देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (दोश्रो पृष्ठ)

गजल १३
कति सुन्दर छ यो जीवन, रीसराग फाली हेर
लोभलालच ईर्ष्या त्यागी, जीवन ज्योति बाली हेर।
सबै तिम्रा आफन्त हुन, पराई किन सोच्ने गर्छौ?
तेरो मेरो भन्न छाडी, कुटुम्वता पाली हेर।
नैराश्यता किन पाल्छौ, एकाध चोटी हार्नुपर्दा?
विजय तिम्रो दास बन्छ, अग्रपाइला चाली हेर।
अश्रु किन बगाएका क्षणभङ्गुर जिन्दगीमा?
साना साना खुसीहरु, सदैव संगाली हेर।
मीठो भोजन पाइन भनी, ब्यर्थै किन चिन्ता गर्छौ?
रक्त पसिना आर्जित, अन्न मुखमा हाली हेर।
आडम्बरी पोशाक हेतू, बित्था किन सुर्ता गर्छौ?
शरीर ढाक्नै खातिर न हो, फाट्या बस्त्र टाली हेर।
आशा अनि भरोसाका, साथहरु किन छाड्छौ?
जीवन सार्थक तुल्याउन, चोखो प्रेम अंगाली हेर।
कति सुन्दर छ यो जीवन, रीसराग फाली हेर
लोभलालच ईर्ष्या त्यागी, जीवन ज्योति बाली हेर।

गजल १४
मागेंको थें माया केवल, दानी तिमी होइन रहिछ्यौ
जिन्दगीको प्यास मेट्ने, पानी तिमी होइन रहिट्यौ
संगै जिउने स्वप्न देखें, प्रीत साट्ने कामना गरें,
मैले सोचे जस्तो प्रेमको, खानी तिमी होइन रहिछ्यौ
दुःखै दुःख, पीडै पीडा, यस्तै रहेछ जीवन मेरो,
मेरो चोट र पीडा साट्ने, नानी तिमी होइन रहिछ्यौ
साथ दिने बाचा गर्यौे, नरिसाउने कसम खायौ,
बाचा कसम निभाउने, ज्ञानी तिमी होइन रहिछ्यौ
सोचेको थें तिमीसंगै, जुनीभरको नाता गासौं,
तर ब्यर्थ अञ्जानको, रानी तिमी होइन रहिछ्यौ
मागेंका थें माया केवल, दानी तिमी होइन रहिछ्यौ
जिन्दगीको प्यास मेट्ने, पानी तिमी होइन रहिछ्यौ

गजल १५
बिर्सु भन्छु तिमीलाई, झनै याद आउँछ्यौ किन?
माया मार्न खोज्छु तर, मुटुभरी छाउँछ्यौ किन?
यस्तो पागल तुल्याएर, के गर्न खोज्यौ कुन्नी
स्वभाविक बन्न खोज्दा अन्तरमा दाउछ्यौ किन?
भोक प्यास निंद चैन, लग्यौ चोरी हरेक चिज,
सताउँदै मलाई यहाँ, श्रवणभरी गाउँछ्यौ किन?
हरेक रात्री सपनीमा, अंगालोमा बाँधी मलाई
मीठा मीठा कुरा गर्दै चोखोमाया लाउछ्यौ किन?
तिम्रो प्यारको बन्दी भइ, तिम्रै निम्ति गजल लेखें
साबै थाहा पाएर नि, परपर धाउँछ्यौ किन?
बिर्सु भन्छु तिमीलाई, झनै याद आउँछ्यौ किन?
माया मार्न खोज्छु तर, मुटुभरी छाउँछ्यौ किन?

गजल १६
फूलहरु फुल्नै छाडे, गुल्जार यो कस्ता प्रीया
किन होला हाम्रो माया यति सार्होइ सतो प्रीया
साथ मैले दिएको छु, माया पनि गरेकै छु,
फेरिपनि तिम्रो विश्वास टुट्नै लाग्या जस्तो प्रीया
बाचा तिम्ले गरेकी थ्यौ, जुनीभरी साथ दिने
तर हेर आज तिम्रो कसमहरु खस्दो प्रीया
एउटै लक्षय तिम्रो खुसी, हिंजो आज भोलि संधै
किन्तु तिम्लाई बुझ्नै गार्हो, आखिर किन यस्तो प्रीया
आशंकाको बादलले ढाक्छ किन चाँद आज,
मुटु मेरो चिर्हील हेर, देख्छौ माया बस्दो प्रीया।
तिम्रो ढुङ्गे मुटु रुपी निशा चिर्ने किरण बन्दै
मायाको यो सागरमा हेर अञ्जान पस्दो प्रीया

