१८७१ को पेरिस कम्युन : एक लघु विवरण

युद्धको समाप्ती
सन १८७१ मा फ्रान्सले प्रसियासंग पराजित युद्ध गर्‍यो । फ्रेन्च सरकार प्रमुखका हैसियतले एडोल्फ थियर्सले प्रसियासंग शान्तिवार्ता गरे तर परिणामस्वरुप पेरिसमाथिको आफ्नो नियन्त्रण जोगाउन तथा पेरिसवासीलाई प्रसियन युद्ध समाप्त भइसकेकाले शान्ति सम्झौता अनुसारको राष्ट्रिय सुरक्षा दस्ता विघटन गर्दा देशमा कुनै हानी नहुने कुरा सम्झाउन उनलाई समस्या पर्‍यो । सन्धी पश्चात थियर्ससंग पहिलेको लाखौं सुरक्षा दस्ताको तुलनामा निकै कम अर्थात केवल १२००० लडाकुहरु मात्रै बाँकी रहेको थियो ।
उनीसंग समयको पनि उत्तिकै अभाव थियो । व्यवस्थापिकाका बहुसंख्यक ग्रामीण सदस्यहरु बोर्डेनुक्स छाडी अगाडि बढिसकेका थिए र पेरिसको सान्निध्य भर्सेलिजमा प्रसियालाई स्पष्ट शन्देस पुग्नेगरी बैठक समेत गरिसकेका थिए ।

फ्रान्सले प्रसियालाई सन्धी बमोजिम चुक्ता गर्नुपर्ने युद्ध हर्जना बुझाइ नसकेकाले प्रसियन सेनाहरु उत्तरी फ्रान्समा अद्यपि विद्यमान थिए । हर्जनाको पहिलो किस्ता बुझाई उत्तरी फ्रान्सबाट प्रसियन सेना फिर्ता पठाउन फ्रेन्च सरकारलाई ऋणको आवश्यकता थियो । ऋण पाउन जनताहरुको विश्वास जित्नु अत्यावश्यक रहेकाले थियर्सको लागि जनसमर्थन जुटाउनु पहिलो काम थियो । यसका लागि देशमा शान्ति सुरक्षा कायम गर्नु, व्यापार वाणिज्य सुचारु गर्नु तथा जनजीवनलाई सामान्य अवस्थातर्फ मोड्नु अपरिहार्य थियो भने भने कम्तीमा पनि देशको मुटुका रुपमा रहेको राजधानी शहर पेरिसलाई राष्ट्रिय सरकारको नियन्त्रणमा ल्याउनु वान्छनीय थियो ।

तर पेरिसले भने प्रसियन विजय र सरकारले प्रसियासंग गरेको सन्धी तथा कारोबार मानिरहेको थिएन । देशभक्त फ्रेन्चहरुका लागि पराजयको परिणति नयाँ सरकार सिवाए अरु केहि हुन सक्दैनथ्यो । प्रसियन सेनाको सम्भाव्य पेरिस प्रवेश रोक्न राष्ट्रिय सुरक्षा दस्तालाई सतर्क अवस्थामा राखिएको थियो । पेरिस पराजय ताक बाँकी रहेका तोपहरु पेरिसका श्रमजीवि वाहुल्य जिल्लाहरुमा पुर्‍याइएको थियो । यसवारेमा थियर्सले भनेका छनः “मति विग्रिएका ती कामदारहरुलाई नहटाएसम्म र तोपहरु नछुटाएसम्म आर्थिक कारोबार पुनः सुचारु हुन नसक्ने बारे व्यापारीहरु लगातार जोड दिइरहेछन् ।”

