल्नुभयो, समीक्षा हुन आवश्यक छ । माडीबासीले रगत पसिना बगाइ उव्जनी गरेका बालीनाली खाएर माडीमा गोबर बर्षाउने गैंडाले सौराहा र टाइगर टप्समा भने डलर बर्षाउँछ, फेरिपनि माडीवासीहरु सहेर बसेका छन । थारु संस्कृतिको पाटो होस् या पर्यटकिय सुन्दरताको पक्ष, माडी अब्बल भ्रमण गन्तव्य हो किन्तु विदेशी पर्यटकहरु माडीमा रहन चाहँदैनन् किनकि त्यहाँ रहँदा चितवन राष्ट्रिय निकुञ्ज भित्रै बसेको दरले शुल्क (कर) असुलिन्छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरी पुगिने माडीको कतिपय भागहरुलाई मानव बसोबास क्षेत्रको मान्यता नदिई हात्ती लगाइ भत्काउने, आगजनी गर्ने र विभिन्न सेवासुविधाबाट बिमुख राख्ने सरकारी रवैयाको खिलाफ पनि शान्त तथा सहनशील माडीबासीहरु चुपचाप रहेकै हुन । माडीको विपन्नता र शैक्षिक दुरावस्था तथा जातीय लिङ्गिय विभेदलाई मोहरा बनाइ राजनीति गर्ने तथा गैरसरकारी संस्थाको नाउँमा डलरखेती गर्नेहरुले कहिल्यै माडीको आवाज बोलेनन् र उनीहरुबाट थप आशा गर्ने ठाउँपनि कतै देखिँदैन । त्यसर्थ माडीलाई बुझ्न तथा त्यहाँ बन्यजन्तु एवं मानिसहरु विच चलिरहेको अन्तरद्वन्दलाई चीरकालिन समाधान गर्न मानिसको जीवनकेन्द्रित एक नयाँ दृष्टिकोण र प्रयत्नको खाँचो छ ।