गजल १७
उल्लासको यो घडीमा झनै खुसी छरियोस् न
माहौललाई रङ्ग्याउदै प्याला अझै भरियोस् न
हर ओठमा मुस्कान अनि नयनमा चमक होस्
हाँसो माथि हाँसो थप्न केहि अझ गरियोस् न
यसै त रंगिन घडी झनै रंगिन बन्न सकोस्
दुःख पीडा वरै छाडी जंघार आज तरियोस् न
लाज शरम छाडिउन, शंकोचहरु टाढिउन
प्रीयजनको अंकमालमा आज सबै परियोस् न
हाँसो खुसी प्रेमोल्लास, सर्वत्र फिंजिन सकोस्
दिल खोलेरै परस्परको अति नजिक सरियोस् न्
उल्लासको यो घडीमा झनै खुसी छरियोस् न
माहौललाई रङ्ग्याउदै प्याला अझै भरियोस् न

गजल १८
अघी बढिरहौ संधै परिश्रमको हात समाई
दुःख पीर चिन्ता बिर्सी, संधैभरी रमाई रमाई
जे गर्नुछ आजै गरौ, भोली कस्ले देख्या छ र
छाडौ, बुझ समयको माग, बस्न हातमा दही जमाई
दुईछाक खान अनि नाङ्गो आङ ढाक्न पुगे
केका लागि चाहियो र पाप कर्मबाट कमाई
संसारनै हाम्रो आवास, हामी सबै एकै खलक
बुझौ मानवीय धर्म, छाडौं भन्न कामी दमाई
आउँछन् जान्छन् सुखदुःख, कुम्हालेको चक्र सरी
अदम्य एक साहस बोकौं, छाडौं बस्न खुट्टा कमाई
अघी बढिरहौ संधै परिश्रमको हात समाई
दुःख पीर चिन्ता बिर्सी, संधैभरी रमाई रमाई

गजल १९
गए राती सपनीमा फेरि पनि तिमी आयौ
अंगालोमा बाँधी मलाई पीरतीको गीत गायौ
बादलपारि संसारमा संगसंगै पुग्यौं हामी
सुन्दर त्यो परिवेशमा सबैतिर तिमी धायौ
भोक प्यास पीर चिन्ता, सबैथोक बिर्सिएर
मीठा मीठा कुरा गर्दै मनभित्र तिमी छायौ
लैला अनि मजनु र फराद अनि शिरीको झैं
सत्य अमर चोखोमाया, साँच्चै तिमीले लायौ
फर्क्यौ हामी त्यहाँबाट, नयाँ जिन्दगानी बोकी
सानु हाम्रो घरमा पुगी चैनको रोटी तिम्ले खायौ
गए राती सपनीमा फेरि पनि तिमी आयौ
अंगालोमा बाँधी मलाई पीरतीको गीत गायौ

गजल २०
चट्ट पारी कपाल कोरी, भन कता हिड्यौ गोरी
कर्के नजर लगाई लगाई, यो ज्यानको दिल चोरी
घुरी हेर्छन सबै तिम्लाई, बिराली चालमा तिमी हिँड्दा
सबकों निंद हराम पार्ने भन कस्की पो हौ छोरी
चर्चा केवल तिम्रै बारे, जता तता जहीँ तहीँ
ज्यादा भाउ बढाएर भन किन खोज्या जोरी
आँखा तिम्ले झम्क्याउँदा होसहवास उड्छ सबको
मुटुमाथि ढ्याङ्ग्रो बज्छ देख्छन् सबले फुल्या तोरी
ज्यादा अब नसताउ है, मनमा मेरो आगो लगाई
सुनाउँदै प्रीत लोरी अजै भगाउँला नि मोरी
भोली निकै ढीला होला, चाउरी पर्लान तिम्रा गाला
आ बरु बाँधौ आजै, कसौं झनै प्रीत डोरी

