नेपाल–भारत सीमावर्ती विहार क्षेत्रको विगत र वर्तमान

स्वतन्त्रता प्राप्ती पछिको चार दशक सम्म भारतीय काँग्रेस र त्यसपछिको डेढ दशक लालु यादव दम्पत्तीले नेतृत्व सम्हालेको भारतीय प्रान्त विहार पछिल्लो आधा दशक वर्षदेखि उन्नतीको सिंढी चढिरहेको छ । विहारमा सन् २००५ नोभेम्वरको प्रान्तीय चुनावमा काँग्रेस (आई) र राष्ट्रिय जनता दल (राजद)लाई पछार्दै भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जदयु)को संयुक्त गठबन्धनका नितीश कुमारले विहार सरकारको नेतृत्व सम्हाले पश्चातको अवधिलाई राज्यको स्वर्णयुग मान्नेहरु प्रशस्तै भेटिन्छन। लुटपाट, डँकैती, अपहरण, बलात्कार लगायतका अपराधमा संगठित अपराधीहरु सक्रिय रहँदै आएका विहार क्षेत्रको शान्ति सुरक्षामा क्रमिक सुधार आउनुका साथै जनजीवनमा अमनचैन बढ्दै गएको छ। ६० हजार वढी अपराधीहरुलाई जेल चलान गरिएको छ भने कतिपयको ‘इन्काउण्टर’ गराइएको तथा संगठित स्वरुपका अपराधजालो छिन्न भिन्न पारिएको पनि छ। प्रान्तको मानव विकास सुचकाङ्कमा विशेष बढोत्तरी नभएपनि समग्र आर्थिक वृद्धिदर, कूल ग्राहस्थ्य उत्पादन र प्रतिव्यक्ति आयहरु केहि मात्रामा बढेका छन् ।

सत्तामा आएलगत्तै अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको विहार सरकारले लक्ष्य अनुरुप काम गरिरहेको दावी गरको छ र भ्रष्टाचारको जालो हटाउने बताएको छ। आफ्नो एक चनावी सभामा विहारका मुख्यमन्त्री नितीश कुमारले ‘अरुले कुरा मात्रै गरेकोमा आफूले काम गरी देखाएको’ अभिव्यक्ति दिएका थिए। आफ्नै दलभित्रबाट अनि अरु दलबाट ‘हिटलर’को संज्ञा पाएका भएपनि नितीश कुमारको शासन र सुधारप्रति नै ज्यादा आशावादी देखिन्छन विहार प्रान्तका नागरिकहरु ।

काँग्रेस (आई)लाई विहारमा अनवरत चालीस वर्षसम्म सत्ताको बागडोर सम्हाल्दा अति विपन्न तथा दलित, मुस्लिम, आदिवासी र ग्रामिण किसानहरुको अवस्था सुधारमा कुनै वास्ता नगरेको आरोप लगाई सत्तामा आउन सकेका लालु प्रसाद यादव दम्पत्तीको सरकारले पनि विशेष केहि गर्न नसकेकै देखिन्छ। यसैलाई चुनावी नारा बनाई सत्ता पाउन सफल रहेपछि जदयु र भाजपा गठबन्धनले ‘अशिक्षा र असुरक्षा’ विरुद्ध अभियान चलाएको थियो। त्यसैगरी हरेक विपन्न तथा घरबार विहीन नागरिकहरुलाई क्रमशः घर निर्माण गरिदिने र खाद्य राहत अन्तरगत सहुलियत रकममा खानेकुरा बाँड्ने काम गरिआएको छ। तर भ्रष्टाचार, ढीलासुस्ती र कमिसनतन्त्रमा चुर्लुम्मै डुबेको आरोप समेत खेपिरहेछन् राज्य सरकार तथा प्रान्तीय कर्मचारीहरु ।

