नेपाली साहित्यमा'अणुकथा' : थप नमुना सिर्जनाहरु

आकारको हकमा ‘लघुकथा’ भन्दा निकै छोटा र एक वाक्यमै पुरा हुने तथा संवादसंगै सकिने अणुकथाहरुका थप नमुना स्वरुप एक दर्जन अणुकथाहरु प्रकाशित गरेको छु ।

पाठकहरुवाट मिलिरहेको सकारात्मक प्रतिक्रियाहरुप्रति आभार प्रकट गर्दै अणुकथा सिर्जना गर्न र सेयर वा प्रचार प्रसार गरिदिन आग्रह गर्दछु।

१. वैभव
मैले लाखौं प्रयत्न गर्दा पनि नपट्टिएकी उनीसामु एकदिन म मोटरसाइकल चढी सुटेड बुटेड भएर जाँदा नजिकै आइ समुस्कान बोलिन्, “वाउ, क्या ह्यान्सम् ।”

२. भ्रष्टाचार
ढोकामै टाँसिएको ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ अभिलिखित पोस्टर पढी खुसी हुदै कोठाभित्र प्रवेश मात्रै के भएको थिएँ, हाकिम साहेब बोलिहाल्नुभयो, “अञ्जान जी, काम सुरु गर्नुअघि खाजापानी गराउने कि ?”

३. नागरिक सर्बोच्चता
भखैरै मसाल जुलुससहित पुत्ला जलाएको भीडमा पत्रकारले नेताज्यूलाई नागरिक सर्बोच्चता कहिले स्थापना होला त भनि जिज्ञासा राख्दा उत्तर पाए, “हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेपछि ।”

४. ओवामा
पचास तारा अंकित ध्वजाको पृष्ठभूमिमा दिनदहाडै एउटा कालो चील निर्दोष परेवा बन्ने चेष्टा गर्दै बोल्छ, “अमनका खातिर रेगिस्तानमा ३० हजार मरिन…”

५. उखान
विजितहरु सडक अनि पराजितहरु सत्तामा रहेको तर्फ इङ्गित गर्दै एक भाषाविज्ञले टिप्पणी गरे, “नेपालमा मात्रै प्रचलित एउटा उखान छ नि, कहीँ नभएको जात्रा हाँडिगाउँमा ।”

६. गृहिणी
धारावाहिक टेलिश्रृङ्खलामा भुलिरहँदा भान्साघरमा पाकिरहेको तरकारी डढेपछि गृहिणी फतफताउँछिन् “पाक्ने समय पनि सिरियलझैं लम्बिनु नि…”

७. जिन्दगी
कहिलेकाँही म आफैलाई भन्ने गर्छु, “जिन्दगी होस् त डिभिडी प्लेयर जस्तो, जहाँ ‘बोरिङ् सिन’ र ‘स्क्र्‍याच’हरु फरवार्ड गरी रमाइला दिन र खुसीहरु हेर्न पाइयोस् ।”

८. उच्चशिक्षा
उच्चशिक्षा आर्जन गर्न शहर छिरेका एक बिद्यार्थी पढ्न भन्दा घुमफिर गर्न र फिल्म हेर्न पल्किनाले परीक्षामा असफल भएपछि कराउँछन् “डिग्री होल्डरहरुले पो के नेपर्‍याछन् र ?”

९. सफ्टवेयर
श्रीमती माइत जानाले कपडामा आफै स्त्री लगाउन तम्सँदा भुलवश कपडा डढेपछि एक कम्प्युटर बिज्ञ भन्दछन्, “अब आइरन लगाउने पनि सफ्टवेयर चाहियो, जहाँ ‘अन डु’ गर्न मिलोस् ।”

१०. ताली
कविता वाचन गरिसक्दा कविगोष्ठीका सहभागीहरुले ताली नपड्काएपछि कविज्यूले तुरुन्तै ‘ताली’ शीर्षकको अर्को कविता वाचन सुरु गर्नुभयो, “ताली बजाउनु सबैले…”

११. मन्त्री
कर्मचारी कुटिएको खबर सार्वजनिक भएपछि तातो अन्तरवार्ता लिन ‘पुल्चोक’ पुगेका एक पत्रकारले किन कुट्नुभएको भनि प्रश्न गर्दा उत्तर पाए, “अन्यथा म पनि मन्त्री हुँ भनि तपाईंलाई कसरी थाहा हुन्थ्यो र ?”

१२. पत्रकार
अखाद्य र विषालु पदार्थ मिसिएको खानेतेल बारे समाचार लेखिसकेपछि तेल उत्पादक कम्पनीमा समाचार पुर्‍याई पत्रकारले ‘डिल’ गरे, “तपाईंको उत्पादनको भनौं वा मेरो मेरो समाचारको, मुल्य कति ?”