'अणुकथा' : नेपाली साहित्यमा एउटा नयाँ बिधाको प्रयोग

बि सं २०६१ ज्येष्ठ ११ गतेदेखि साहित्यको उर्वर भूमि चितवनबाट नेपाली साहित्यमा एउटा नयाँ बिधाको  थप र प्रयोग स्वरुप ‘अणुकथा’ लेखन सुरुवात गरिएको छ। एक वाक्यमै पुरा हुने र संवादसंगै सकिने अणुकथाहरु आकारको हकमा ‘लघुकथा’ भन्दा निकै छोटा हुनेछन्, किन्तु यीनको शन्देस भने गहन हुनेछ । यहाँ नमुना स्वरुप केहि अणुकथाहरु प्रकाशित गरेको छु र पाठकलाई अणुकथा सिर्जना गर्न आग्रह गर्दै प्रतिक्रिया  प्रेषणको अनुरोध गर्दछु ।

१‍. उपाय
जहाँ राखेपनि छोराले खोजी खोजी पैसा चोर्न थालेपछि आजित भएका बाबुले पैसा नचोरिने ठाँउको खोजी गर्न श्रीमतीसंग उपाय माग्दा उनले भनिन्, “उसकै किताव भित्र राख्नुस् न जहाँ उसले कहिल्यै हेर्दैन ।”

२. वर
अङ्ग प्रत्यङ्ग श्रृङ्गार गरी पुजा गर्न मन्दिर पुगेकी एउटी सुन्दरीले आफ्नो लागि बर माग्दै भन्छिन्, “म भन्दा राम्री हुनुपरेकी त्यो शर्मिलेको गाला अहिल्यै चाउरी परोस् ।”

३. प्रशंसा
रिसाइरहेकी पत्नीलाई फकाउने प्रयासमा पतिले झ्यालको पर्दा खोली चन्द्रमातर्फ इङ्गित गर्दै बोले, “सबैले चन्द्रमालाई राम्री भन्छन्, सायद तिम्रो उज्यालो मुहार नदेखेर होला ।”

४. फर्मूला
वरिपरि झुम्मिएका दर्जनौं प्रशंसकमाझ लभगुरु राजले आधुनिक प्रेम सम्बन्धको फर्मूला सार्वजनिक गरे, “फोर पी, अर्थात पल्सर, पकेट, पर्शन्यालिटी र प्रशंसा ।”

५. प्रार्थना
दिनरात रगत पसिना बगाई दश नङ्ग्रा खियाउँदा समेत बालबच्चा र परिवार भोकै रहनु परेपछि कविजीको शैलीमा किसानले प्रार्थना गरे, “दुःखीका घरमा मात्र तेरो बास हुने भए दया गरी हे ईश्वर मलाई अझ दुःख दे ।”

६. तिक्तता
छिमेकीको सोफामा विश्रान्त कुकुरलाई देखाउँदै मेरो साथीले भन्यो, “खैर, जिन्दगी यस्तो पो ।”

७. पाठक
पुस्तक पसलमा छानीछानी समाचार, ज्ञानबिज्ञान र साहित्यपान गरिरहेको राकेशले यो पनि पढ्यो, ‘पुस्तक मागेर होइन, किनेर पढौं ।’

८. कृत्रिम अभाव
मट्टीतेल सकिन लागेको स्टोभको घ्यार घ्यार आवाजसंगै हतास मु्हारमा उनले भनिन् “लंकामा सुन छ, कान मेरो बुच्चै ।”

९. चिटचोरी
उकुसमुकुस, छटपटाहट, डराएको मनस्थिति, सायद परीक्षार्थी चिट चोर्न चाहन्छ क्यारे, नीरिक्षकसंगको विनय, “सर, पिसाब लागेर खट्नै सकिनँ, बाहिर जाउँ ?”

१०. कार्यान्वयन
त्यत्तिखेरै आवाजप्रणालीलाई निकम्मा पार्दै लोडसेडिङ् भयो, जतिखेर श्रृङ्गारित मञ्चमा माननीय मन्त्री घोषणा गर्दै थिए, “आज यस परियोजनाको उद्घाटन संगै लोडसेडिङ्का दिन गए ।”

११. परीक्षा
घन्टी बज्नासाथ एकहुल परीक्षार्थीहरु कोठा बाहिर आई होहल्ला गर्न थाले, “स्याला, प्रश्नपत्र त केहि गाह्रो थिएन तर नीरिक्षकनै गाह्रो ।”

१२. रक गीत
चर्चित रक ब्यान्डको स्टेज कार्यक्रमको आवाज प्रणालीले हल्ला गरिरहँदा एउटा बहुला कुर्लियो, “जन्मदै गाडीको हर्न बाहेक केहि नसुनेका उल्लुहरु, कान खराब गरिसके ।”

– पवन प्रकृति स्कुल ललितपुरको २०६७ सालको बार्षिक प्रकाशन ‘पवन प्रकृति’मा पहिलो प्रकाशन