शनिबार एकाविहानै राष्ट्रिय सुरक्षा दस्ताको बन्दुक खोस्ने सरकारी प्रयत्नले क्रान्तिको तात्कालीक सुरुवात गरेको देखिन्छ । योजनाअनुसार नगरका सामरिक महत्वका क्षेत्रहरुमा नियन्त्रण जमाउनु तथा चिनिएका विद्रोहीहरुलाई गिरफ्तार गरी बन्दुक खोस्नुपर्ने थियो । आफ्ना केहि मन्त्रीहरुसहित थियर्स आफैले उक्त कार्यको नीरिक्षण गर्न गएका थिए । सुरुमा निदाइरहेको पेरिस शान्त नै रह्यो तर पछि पेरिसवासीहरुको भीडले सेनामाथि आक्रोश पोख्न सुरु गर्‍यो । यसले राष्ट्रिय सुरक्षा दस्तामा अलमलको स्थिति पैदा गर्‍यो । उनीहरु सरकारको समर्थनमा बसिरहन सकेनन् । संकलित बन्दुकहरु लैजाने सवारीको प्रतीक्षा गरिरहेका नियमित सैनिकहरुले पनि आफ्नो संख्या कम हुदै गरेको थाहा पाए । लगत्तै मोनमोर्टमा पहिलो घटना घट्यो जहाँ सैनिकहरुले सरकारको आदेश विपरित भीडतर्फ गोली नचलाई आफ्नै कमाण्डरलाई कैद गरे जसलाई पछि गोली प्रहार गरियो । लगत्तै पेरिसमा अधिकारीहरुले आफ्ना सैनिकहरुमाथि भर पर्न नसकिने निर्क्यौल गर्दै दिउँसोपख राजधानी छाड्ने निर्णय गरे ।

आफूलाई पर्खिरहेको एक बग्गीमा चढ्दै थियर्सले मन्त्रीहरुलाई आफूलाई पछ्याउन र पेरिसबाट सबै सैनिकहरुलाई बाहिर पठाउन आदेश जारी गरे । अगाडी पछाडी सैनिकहरु राखी पेरिस छाडिएको उक्त दृश्य अचम्मलाग्दो थियो । पेरिसबाट सैनिकहरु लैजाने त्यस प्रकृया यत्ति हतारपूर्ण थियो कि भुलवश थियर्सले कयौं रेजिमेन्ट (करीव २०,०००) सेनालाई पेरिसमै छाडे । कतिपय अधिकारीहरु अद्यपि कैदमै थिए भने सरकारले पेरिस छाड्दा करीव १५०० मानिसहरु विना कुनै योजना त्यहाँ विद्यमान रहे जसले पेरिस कम्युनको प्रादुर्भाव गर्‍यो ।

राती ११ बजे राष्ट्रिय सुरक्षा दस्ताले आफूलाई पुनः संगठित गर्दै सरकारले छाडेको टाउन हल (होटल डे भिल्ले) कव्जा गर्‍यो र विस्तारै अरु सार्वजनिक भवनहरुमाथि कव्जा जमाउन आरम्भ गर्‍यो । होटल डे भिल्ले प्रवेश गर्न हिच्किच्याइरहेका राष्ट्रिय सुरक्षा समितिका प्रमुख बेल्लेभोइसलाई सोको लागि उत्साहित गर्ने जमर्को गरेका थिए व्लान्क्वीवादीहरुले । आखिरीमा जब राष्ट्रिय सुरक्षा समितिले होटल डे भिल्ले प्रवेश गर्‍यो त्यहाँ पर्याप्त अन्योल व्याप्त थियो, राष्ट्रिय सुरक्षा दस्ता र सैनिकहरु नेतृत्वको अभावमा यताउती भौतारिइरहेका थिए । यसले के स्पष्ट पार्दछ भने उक्त विद्रोह स्वतःस्फूर्त सिर्जिएको एक आन्दोलन थियो जसलाई राष्ट्रिय सुरक्षा समितिको कुनै केन्द्रीय नेतृत्व प्राप्त थिएन ।

डुभेल, युडेस, बुनेल लगायत मोन्टमार्टे समितिहरु भर्सेलिजतर्फ बढिरहेपनि व्लान्क्विवादीहरु उक्त पंक्तिमा थिएनन् । विद्रोहीहरुले पेरिस खाली देखे तर अस्वभाविक र आकस्मिक रुपमा सत्ता प्राप्त गरेका उनीहरुको अगाडी पेरिस कव्जालाई वैद्यानिकता दिलाउनु मुख्य चुनौतीका रुपमा अगाडि आयो । यसर्थ उनीहरुले भर्सेलिज हिँडेका सैनिकहरुलाई पछ्याउन छाडी शहरमा विद्यमान एकमात्र संवैद्यानिक अङ्गको रुपमा रहेको पेरिसका मेयरसंग निर्वाचन गराउने बिषयमा वार्ता सञ्चालन गरे । निर्वाचनको दिन एक कम्युन अगुवा (कम्युनार्ड)ले सोधेका पनि थिए, “क्रान्तिको समयमा वैद्यानिकताको के अर्थ ?”

