'शुभकामना पत्र' – लघुकथा

आजबाट नयाँबर्ष प्रारम्भ भएको छ । सर्बत्र उल्लास अनि झकिझकाउ प्रतिविम्बित भइरहेछ। किशोर किशोरी अनि युवापिंढी, मानौ कुनै प्राथमिक एवं विशिष्ठ सामाजिक चाड आएकोझैं नयाँ बर्षरुपी सरोबरमा पूर्णत लिप्त छन् । परस्परको उत्तरोत्तर प्रगतिको शुभकामना साटासाट अनि आदान प्रदानले विशेष कुनै रौनकता ल्याएको छ । राष्ट्रिय स्तरमा समेत पपगायक, दोहोरी गायक, चलचित्रकर्मी, राजनेता आदि सबै आ–आफ्नै किसिमबाट मस्त छन, नयाँबर्षको प्रथम सन्धया बिताउन ।

म पनि के कम थिएँ र,आफ्नो आर्थिक हैसियतले नभ्याँउदा नभ्याउदै पनि साथी संगीहरुलाई फोन, फ्याक्स, इमेल, पत्राचार अनि भेटघाट सम्पूर्ण माध्यमहरुको भरमग्दूर उपयोग गर्दै शुभकामना आदान प्रदान गरें, ग्रिटिङ्ग कार्ड प्रेषित गरें । अनि आफ्नो नाउँमा प्राप्त शुभकामना पत्रहरु र कार्डहरु प्राप्त गर्नका निम्ति पत्रमञ्जुषा खोलें । निसन्देह, त्यहाँ धेरै पत्रहरु बिद्यमान थिए र अब तिनीहरु मेरो हातमा गाह्रो गरी अटाउँदै मञ्जुषाबाट बाहिरिंदै थिए ।

म सरासर आफ्नी श्रीमती, अझ भनौं म संगै तीनबर्ष सुख दःखमा साथ दिएकी अर्धाङ्गिनी समक्ष पुगें । “यी हेर त, मलाई कत्ति धेरै शुभकामना पत्रहरु र कार्डहरु आएको छ । मेरा त धेरै पो साथीहरु छन् त ।” मेरो मुद्रा प्रसन्न अनि अभिब्यक्ति रवाफी थियो । बस् उनी चिच्याइन्, “ह्याँ घरमा खाने चामल छैन, पकाउने मट्टितेल छैन, के लछारपाटो लगाउँछन् तपाईका शुभकामना पत्रहरुले ! कास्, तपाईंका साथीहरुले कार्डको सट्टा चामल अनि मट्टितेल पठाईदिएका भए…”

चिसो दाउरा बल्न मानिरहेको थिएन । उनले ती पत्रहरु एक्कासी चुल्होमा फालिदिइन । आगो, अब भने ह्वार ह्वार बल्न थाल्यो ।

#२०६० चैत्र ४ गते, बसन्तपुर माडी चितवनमा लेखन
– पल्लवी सन्देश साहित्यिक द्वैमासिक पत्रिका, वर्ष ३ अङ्क ६ (२०६१ वैसाख -आषाढ) मा पहिलो प्रकासन