यस्तैमा मध्य नेपालसंग सीमा जोडिएका विहारको बगाहाँदेखि पश्चिम, मध्य र पूर्वी चम्पारण जिल्लाहरुको अवलोकन गर्दा पुरानो काँचुली फेर्दै मुहार बललिइराखेको विहारको कतिपय नयाँ अनि केहि पुरानै विशेषताहरु देखा परेका छन्। निश्चय पनि विहार वदलिएको छ, विहारका औद्योगिक र व्यापारिक क्षेत्रहरुमा सुधार आएकै छ, वाणिज्य गतिविधीहरु उकासिएका छन् तर ग्रामीण विहार र नेपाल भारत सीमाक्षेत्रका गाउँले इलाकाहरुको अवस्थामा भने विशेष उल्लेख्य बदलाव आएको भेटिँदैन।

क. शिक्षा, सञ्चार र विद्युत
उत्तरी भारतीय विहारको नेपाल–भारत सीमावर्ती क्षेत्रमा शिक्षाको विकास अत्यन्तै दयनीय अवस्थामा रहेको देखिएको छ। शिक्षासंगै पछाडी परेको जनजीवन उकास्न शिक्षामा लगानी बढाइएको भएपनि पर्याप्त अनुगमन, तालिम, व्यवस्थापन र जनजागरणको अभावमा शिक्षाक्षेत्र पिछडिएको हो।

महात्मा गान्धीले ‘भारत छोडो आन्दोलन’को संखघोष गरेको स्थल भितीहरवा आश्रममा भेटिएका विज्ञान विषयमा उच्चशिक्षा अध्ययनरत सन्नी यादवले नरकटीयागंज स्थित आफ्नो कलेजमा कम्प्युटर रहेको भएपनि हालसम्म ‘छुनै नपाएको’ बताए। उता गवनाहा नजिकको मगुराहा स्थित एक प्राथमिक विद्यालयमा भेटिएका शिक्षार्थीहरु र शिक्षिकाको अवस्था अत्यन्त समस्याग्रस्त देखिन्थ्यो। विद्यालय जाने विद्यार्थीहरुलाई खानेकुराको व्यवस्था पाठशालामै हुनेगरेको भएपनि शिक्षण र सिकाई दुवै निस्प्रभावी देखिन्छन्।

त्यसैगरी विद्युत सेवा यतिविघ्न अनियमित छ कि एक घण्टाकै अवधीमा चारपाँच पटक विद्युत वितरण बन्द हुनु र सुचारु हुनु ग्रामीण उत्तरी विहारमा सामान्य ठानिन्छ। विद्युत महसुल तिर्न वास्ता नगर्ने र हुक अँड्क्याई चोरीको विद्युत उपभोग गर्ने उपभोक्ताहरु विद्युत कटौतीप्रति वेवास्ता गर्छन्। सञ्चारको हकमा नयाँ पुस्ताले मोबाइल सेवाको उपयोग गरिरहेको देखिएपनि अपठीत, प्रौढ र वयस्कहरु मोबाइल फोनबाट खासै लाभान्वित देखिँदैनन्। एकाध भारतीय र धेरै नेपाली एफ.एम. रेडियोहरुको प्रभाव छ सुदूर उत्तरी विहारक्षेत्रमा। इन्टरनेट सेवाको पहुँच अतिनै न्यून रहेको छ भने विकासका अन्य पूर्वाधारहरुको पनि उल्लेख्य विकास भएको देखिँदैन।

ख. रेलसेवासंग जोडिएको जनजीवन
विभिन्न खाद्य र नगदेबाली लगाइएका खेतहरुबिच योजनाविहीन तवरले बसेका गाउँठाउँका भारतीय नागरिकहरु नजिकको रेलवे स्टेसनमा रेल आउनेजाने समयसंग अति नजिकको साइनो राख्दछन्। नजिकमै होस् या टाढा, जहाँ जानुपरेपनि रेलसेवाको उपयोग गर्नुपर्ने बाध्यता रहेका सुदूर उत्तरी भारतीयहरु रेल भेट्न हतारिँदै हिँडिरहेका वा स्टेसनमा प्रतीक्षा गरिरहेको भेटिन्छन्।