गजल २१
विश्वासाघतको जहर दियौ, बाँच्न गाह्रो भयो मलाई
चोटै चाटको लहर दियौ, साँच्न गाह्रो भयो मलाई
मुस्कुराउदै नजिक आयौ, चोखोप्रेमको गीत गायौ
तर फेरि छाडी गयौ, हाँस्न गाह्रो भयो मलाई
न तिमीले नै भन्यौ, न त संसारले नै खोल्यो
कस्तो खोट थियो ममा, जाँच्न गाहो भयो मलाई
धनको गरीब भए पनि मनको किन्तु सम्पन्न थें
बढ्दै गर्याए बृक्ष प्रीतको भाँच्न गाह्रो भयो मलाई
न्यानो अंगालोमा बाँधी, शब्द तिरले घोची घोची
घाउहरु चिनो दियौ, नाँच्न गाह्रो भयो मलाई
विश्वासघातको जहर दियौ, बाँच्न गाह्रो भयो मलाई

गजल २२
यति नशा पिएँ मैले, जीन्दगीनै जहर भयो
दोश्रो विश्वयुद्ध कालको नागाशाकी शहर भयो
थाहा थियो पिउनु हुन्न, नशा मेरो जीवन होईन
तर तिम्रो वियोग पश्चात कहर नै कहर भयो
बाहिर मेघ रुदै थियो, भित्र मुटु जल्दै थियो
मेरो मदिराको प्याला एउटा अश्रु नहर भयो
प्यासी दिल बुझाउन खुबै चेष्टा गरेकैं हँु
तिम्रो याद बिर्साउन पिउनै पर्ने ठहर भयो
नशा मैले पिएँ वा त्यसले पो मलाई पियो
थाहा छैन अज्ञातमा के के गर्ने लहर भयो
जीवनभर नपिउने कसम खाएको थें मैले
तर आज कसमहरु भांग गर्ने ठहर भयो

गजल २३
रेशमी त्यो केश फाली हिड्छ्यौ किन आली आली
आउ बस मेरो मनमा, तिम्रै लागी ठाउँ छ खाली।
कर्के तिम्रो नजरले सबको होस उडायो है
ज्यादा अब नसताउ, फर्की हेर प्यारी काली।
ग्ुलाबी ती ओठहरु, काफी रैछन पागल पार्न
ओठमाथि ओठ राखी थपिदिउँला झनै लाली।
हरेकलाई चाहिन्छ रे जीवनभरको सहयात्री
हाजिर छ ज्यान मेरो, बनिराख्न तिम्रो माली।
कोइलीको झैं बोली तिम्रो मन्त्र मुग्ध पाछर्यौ सबलाई
सुहाउदैन तिमीलाई बोल्दै हिड्न मीठो गाली।
यत्रो बिघ्न संसारमा केवल तिम्रै माया लाग्छ
बुझदेउ प्रीया तिमी, एक हातले बज्दैन ताली।
संसारकै सुन्दर तिमी, गुणी अनि शुशील पनि
बुझिदेउ माया मेरो, नसम्भि्कदेऊ है जाली।
धेरै ढीला गर्यौ भने चाउरी पर्लान गाला तिम्रा
हुन्छ मात्रै भनिदेउ, लैजान्छु म यसै पाली।

गजल २४
नाँच्दै गाउँदै जिन्दगीमा हाँसिदिनुहोस् मुसुक्क
पीडा दुःख चोटहरु बिर्सिदिनुहोस् भुसुक्क
क्षणभङ्गुर जिन्दगी यो, भावीकाल निश्चित छैन
संगै जीवनयात्रा गर्दै गइदिनुहोस् खुसुक्क
रीस राग जलन ईर्ष्या, छाडिदई सबैलाई
सताउँदो अरुलाई नभइदिनुहोस् ठुसुक्क
ज्ने अनि छोड्ने जस्तो बजारिया लेनदेनमा
यत्रतत्र नदौडदै आईदिनुहोस् लुसुक्क
सौन्दर्य र सुयोग्यपन, सबैथोकले युक्त तपाँई
जीवनकाँडा पन्छाई दिई नघोच्नुहोस् चुसुक्क
नाँच्दै गाउँदै जिन्दगीमा हाँसिदिनुहोस् मुसुक्क
पीडा दुःख चोटहरु बिर्सिदिनुहोस् भुसुक्क

(द्रष्टव्य : यस पृष्ठमा समावेस गरिएका कतिपय निस्सारता पक्षधर र विचारहीन प्रेमविषयक तथा नैराश्यतावादी गजलहरु २०६१ / ६२ को किशोर कालखण्डमा अल्पाध्ययनको साँघुरो घेराभित्रबाट लेखिएका रचनाहरु भएकाले लेखक (देव अञ्जान)का वास्तविक प्रतिनिधी सिर्जनाहरु नभएको र कतिपय रेडियोकर्मी साथी तथा पाठकहरुको मागबमोजिम प्रकासन गरिएको अनुरोध छ ।)