जेहोस्, वैद्यानिकताको यस खोजीले क्रान्तिकारीहरुलाई केही नरम भने पक्कै बनायो । केन्द्रीय समितिका अधिकांश सदस्यहरुलाई परिस्थितिवश आफूहरु घेरामा परेको अनुभूती भएको थियो । उनीहरु मध्येका एकजनाले भनेका छन्, “अव के गर्ने भन्ने सवालमा हामी त्यस अपरान्ह द्विविधामा थियौं । हामी होटेल डे भिल्ले कव्जा गर्नुभन्दा अवरोध रेखा (व्यारिकेड)हरु स्थापना गर्ने सोच थियो । वास्तवमा हामी आफूले पाएको सत्ताको कारण असमञ्जस्यतामा थियौं ।” ‘कम्युन अमर रहोस’ बोलको नारा लगाउन तथा नगर निर्वाचन नहोउन्जेलका केहि दिनसम्म होटल डे भिल्लेमै रहन उचित हुने सम्वन्धमा बोहेमियन साहित्यकार इडोउरार्ड मोरेउले उनीहरुलाई सुझाउनु परेको थियो ।

विद्रोहको आठ दिनपछि २२७,००० मत गन्ती हुनेगरी पेरिसमा वृहद निर्वाचन सम्पन्न भयो । यो अङ्क निर्वाचन पञ्जीकामा सुचिकृत मतदाता संख्याको आधामात्रै संख्या भएपनि युद्धपुर्व गरिएको उक्त सुचीकरण युद्धपश्चात तथ्यपूर्ण हुन सक्दैनथ्यो किनकि फ्रेन्च–पर्सियन युद्धको दौरान जनसंख्यामा काफी कमी आएको थियो भने विद्रोह लगत्तै पेरिसका अधिकांश धनाढ्य र उच्चवर्गका मानिसहरुले पेरिस छाडेका थिए । केन्द्रीय समितिले निर्वाचनमा अपनाएको समानुपातिक प्रणालीका कारण त्यसअघिका निर्वाचनहरुभन्दा ठीक उल्टो, ज्यादा घना वस्ती रहेका श्रमिक जिल्लाहरुबाट वहुसंख्यक सदस्यहरु निर्वाचित भए । मतपरिणामले परिवर्तनकामी वामपन्थीहरुको अत्यधिक बहुमत कायम भएकाले निर्वाचित कुल १५ देखि २० सदस्य मध्यपन्थी रिपव्लिकनहरुले लगत्तै राजिनामा दिएका थिए ।

कम्युनार्डहरुको प्रभाव श्रमजीवि कामदार बाहुल्य जिल्लाका पेरिसवासीहरुमा ज्यादा देखिएको थियो । पहिले थोरै प्रतिशत मत प्राप्त गर्न सक्ने गरेका केहि सचेत समुहहरु समेत प्रभावशाली बनेका थिए । मानिसहरुमा क्रान्तिकारी समाजवादप्रतिको आकस्मिक आकर्षण भन्दा पनि पेरिसवासीहरुमा थियर्स र भर्सेलिजको राजतन्त्रवादी राष्ट्रिय सभाप्रतिको विकर्षण अनि राजतन्त्र विरोधी शक्तिका रुपमा कम्युनार्डहरुको उदयका कारण यस्तो बदलाव आएको थियो । श्रमिकहरु तथा राज्यको उपेक्षामा परिआएकाहरुको हकमा राज्यसत्ता प्राप्तीको यस अवसर एक साधारण विजयभन्दा महत्वपूर्ण उपलव्धी पनि थियो ।

गौरवमय शरद सुर्योदयको दुई दिन पश्चात मंगलवार, २८ मार्चका दिन होटेल डे भिल्लेमा कम्युनको औपचारिक घोषणा गरियो । रातो पोशाकमा सजिएका राष्ट्रिय सुरक्षा दस्ताको भेलामा नवनिर्वाचित सदस्यहरुको नाम वाचन गरी बन्दुक र तोप पड्काउँदै रातो झ48डा फहर्‍याई उक्त घोषणा गरिएको थियो ।

