देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (तेश्रो पृष्ठ)

गजल २५
प्रत्युष देखि रजनीकाल जिन्दगीको आश तिमी
कोटीकाटी सौन्दर्यमा सबैभन्दा खास तिमी
पलपल धड्कीइ रह्यौ, मुटुको स्पन्दन सरी
हरघडी प्राणवायु सञ्चार गर्ने श्वास तिमी
बिर्सिएर शिशिर जाडो, गृष्मकालिन प्रचन्ड धुप
मनोहर सितल छर्ने बसन्तको मास तिमी
मुस्कुराई सदाबहार, बनी प्रेरणा र खुसी
अबिश्रान्त ल्याईरह्यौ उल्लासको रास तिमी
स्वप्न देखि विपनीमा देवकन रोज दिवश
आश्रय र माया दिने बनिराख्यौ बास तिमी
प्रत्युष देखि रजनीकाल जिन्दगीको आश तिमी
कोटीकाटी सौन्दर्यमा सबैभन्दा खास तिमी

गजल २६
अबिरल बग्दाबग्दै रोकिएको खोला हजुर
मेरो जिन्दगी त केवल रित्तो खाली झोला हजुर
घनघोर आँधी चल्दा निभ्नै लाग्या दियो जस्तो
निराशा र झनो आशा, मिसिएको घोला हजुर
मुटुभित्र पीडा साँची प्रकटमा मुस्कुराउँदा
तित्तताले भरिएको दुईदिनको चोला हजुर
हरेक घडी हरेक पल सम्झौता नै सम्झौताको
यात्रा नै पो जिन्दगीको परिभाषा होला हजुर
खुसीयाली मञ्चन गर्दै अरुलाई रङ्ग्याउन
आफ्ना पीर ब्यथाहरु भ्रिएको लोला हजुर
जटिल यो जिन्दगीको ज्यादा ब्याख्या गरौं कति
शब्दहीन निरुत्तर, म त अञ्जान भोला हजुर

गजल २७
गाउनुसम्म गाइइसकें, अब ज्यादा गाउने छैन
धाउनुसम्म धाइसकें, अब ज्यादा धाउने छैन
पीडादायी बचनहरु, घुर्की अनि सनकहरु
ज्यादा धेरै पाएँ मैले, अब ज्यादा पाउनें छैन
तिम्रो ईच्छित आकार बनें, सफलताको हार बनें
छायाँसरी छाइरहें, अब ज्यादा छाउनें छैन
प्रार्थना र पुजा मेरो, केवल केवल उनी मात्रै
पागलसरी माया लाएँ, अब ज्यादा लाउने छैन
जहाँ तिमीले बोलायौ र जसरी म बोलाइएँ
सधैंभरी आइरहें, अब ज्यादा आउने छैन
गाउनुसम्म गाइइसकें, अब ज्यादा गाउने छैन
धाउनुसम्म धाइसकें, अब ज्यादा धाउने छैन

गजल २८
सायद अलिक ज्यादै पिएँ, केहि होस छैन अब
सयौंपटक लडीसकें, उठ्ने जोश छैन अब
अनवरत पग्लिएर मदिराको प्याला भर्दै
बिलाउँदै गयो जीवन, बाँकी ठोस छैन अब
बिधाताले निधारमा सायद यही कोरेको थ्यो
सबैतिर मरुभुमी, कहीं ओस छैन अब
तिमीले नाता तोडेपनि, प्यार मेरो भुलेपनि
माफ गरिसकें मैले, तिम्रो दोष छैन अब
छायाँ सरी पछ्याउदै, पीडा अनि वियोगहरु
नियतिको फल पाएँ, केही रोष छैन अब
नशासंगै प्यारपनि पिई रित्याई दिन्छु
अञ्जानको जिँदगीमा खुसी र तोष छैन अब

