'बाम्यान' – विदेशी कथा

“लादेनलाई आतंककारीको विशेषण विश्व समुदायले दिएको कदापि होइन । त्यो त अमेरिका र उसका पिछलग्गु इस्लाम विरोधीहरुको दुष्प्रयास अनि दुष्प्रचार मात्रै हो ।” क्याविनेट बैठकमा स–सम्मान आमन्त्रित धर्मगुरु तथा तालिवानका संस्थापक नेता हम्जा गुल्जार खानले भने, “उहाँलाई पवित्र इस्लामिक इमिरेट्स अफगान भूमिमा शरण दिएर तालिवान शासनले विशिष्ठ काम गरेको छ । यसका लागि तपाईंहरु धन्यवादको पात्र हुनुहुन्छ । अल्लाहले तपाईंहरुको रक्षा र कल्याण गर्नेछन् ।”

“धन्यवाद गुरुज्यू” तालिवान गठबन्धन सरकार प्रमुख मुल्लाह मोहम्मद ओमारले कृतज्ञता जाहेर गरे ।

“यो तथ्य मलाई किमार्थ स्वीकार्य छैन ।” खै किन हो, एकजना तालिवान उपमन्त्रीले असहमती प्रकट गरे । उनी थिए उप–गृहमन्त्री मुल्लाह खाक्सर अख्नुद, जसलाई तालिवान समूहभित्रैवाट पनि निर्वासित पूर्वराष्ट्राध्यक्ष बुरहानुद्दिन रव्वानीको समर्थक भएको आरोप लगाइन्थ्यो । अन्य कयौं मुजाहिद्दिनहरुझैं उनले पनि सन् १९९३ को सिंगेसार प्रकरणका अपहरणकर्ता र वलात्कारीहरुलाई गरिएको कारवाहीवाट प्रभावित भई ओमारलाई पछ्याएका थिए ।

“त्यसो हो भने यो क्याविनेट बैठक यहाँसंग स्पष्टिकरणको माग गर्दछ ।” गठबन्धन प्रमुख ओमारले हिंस्रक भावमा प्रश्न तेर्‍स्याए ।

“ओसामा बिन लादेनका हरेक कारवाही र गतिविधी आतंकवादी धरातलका छन् । मेरो व्यक्तिगत धारणामा त अल कायदा र यसका सहयोगी संगठनहरुलाई अफगानिस्तानमा पूर्णतः प्रतिवन्ध गरिदिनुपर्छ । ‘तालिवानी धार्मिक प्रहरी’ र सहयोद्धा मुजाहिद्दिनले पनि उनीहरुलाई दिइरहेको सहयोग रोक्नुपर्छ ।” स्पष्टीकरणको सुरुवात गर्दै विद्रोही भावमा उपमन्त्री मुल्लाह अख्नुदले भने ।

उनको भनाई र व्यवहारबाट बैठकका सबैलाई स्वभाविक हैरानी भयो । तालिवान प्रमुख ओमारले परिस्थिति सम्हाल्ने चेष्टास्वरुप भने, “कृपया यहाँले आफ्नो धरातल, धर्म, संस्कृति एवं इस्लाम अनुशासन, मर्यादा र गौरवमय सरिया कानुनको उल्लंघन गर्नुहुनेछैन भन्ने अपेक्षा गर्दछु ।”

“माफ गर्नुहोला सम्माननीय, तर म जे बोलिरहेछु, मेरो चक्षुमा त्यो नै सत्य हो । ‘अलकायदा’ले घटाएका विविध प्रकरण नितान्तः मानवद्वेशी छन् । विगतमा अफ्रिकी मुलुकहरु स्थित अमेरिकी दुतावासहरुमा आक्रमण गर्दा होस् वा सोभियत अधिपत्यकालमा छापामार युद्ध सञ्चालन गर्दा, उनीहरुमा मानवीय संवेदना कहिल्यै नदेखिएकै हो । उनीहरु अव संयुक्त राज्यको व्यापारिक र सामरिक शहरहरुमा भयानक हमला गर्न चाहँदैछन् । मलाई लाग्छ, निर्दोष याङ्कीहरु इस्लामका शत्रु होइनन् जवकी अलकायदाका हरेकजसो आक्रमणको निशाना केवल गैरसैनिक स्थानहरु हुनेगरेका छन् । यसले त विश्वभर इस्लाम र तालिवान शासनप्रति नकारात्मक भावना मात्रै फिजाउँनेछ ।” विद्रोही नेताले आफ्नो भनाईको बचाउ गर्दै स्पष्टिकरण जाहेर गरे । उनको लादेन र धर्मगुरु विरोधी विचार र अभिव्यक्तिका कारण बैठकमा सहभागी सबैको ‘पारो तातेको’ थियो । फेरिपनि अख्नुदलाई चुप रहन भन्दै ओमारले बैठक अघि बढाउन निर्देश गरे ।