कम्युनको स्वरुप
६० वर्ष नाघेका ५ जनासहित औसत ३८ बर्ष उमेरसमूहका ८१ जना प्रतिनिधिहरु मिली कम्युन बनेको थियो । ३० बर्ष नकाटेका अन्य १५ तथा तीसौं वर्ष टेक्दै गरेका १८ जना सदस्यहरु बिच कम्युन प्रहरी प्रमुख राउल रिगाउल्ट केवल २५ बर्षको उमेरसंगै सवैभन्दा कान्छा सदस्यका रुपमा रहेका थिए ।

कम्युन सदस्यहरुमा राजनैतिक ज्ञानको भने कमी थियो । उनीहरुविच प्रायः निरर्थक र अर्थहीन छलफल सञ्चालन भएका थिए र कुनै निचोडमा पुग्नुको अलावा बिषयान्तर र विवाद ज्यादा भएको थियो । कम्युनको राजनैतिक दिशा अनिर्णित थियो र उनीहरुलाई आफ्नो अस्तित्व रक्षाका लागि आसन्न गृहयुद्ध जित्नुपर्ने चुनौती पनि थियो । अधिकांश सदस्यहरु ट्रेड युनियन मानसिकताका भएकाले शिक्षाको विकास या श्रमिकवर्गको उत्थानमध्ये कसलाई प्राथमिकता दिने भन्नेमा उनीहरुविच मतभेद रह्यो ।

एक अनुभवी क्रान्तिकारी नेतृत्वका रुपमा व्लान्क्विले कम्युनलाई राजनैतिक गति दिने हैसियत राख्दथे किन्तु प्रहरीपक्राउका कारण उनी पहिलेदेखिनै कैदी जीवन व्यतित गरिरहेका थिए ।

लम्बे राजनैतिक छवी भएका चार्ल्स डेलेसुल्ज कम्युनभित्रका महत्वपूर्ण व्यक्ति थिए । सन् १८४८ को ज्याकोबियन विद्रोहको एक कट्टरपन्थी सदस्य रहिसकेका उनी तात्कालीन देशनिकालाको परिणति स्वरुप कमजोर स्वास्थ्यको शिकार भएका थिए र आफ्नो सानो औं अस्पष्ट आवाज तथा कम्युन भित्रको व्यक्तिगत संघर्षमा सरिक हुने अनिच्छाका कारण कम्युनको एक सम्मानित सदस्यका रुपमा मात्रै सीमित रहिरहे ।

विद्यालय तथा विद्यार्थीकालमा फरक जीवनशैली अङ्गालेका भएपनि १८ जना कम्युन सदस्यहरु मध्यमवर्गीय परिवारवाट निर्वाचित भएका थिए । गणतन्त्रवादी पत्रकारिताको पृष्ठभुमी रहेका व्यक्तिसमेत गरी समेत कुल ३० जना सदस्यहरु प्रान्तीय प्रतिनिधीका रुपमा कम्युन परिवारभित्र समाहित थिए । अन्य सदस्यहरुमा ३ जना चिकित्सक र सोही संख्याका कानुन व्यवसायी तथ शिक्षकहरु र एक पशु औषधीकर्मी, एक वास्तुकार औं एघार जना व्यापारिक क्षेत्रमा कार्यरत श्रमिकहरु थिए ।

कम्युन सदस्यहरु मध्येका ३५ जना, विगतमा क्रान्तिकारी आन्दोलनमा सरिक ज्यालादारी कामदार रहेका थिए । उनीहरु विशेषतः राजधानीमा लामो समयदेखि सञ्चालन भई आएका पसल तथा सम्भार केन्द्रका श्रमिकहरु थिए । उनीहरुसंग तामा तथा पित्तल लगायतका धातुको काम, सिकर्मी, डकर्मी तथा रङ्गरोगन गर्ने काम र किताब वनाउने काम गरेको अनुभव थियो । पेरिस वाहिर स्थापित ठूला कारखानामा काम गरेकाहरुको उपस्थिति भने न्यून थियो । पेरिस र आसपासका क्षेत्रहरुमा स्थापित ठूला उद्योगहरुका श्रमिकहरुले आफ्नो सङ्गठन र सुरक्षा समूह स्थापना गरेका थिएनन् । यसले के इङ्गित गर्दछ भने स्थानीय नेतृत्वमा आफू प्रतिकै विश्वासको कमी तथा ठूलो परिणाममा प्रभावी हुन सक्ने सम्भावनाप्रति नजरअन्दाज थियो । सङ्गठन र लडाकु निर्माणकार्य पेरिस वाहिरका पेट्टी वुर्जुवा क्षेत्रका व्यक्तिहरुलाई छाडिएको थियो ।