केन्द्र सरकारको प्रत्यक्ष नियन्त्रण र सञ्चालनमा गुड्ने रेलसेवाले आफ्ना कर्मचारीहरुलाई दिइआएको आकर्षक सेवा सुविधाहरुको कारण सो संस्थामा जागिर पाउन र दिलाउन ‘ठूलै चलखेल’ हुने गरेको वताउँछन् रेल्वे कर्मचारीहरु। गुडिरहेका वा रोकिएका रेल वग्गीहरु भित्र मात्रै होइन, स्टेसन परिसरमा समेत पान, चुरोट, विँडी, तमाखु र गुट्खा लगायत तयारी खानेकुरा विक्री गर्ने काममा सयौं मानिसहरु स्वरोजगार छन्। तर पान संस्कृतिमा कहलिएका विहार र उत्तर प्रदेश क्षेत्रका मानिसहरुको कारण रेलभित्र र बाहिर फोहोर फैलिने गरेको पनि छ। यात्रुहरु रेल अधिकारी तथा सुरक्षाकर्मीहरुसंग सदैब सतर्क रहेको भेटिन्छन्।

विरलै हुनेगरेको भएपनि कहिलेकाँही रेलसेवा अवरुद्ध हुँदा खेतीपातीमा निर्भर उत्तरी भारतीय नागरिकहरुले देखाउने छट्पटी र अप्ठ्यारोले उनीहरुको दैनन्दिन जनजीवनसंगको रेलसेवाको अन्तरसम्वन्ध चित्रित गर्दछ।

ग. मनोरञ्जन र चालचलन
रेलवे प्लेटफर्मबाट भित्रपट्टी रहेका गाउँठाउँमा पुग्न साइकल, टाँगा वा पैदलयात्रा गर्नुपर्ने पहिलेको अवस्थालाई हाल साना आकारका जीप र ट्याम्पुहरुको सञ्चालनले क्रमभङ्ग गरेको छ।

टेम्पो वा जीपमा चढी भोजपुरी गीतको गुञ्जनसंगै घरबजार गर्नु विहारका वर्तमान मानिसहरुको शौख बनेको छ। परस्पर कुराकानी र सञ्चारका लागि भोजपुरी भाषाको उपयोग गर्ने उनीहरु हिन्दी, बंगाली, नेपाली वा अरु भाषाप्रति नकारात्मक नभएपनि खासै चासो दिँदैनन्। हिन्दी गीतसंगीत र चलचित्र भन्दा भोजपुरी गीतसंगीत र चलचित्रहरुकै बोलवाला देखिन्छ त्यहाँ। धर्म, संस्कृति तथा जातीय कारण हिन्दु र मुस्लिम समुदायविच केहि दुरी रहेको पाइएपनि उनीहरुविच पर्याप्त सहिष्णुता देख्न सकिन्छ। दिसापिसावका लागि शौचालयको प्रयोग वा निर्माण गर्नुको सट्टा खेतबारी र खोलानदीको छेउछाउको प्रयोग हटिसकेको छैन।

नवदुलहीहरु घरभित्रै बस्नुपर्ने तथा बाहिर निस्कनु परे साडीको सप्कोले मुहार लुकाउनुपर्ने संस्कृति अद्यपि जीवितै देखिन्छ। जनजीवनमा सुधार ल्याउन प्रान्तीय सरकारले विभिन्न योजना र कार्यक्रमहरु सञ्चालन गरिरहेको भएपनि प्रभावकारिता र कार्यान्वयन पक्षमा प्रश्न उठाउन मिल्ने कयौं तत्व र पक्षहरु यत्रतत्र छरिएका भेटिन्छन्।