गजल २९
सुनेकी छु हजुर अचेल अन्तै डेरा सर्नुभो रे
सिह्रानको घर छोडी गैह्रीतिर झर्नुभो रे
अल्पकालिन बसाईमै मन भरी गयो सायद
त्यसैले त हतार हतार बसाई सराई गर्नुभो रे
छानाहरु च्ुहिदाहुन, पानी पनि नआउँदो हो
सम्भव छ यसैकारण माझगाउँ तर्नुभो रे
साँघुरा थे कोठाहरु, फूलबारी पनि थिएन
अहिले त पक्कै हजुर राम्रै ठाउँमा पर्नुभो रे
धेरै समय बिताएको पुरानो त्यो घर बिर्सी
मुटुभरी नयाँ घरकै मायाहरु भर्नुभो रे
सुनेकी छु हजुर अचेल अन्तै डेरा सर्नुभो रे
सिह्रानको घर छोडी गैह्रीतिर झर्नुभो रे

गजल ३०
तनमन, जीवन दिएँ, तर तिमीले खेल समझ्यौ
असीमित माया दिएँ, तर तिमीले झेल समझ्यौ
आफ्नै लागी नराखेर, पोख्दा तिम्रो आँचल भरी
मेरो समपणलाई तिमीले, खाने नुन तेल समझ्यौ
खुल्ला पुस्तक बनी आफू, तिम्रो अघि खुलिदिंदा
मेरा हरेक भावलाई, काग हेतु बेल समझ्यौ
कति सहजै भन्न सक्यौ, बिर्सिजाउ मलाई भनी
सायद तिमीले मलाई उर्लिजाने भेल समझ्यौ
बिर्सिन त सक्दिनौ रे मलाई जिन्दगी भरी
हुनसक्छ तिमीले मलाई, आफ्नो लागी जेल समझ्यौ
तन मन, जीवन दिएँ, तर तिमीले खेल समझ्यौ
असीमित माया दिएँ, तर तिमीले झेल समझ्यौ

गजल ३१
आफ्नै ठानी हजुरलाई मन अपण गरेंकी थें
समग्र यो यौवन र जीवन अर्पण गरेंकी थें
एक्लो पथिक सरी हजुर भौतारिदैं हिड्नुहुँदा
साथ खनि विश्वासको धन अर्पण गरेकी थें
हात थाम्दा हजुरले बिर्सिएर हरेक सीमा
हजुरकै नासो सम्झी, तन अर्पण गरेकी थें
पीडा अनि दुःख कष्ट, सबै आफैले भिरी
माया अनि खुसीहरु झन झन अर्पण गरेकी थें
हजुरको साथ पाउन, के पो गरिनँ र मैले
वियोगलाई प्यार सम्झी, आफ्नोपन अर्पण गरेकी थें
आफ्नै ठानी हजुरलाई मन अर्पण गरेंकी थें
समग्र यो यौवन र जीवन अर्पण गरेंकी थें

गजल ३२
धोका यदि दिनुनै थ्यो त, प्रीतको माला उन्यौ किन?
माया यदि मार्नुनै थ्यो त, मुटुभित्र थुन्यौ किन?
महलतिर नजर लगाई, केवल धन ताक्ने तिमी
झुपडीमै जीवन काट्ने ईच्छाहरु गुन्यौ किन?
चोखो मीठो माया बाहेक थिएन मसंग केहि
थाहा पाउँदा पाउँदै पनि, साथ मेरै चुन्यौ किन?
कलियुग भन्थे सबै, अनुभूत भयो आज
बैभववादी तिमीजस्ती, प्रीत लोरी सुन्यौ किन?
सुन्दरताको सिकार बनाई अञ्जान एक यात्रीसंग
संगै जीउने सपनाका तानाबाना बुन्यौ किन?
धोका यदि दिनुनै थ्यो त, प्रीतको माला उन्यौ किन?
माया यदि मार्नुनै थ्यो त, मुटुभित्र थुन्यौ किन?