त्यस्तै कम्युन सदस्यहरु मध्येका ४० जना विगतमा फ्रेन्च मजदुर आन्दोलन र प्रथम इन्टरनेशनलमा सरिक व्यक्तिहरु थिए । मजदुर सङ्गठन र श्रमिक आन्दोलन सम्वन्धी अनुभवका कारण उनीहरु राजनैतिक दलप्रति सन्देह व्यक्त गर्दै समानतावाद र साम्यवादको पक्षधर भएका थिए । कम्युनमा एक दर्जनको सङ्ख्यामा ब्लान्क्वीवादीहरु मौजूद थिए जसले क्रान्तिको रक्षार्थ ब्लान्क्वीको रिहाईका लागि कैदी साटफेरको प्रस्ताव राखेका थिए । उनीहरुको आँखामा पेरिसका मुलपादरी त्यस्तो व्यक्ति थिए, जसलाई ब्लान्क्वीसंग साटफेर गर्न सकिन्थ्यो ।

२८ मार्चका दिन गठन भएको कम्युनमाथि अप्रिल २ बाट थियर्सका सैनिकहरुले धावा बोल्न सुरु गरे । आरम्भमा कम्युनले युद्ध परिषदका रुपमा गुप्त बैठक सञ्चालन गर्ने चेष्टा गरेपनि २० वटा जिल्लाका केन्द्रीय समितिहरु लगायत प्रथम इन्टरनेशनल र अरु केहि लोकमञ्चहरुको दवावका कारण छलफलमा उठेका र सुल्झेका विषयवस्तुहरु दैनिक आधिकारिक पत्रिकामार्फत सार्वजनिक गर्ने कुरामा सहमती भयो । छलफलको लागि उपयुक्त ठूलो कोठाको अभाव भने संधै नै खड्किइरह्यो ।

सन् १८७१ मा गठित कम्युनका सदस्यहरु, सन् १७९३ मा विकसित लोक सार्वभौमिकताको सिद्धान्तका आधारमा सांसद भन्दा पनि निर्वाचित जनप्रतिनिधीका रुपमा ज्यादा क्रियाशील रहनुपर्ने थियो । विभिन्न स्थानका क्लव र मञ्चमा नागरिकहरु होटेल डे भिल्लेमा रहेजत्तिकै सार्वभौमसत्ता आफूहरुसंग पनि रहेको बताउने गर्दथे । निर्वाचित कम्युनार्डहरुलाई प्रत्यावहनको व्यवस्था गरिएकाले उनीहरु जनतासंग सदैव नजिक र सम्पर्कमा रहिरहनु पर्दथ्यो । सार्वभौमिकताको यस अभ्यासवारे विभिन्न मञ्चहरुमा वहस सञ्चालन हुनेगर्नाले केहि कम्युन सदस्यहरुले आफूलाई सत्तामा पुर्‍याएका जनतासंग सदैव नजीक र घनिष्ठ रहिरहेका थिए पनि ।