क्याविनेटमै धर्मगुरु गुल्जार खानले प्रवचन दिन थाले, “इस्लाम मात्रै एक यस्तो धर्म हो, जो प्रत्यक्षतः ‘खुदा’द्वारा सञ्चालित छ । अल्लाहसम्म पुग्न या पुर्‍याउन केवल यहि धर्मका अनुष्ठानहरु मात्रै समर्थ हुनेछन् । जो यो धर्म मान्दैन, उ सिधै ‘दोजख (नर्क)’ मा फ्याँकिन्छ । यसर्थ यो धर्म निर्विकल्प छ । अरु देखावटी धर्महरु वास्तवमै नष्ट हुन लायक छन् । तपाईंहरु जानकार नै हुनुहुन्छ कि इस्लाममा मुर्तीपुजा निषेधित छ । यस धर्ममा विगत लामो कालखण्ड देखिनै बिभिन्न धर्म सम्प्रदायका मुर्तीहरु र मुर्तीपुजकहरुलाई नष्ट गरी पुण्य कमाउने कार्यलाई खुबै महत्व दिइएको पनि छ । यसर्थ म मेरा तालिवान सहकर्मीहरु समक्ष आग्रह गर्दछु कि देशभर फैलिएका विभिन्न मुर्तिहरु ध्वस्त पारियोस्, विशेषतः वामियान उपत्यकाका बुद्धका मुर्तीहरु…”

बैठकमा एकक्षण मौनता व्याप्त रह्यो । आफूलाई चुप रहन दिइएको निर्देशन उल्लंघन गर्दै उनै विद्रोही उपमन्त्रीको अभिव्यक्ति, “गुरुज्यू, ती मुर्तीहरु त पुजा गरिदैंनन् नि । तिनीहरु त केवल कलाका उत्कृष्ट नमुनाका रुपमा उभिएका छन् । करीव २००० वर्ष पुराना ती विश्वकै सर्वोच्च पचासौं मिटर अग्ला बुद्धमुर्तीहरु त यस इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका शान र सम्पदाहरु होइनन् र?”

संस्थापक खानले भने, “ती मुर्तीहरुले हाम्रो पवित्र इस्लामिक अफगान भूमीमा पहिले हिन्दु र बौद्धमार्गीहरुको प्रभुत्व रहेको जनाइ रहेका छन् ।”

अन्ततः तालिवान प्रमुख ओमारले घोषणा गरे, “खैर ठीक छ, यो बैठकले ती मुर्तीहरु ध्वस्त पार्ने निर्णय गर्दछ ।”

अचानक लिइएको यस निर्णयउपर असहमतीपूर्ण टिप्पणी गर्दै मुल्लाह अख्नुदले भने, “तर महोदय, तपाईले नै सन् १९९९ मा कुनैपनि सांस्कृतिक सम्पदा र मुर्तीहरु नष्ट नगरिने सार्वजनिक अभिव्यक्ति दिनुभएको हो । अर्कोतर्फ, यो काफी विवादास्पद नजीर बन्नेछ । ‘उत्तरी गठवन्धन’, अमेरिका र अन्य विश्व समुदायले निश्चय पनि यसको विरोध गर्नेछन् र अफगानिस्तानमा चलखेल गर्ने अवसर पाउनेछन् । भारत त अझ उफ्रिने नै छ । अहमद साह मसुदले ताजिकहरुको विद्रोह चर्काउने थप एक मसला पाउनेछन् । यसले हाम्रो सिंगेसार किस्सालाई विस्मृत गराउने त छँदैछ, यो तालिवान सत्ताको निम्ति नै अदूरदर्शी र हतारको निर्णय बन्न सक्छ ।” विद्रोही उपमन्त्री साँच्चिकै विवेकी र दूरदर्शी भएको प्रतित हुन्छ ।

“तब के भयो? इस्लाम उपर प्रहार भएको खण्डमा हामी सारा संसार विरुद्ध युद्ध लड्न पनि तयार छौं भने, यो त अझ अल्लाहको इच्छा पनि हो ।” संस्थापक खानले उत्साहपूर्वक बोले ।

त्यसपछि विद्रोही उपमन्त्री मुल्लाह अख्नुद केहि बोलेनन् तर मनमनमा सोच्दै थिए, ‘बि.बि.सी., ए.पी., ए.एफ.पी., रोयटर्स लगायतका विश्व प्रेस र पत्रकारहरुलाई के जवाफ दिने होला?’ उनले एकपछि अर्को गर्दै भारतको बाबरी मस्जीद प्रकरण अनि चीनको महान सर्वहारा साँस्कृतिक क्रान्तिलाई सम्झन पुगे ।

पर्सीपल्टै विश्वभर तात्तातो खबर फिँजियो, ‘अफगानिस्तानको वामियान प्रान्त स्थित वामियान शहरमा बुद्धका विशाल २००० बर्ष पुराना साढे ३४ र ५० मिटरका दुईवटा अग्ला मुर्तीहरु ट्याङ्क र रकेट प्रहारद्वारा ध्वस्त…’

सयनकक्षमा झुण्ड्याइएको चालु २००१ को पात्रोमा मार्च १२ लाई कालो घेरा लगाउन नविर्सेका उप–गृहमन्त्री मुल्लाह खाक्सर अख्नुदसामु यतिखेर निद्राका चक्की खानुको विकल्प थिएन ।

#२०६१ भाद्र १७ गते, बसन्तपुर माडी चितवनमा लेखन
अखिल (क्रान्तिकारी)को केन्द्रीय प्रकाशन संगिन (आषाढ २०६८) मा पहिलो प्रकाशन