गजल ३३
फगत एक विजय हेतु, संयौ हार हारें मैले
मनभित्रका हरेक चाह मनभित्रै मारें मैले
थाहा थियो मेरो निम्ति ईच्छित प्राप्ती असम्भव छ
तर पनि अनवरत चेष्टाहरु नारें मैले
निरन्तरको लगाव अनि मिहिनेत र परिश्रम बिच
बगाउदै आफूलाई, हरपल खारें मैले
हजार हजार ठेस लागे, मार्ग निकै कठीन हुँदा
फेरिपनि पाईलाहरु, अविश्रान्त सारें मैले
बाटोबिच काँडाहरु, तगारा र वाधाहरु
हरेकलाई पार गरी, जीवन नाउँ तारें मैले
फगत एक विजय हेतु, संयौ हार हारें मैले
मनभित्रका हरेक चाह मनभित्रै मारें मैले

गजल ३४
सुन्दर संसारको खेस्रा, केरिएछ बिनासित्ति
आफ्नै सम्झी अंगालोमा बेरिएछ विनासित्ति
कोमल गोरो त्वचाभित्र, कालो रैछ उनको मन
संसारकै सुन्दर ठानी, हेरिएछ विनासित्ति
न्ाजिक आएको नाटक गरी धेरै टाढा भाग्नेलाई
सपनाको रानी बनाई घेरिएछ विनासित्ति
सुन्दर एकल संसारमा खुसी अनि बहार थियो
उनकै लागि सारा जगत, फेरिएछ विनासित्ति
हृदयको स्पन्दन र यात्राको गन्तव्य मानी
उनकै निम्ति जिन्दगीलाई सेरिएछ विनासित्ति
चिन्नै सकिनँ उनलाई, म त आखिर अञ्जान थें
उनका हरेक सर्तहरु टेरिएछ विनासित्ति

गजल ३५
हजुर सिवाय यो मुहारलाई नहेरोस् है कसैले नि
हजुर बाहेक अंकमालमा नबेरोस् है कसैले नि
किन ढीला गर्नुहुन्छ, घुम्टोभित्र पर्खिराख्दा
हजुर छाडी यो ज्यानलाई नघेरोस् है कसैले नि
बचाइराखें आजसम्म, तन अनि जीवन मेरो
हजुरकै नासो हो यो, नसेरोस् है कसैले नि
रात ढल्दै बढीराछ, मिर्मिरेको प्रहरतर्फ
हजुरझै लज्जासंकोच नफेरोस् है कसैले नि
श्रृङ्गारमा सजिएर चन्द्रतुल्य बर्ण मेरो
हजुर हेतु लुकाईराखें, नकेरोस् है कसैले नि
हजुर सिवाय यो मुहारलाई नहेरोस् है कसैले नि
हजुर बाहेक अंकमालमा नबेरोस् है कसैले नि

गजल ३६
रोदन अनि उल्लासमा अश्रु पुछ्ने हात दिनू,
जीन्दगीको गोरेटोमा अविश्रान्त साथ दिनू
मेटाउदै हरेक सीमा प्रेमालाप गरी संधै,
रीसराग विर्सिएर केवल मीठो बात दिनू।
मान्छे नै हुँ म पनि, हुन्छन कहिले काँही गल्ती,
याम शिशिर भएपनि क्षमाको बर्षात दिनू।
मेघ सरी नदर्किनू आउँदा साना ठूला कष्ट,
रीझाउने मौका अनि प्रीतको सौगात दिनू।
मुल फुटाई उत्साहको सहयात्रा गर्नू संधै,
टुट्न किन्तु नदिनू नि, प्रेमरसको मात दिनू।
मेसो मिले घुक्याउदै छेडछाड पनि गर्नू
रीत सौन्दर्यको बनि मुस्कानको खात दिनू।
मनुष्यको चोला न हो, कहिले नजिक कहिले टाढा
नविर्सिने कष्ट गर्नु, सम्झनाको जात दिनू।
रोदन अनि उल्लासमा अश्रु पुछ्ने हात दिनू,
जीन्दगीको गोरेटोमा अविश्रान्त साथ दिनू।

(द्रष्टव्य : यस पृष्ठमा समावेस गरिएका कतिपय निस्सारता पक्षधर र विचारहीन प्रेमविषयक तथा नैराश्यतावादी गजलहरु २०६१ / ६२ को किशोर कालखण्डमा अल्पाध्ययनको साँघुरो घेराभित्रबाट लेखिएका रचनाहरु भएकाले लेखक (देव अञ्जान)का वास्तविक प्रतिनिधी सिर्जनाहरु नभएको र कतिपय रेडियोकर्मी साथी तथा पाठकहरुको मागबमोजिम प्रकासन गरिएको अनुरोध छ ।)