कम्युनको राजनिती
कम्युनले अघि सारेका सामाजिक बदलावका चेष्टा र निर्णयहरु क्रान्तिकारी धरातलका भन्दा पनि दुई तीन दशक अघिदेखि सञ्चालित श्रमिक आन्दोलनका दौरान उठाइएका मागहरुको सम्वोधन हुने खालका सुधारवादी पहलहरु थिए । अधिग्रहण पश्चातको भाडा कटौती गरिएको भएपनि व्यक्तिगत सम्पत्तिमाथि प्रश्न उठाइएको थिएन । लामो वहस पश्चात कतिपय रसिदहरुको चुक्ता अवधी तीन वर्षका लागि लम्व्याइएको थियो । यसप्रकारका निर्णयहरुले पेरिसवाहिरका वुर्जुवाहरुलाई चकित र अवाक तुल्याएको थियो । कम्युनले टाउन हलमा बेरोजगारहरुको साटफेर गर्नुका साथै रोजगारदाताहरुको विरोधका वावजुद पाउरोटी उद्योगका श्रमिकहरुको रात्री ड्युटी खारेज गरेको थियो । मजदुर सङ्गठन र श्रमिकहरुलाई वन्द उद्योगहरुको स्वामित्व सुम्पने अतिवादी प्रकृतिको निर्णय गर्दै कम्युनले बेरोजगारीको चुनौती कम गर्ने चेष्टा त गरेको थियो किन्तु व्यापार वाणिज्यमा एकमनावादीहरुद्धारा सञ्चालित हरेक ठूला उद्योग कलकारखाना पनि मजदुरवर्गले कब्जा गरी सञ्चालन गर्नुपर्ने जस्तो चरम अतिवादी प्रकृतिको प्रस्ताव भने अस्वीकृत गरेको थियो । मे १४ सम्ममा ४३ वटा उत्पादन सहकारीहरुको स्थापना भइसकेको थियो र यिनीहरुले मुख्यतः कलाका साधनहरु उत्पादन सुरुगरेका थिए ।

शिक्षाको हकमा सवैलाई आधारभूत शिक्षा दिइने प्रवन्ध मिलाइएको थियो । शैक्षिक क्रान्तिले मुख्यतः पेरिसमा सञ्चालित कुल स्कुलको आधा हिस्सा ओगटेका गिर्जाघर सञ्चालित विद्यालयहरुलाई प्रभावित गरेको थियो । राष्ट्रिय सुरक्षा दस्ताका सदस्यहरुले यस्ता धार्मिक विद्यालयहरुका पादरी र आनीहरुको स्थानमा गणतन्त्रवादीहरुलाई स्थापित गरेका थिए । पुर्ववर्ती राज्यव्यवस्थामा सवर्था वेवास्ता गरिएको नारी शिक्षालाई विशेष ग्राहयता दिइएको थियो । छात्रा विद्यालयहरु स्थापना र हेरचाह गर्न सतप्रतिशत महिला सदस्यता रहेको एक विशेष आयोग गठन गरिएको थियो । किन्तु औद्योगिक र शैक्षिक क्रान्तिका यस्ता चेष्टाहरुले मूर्तरुप पाउन भने सकेनन् किनकि कम्युनले अति छिट्टै युद्ध लड्ने र जित्ने तयारी गर्नुपरेको थियो ।

अन्य कयौं पक्षहरुको तुलनामा सवैभन्दा महत्वपूर्ण विषय भने वहुसङ्ख्यक जनताको हीत र पक्षमा काम गर्ने तथा अधिकांश श्रमिक वर्गको समानुपातिक प्रतिनिधित्व रहेको कम्युन गठन नै थियो, जसले पेरिसको सरकारको रुपमा काम गरेको थियो ।

भर्सेलिजमा विद्यमान थियर्स र उनका मन्त्रीहरुसामु पेरिस कम्युन सामाजिक रुपान्तरणको एक संखघोष भएको र यसलाई रोक्न भयानक गृहयुद्धमा जानुपर्ने तथ्यप्रति कुनै द्धिविधा थिएन । यसको अलावा अन्य युरोपेली सरकारका लागि समेत पेरिस कम्युन असह्य राजनैतिक घटना थियो । २९ मार्चमा लण्डन टाइम्सले यसलाई ‘धनीहरु उपर सर्वहारावर्ग, मालिकहरु उपर श्रमिकजन तथा पुँजी उपर श्रमको विजय’का रुपमा चित्रित गर्‍यो ।

रुसी सम्राटले जर्मन सरकारलाई थियर्सको भर्सेलिज सरकार नै फ्रान्स तथा सारा युरोपको रक्षक भएकाले कम्युनलाई गरिने दमनमा कुनै वाधा सिर्जना नगर्न दवाव दिएका थिए भने विस्मार्कले पनि थियर्सले ढीला गरे जर्मन सेना परिचालन गर्ने धम्की दिएका थिए । जे होस, पेरिस कम्युनलाई समाजवादी वाम आन्दोलनको एक हिस्साको रुपमा नै वुझ्नु श्रेयकर हुन्छ ।