घ‍. सीमावर्ती बजारहरुमा नेपाली मुद्राको अवमुल्यन
नेपाल भारत सीमावर्ती नेपाली र भारतीय बजार र गाउँघरमा नेपाली मुद्रा अवमुल्यनमा पर्ने गर्दो रहेछ । किनबेच र व्यापारका लागि सीमावर्ती भारतीय बजारहरुमाथि निर्भर रहनु परेको तर भारतीय वजार र बै‌कहरुमा नेपाली मुद्रा स्वीकार नगरिने भएकाले नेपाली रुपैंयको अवमुल्यन हुने गरेको हो। व्यापार, घुमफिर र अन्य कामका सिलसिलामा भारत जान चाहने नेपालहरुले नेपालमै भारतीय मुद्रा सटही गर्नुपर्ने हुन्छ तर सो कार्यमा तोकिएको नेरु १६० बराबर भारु १०० लाई वेवास्ता गरी नेरु १६५ वा १७० रकम बराबर भारु १०० प्राप्त हुनेगरेको छ।

रेलयात्राको तितो अनुभव (दैनिकी)
भारतको पूर्व मध्य रेलसेवा अन्तरगत बगाहाँ देखि पश्चिम, मध्य हुँदै पूर्वी चम्पारण क्षेत्रमा हालसालै रेलयात्रा गर्दा तितो यात्रा अनुभूती संगालियो।

‘लोकल’ वा ‘सवारी’ करार रेलहरु मात्रै होइन, ‘एक्सप्रेस’ नाम दिइएका पूर्व मध्य रेलहरुको गति समेत हैरानै पार्नेगरी सुस्त रहेको थियो। पश्चिम चम्पारण क्षेत्रको भिखनाठोरी देखि नरकटीयागंज विच अन्य तीनवटा स्टेसनहरु रहेका भएपनि दर्जनबढी पटक रेल रोकिँदो रहेछ। स्टेसन आइनपुग्दै रेल रोकिएपछि बाहिर चियाइ हेर्दा दाउराका भारीहरु रेल चढाउन स्थानीयबासीहरु हतार गरिरहेका देखिन्थ्यो। त्यस क्षेत्रमा टिकट नलिई यात्रा गर्नु तथा जथाभावी भ्याकुम दिई रेल रोक्नु सामान्य ठाँनिदो रहेछ। रेलवे कानुन र नियमहरुप्रति यात्रीहरु अनभिज्ञ नरहेपनि स्थानीयबासी र रेल कर्मचारीहरुकै मिलोमतोमा दण्डहीनता मौलाएको रहेछ।

नरकटीयागंज बजारमा पुर्याई भारु ६० देखि ८० सम्ममा बेचिने दाउराका भारीहरु चढाउन बिचबिचमा रेल रोकेवापत चालकहरुले गाउँले समूहपिच्छे भारु १०० को नजराना पाउँदा रहेछन्। उक्त यात्राको दौरान यस पंक्तिकारको छेउमै बसेर मोबाइलमा गीत बजाइरहेका एक नेपाली यात्रुको मोवाइलफोन खोसी एक स्थानीय भारतीय किशोर गुडिरहेको रेलबाट फुत्त फालहानी भागेको समेत देख्नुपर्यो।

प्लेटफर्मका भवनहरु सफा राख्ने प्रयत्न भएको देखिएपनि रेल्वे लिक र स्टेसन परिसरमा सरसफाई नभएको तथा जथाभावी दिसापिसाव हुनेगरेकाले दुर्गन्ध फिँजिएको थियो। स्थानीय यात्रुहरुका अनुसार रेलभित्र टिकट परीक्षण कार्य अनियमित भएको र खासै वास्ता हुने नगरेको तथा भइहालेपनि टिकट नलिएका यात्रुहरुबाट केहि रकम घुस लिई छाडिने गरिएको छ। गोरखपुरबाट रक्सौलका लागि छुड्ने रेल नरकटीयागंज नजिकको भैरोगंजमा विहान सात –भारतीय समय अनुसार विहान ६:४५) बजे आइपुग्नुपर्ने समय सारिणी टाँगिएको भएपनि विहान आठ बजेसम्म रेल आइनपुग्दा देशको रफ्तारसंग जोडिएको भनिएको विहारको सुदूर उत्तरी भेगको वास्तविक तस्वीर प्रतिविम्वित भइरहेको अनुभव भयो ।