शोषितहरुको एक पर्व
पेरिस कम्युनलाई धेरै कोणबाट शोषितहरुको एक विशेष पर्वका रुपमा शंष्लेशित गर्न सकिन्छ । राजधानीको वातावरण युद्धमय वनिरहँदा पनि कम्युन अवधी कुनै उल्लासमय पर्व तथा विदाको माहौलभन्दा कम थिएन ।

किन्तु चाँडैनै पेरिसको परिवेश मृत्युमय पनि भयो । युद्धमा ज्यान गुमाएका राष्ट्रिय सुरक्षा दस्ताको अन्त्येष्टि प्रकृयामा कम्युन सदस्यहरुको उपस्थिति सहित विशेष समारोह आयोजना गरिन्थ्यो जहाँ जान अनिच्छुक पेरिसवासीहरु प्नि शवयात्राको भीडको करकापका कारण लामवद्ध हुन वाध्य हुन्थे ।

त्यसअघि पहिले कहिल्यै नभएको एक नाटकीय र्‍यालीमा डकर्मीहरुले आफ्नो व्यानर बोकी कम्युनहरु घुमेका थिए र ‘गुइल्लोटाइन’ जलाउँदा तथा साम्राज्यको प्रतिकका रुपमा स्थापित ‘भेर्दून कोलुम’ भत्काउँदा ठूला उत्सवहरु मनाइएका थिए । उत्साह यत्ति धेरै थियो कि एक बेलायती पर्यवेक्षकले लेखेका छन्, मानिसहरु सपनामा झैं चलायमान थिए । भर्सेलिजको सेनाले २१ मे को आइतवारका दिन पेरिस प्रवेश गरिरहँदा समेत एक वृहद मानवसागर ट्युलेरिसको वगैंचामा घाइते विधवा र अनाथहरुको सहयोगार्थ आयोजित सांगितिक कन्सर्टमा झुमिरहेका थियो ।

शहरीकरण तथा विकास अभियानका कारण पेरिसवाट विस्थापित हुन वाध्य पारिएका वहुसङ्ख्यक जनसाधारणका लागि पेरिस कम्युन पुनर्विजयको द्योतक थियो । अल्पकालभर नै सही, यस अवधीमा अधिकांश जनताहरुले आफ्ना जिल्ला तथा शहर स्तरीय सार्वजनिक गतिविधीहरुमा सक्रिय सहभागिता तथा नेतृत्वको अवसर पाएका थिए ।

कम्युनको अन्त्य
आवश्यकीय शैन्य सञ्चय र परिचालन तथा जरुरी किल्लाकरण गरिएकाले थियर्सका शैनिकहरुलाई अनवरत दुई महिनासम्म रोक्न सकिएको भएपनि मे २१ का दिन सरकारी सेना पेरिस प्रवेश गर्‍यो । पेरिसवासीले जित्ने सम्भावना न्युन हुँदै गएपछि एक हप्ता सम्म अत्यन्त रक्तपातपूर्ण र हिंस्रक सडक युद्ध जारी रह्यो ।

भर्सेलिज सेनाको पेरिस प्रवेश रोक्ने केहि तयारी गरिएको भएपनि चर्चित ‘प्रतिरोधको द्वितीय रेखा’ तयार भइसकेको थिएन । अवरोध रेखा (व्यारिकेड)हरु निर्माण गर्ने जिम्मेवारी पाएकाहरुको परम्परागत निर्माण शैली तथा ढीलाईका कारण केहिमात्रै व्यारिकेडहरु निर्माण सम्पन्न भएका थिए । आइतवारको राती तथा सोमवार विहान पेरिसका विभिन्न पाँचवटा नाकाहरुवाट सरकारी शैन्य प्रवेश भएको थियो जसले शहरको दक्षिण पश्चिमी क्षेत्रका दुईवटा वुर्जुवा वाहुल्य जिल्लाहरुलाई छिट्टै कव्जा गर्‍यो । त्यहाँ सेइन नदीको दाँया र वायाँ किनारवाट दुई चिरामा आक्रमण सुरु भयो । क्रान्तिकारी वाहुल्य जिल्ला र त्यहाँका अवरोधरेखा (व्यारिकेड)हरुमा व्यापक जनपरिचालन गर्न ‘हाउसमान्स बाउलेभार्ड’हरुले महत्वपूर्ण भुमिका निर्वाह गरिरहँदा सोमवार मे २२ का दिन पेरिसको तेश्रो जिल्ला समेत सरकारको हातमा पुग्यो जहाँ खासै युद्ध नगरी राष्ट्रिय सुरक्षा दस्ताका करीव १५०० सदस्यहरुले आत्मसमर्पण गरेका थिए ।

विहान ९ वजे होटेल डे भिल्लेमा २० जना कम्युन सदस्यहरु भेला भई नागरिकहरुलाई व्यारिकेडहरुमा शसस्त्र भई वस्न आह्वान गर्दै भित्तेचित्र प्रकाशित गरे ।

लगत्तै पेरिसको केन्द्रमा अवरोधरेखा (व्यारिकेड)हरु स्थापना गरिए । ५० डकर्मीको एक समूहले केहि घण्टामै ‘रुडे डे रिभोली’मा १८ फिट अग्लो तथा धेरै यार्ड गहिरो व्यारिकेड निर्माण गर्‍यो । बच्चाहरुले माटो बोकेर तथा ‘ला हाल्ले’का वेश्याहरुले बोरामा माटो हालिदिएर सहयोग पुर्‍याए । पहिलो दिनमै १६० वटा व्यारिकेडहरु निर्माण गरिए जसको कुल योगफल ६०० हुनपुगेको थियो । अधिकजसो व्यारिकेडहरु ५–६ फिट अग्ला वनाइए जहाँ रुखको फेंदको आडमा बाटोबाट ल्याइएको ढुङ्गा तथा फलामे ग्रिलहरुको चाङमाथि तोप र मेसिनगन राखिएका थिए र माथि रातो झण्डा फहराइरहेको हुन्थ्यो ।

रु डे गाडवोर्गमा एउटी महिलाले फ्याँकेका गुन्द्री र कार्पेटहरु प्रयोग गरी ब्यारिकेड खडा गरियो । अरु ब्यारिकेडहरु गाडीका पार्टपुर्जा, वालुवाका बोरा, ईंट लगायतका बस्तुहरुवाट बनाइएको थियो । व्यारिकेड निर्माण स्थलवाट गुजि्ररहेका जोकेहीलाई पनि सहयोग गर्न बाध्य पारिन्थ्यो । ‘प्लेस ब्लाञ्च’मा १२० महिलाहरुले एक ऐतिहासिक व्यारिकेड खडा गरे जहाँ मंगलबारको युद्धमा बहादुरीपूर्वक लडेका उनीहरुमध्येका धेरैलाई पराजयलगत्तै कत्लेआम गरिएको थियो । थियर्सको सेना अगाडि बढिरहँदा पछाडी हट्दै गएर छरप्रष्ट हुन बाध्य संघियतावादी पेरिसबासीहरु आफ्नो डेरामा मर्न उचित ठानी आ–आफ्नै घरतर्फ हानिए ।

जुन १८४८ को विद्रोहमा प्रयुक्त रणनीतिवारे ब्लान्क्वीले जोडदार रुपमा अगाडि सारेका आलोचनाका पक्षहरु कम्युन युद्धमा समेत देखा परेका थिए । विना केन्द्रीय सङ्गठन आफ्नो क्षेत्रमा आफै लड्ने युद्धनीतिका कारण एकपछि अर्को गरी अवरोध रेखाहरु पार गर्दै अगाडि बढ्न शत्रुसेनालाई समर्थ तुल्याएको थियो ।

मंगलबार विहानै भर्सेलिज सैनिकहरु पेरिस बाहिरको तटस्थ रेखा पार गरी अर्को द्वारवाट पेरिस प्रवेश गरी दुईवटा क्षेत्र कव्जा गरे जहाँ प्रसियन सैनिकहरु भुमिकाविहीन देखिएका थिए । सप्ताहन्त नजिकिँदै जाँदा कत्लेआम बढ्दै गइरहेको थियो । ४२ पुरुष ३ महिला तथा ४ केटाकेटीहरुलाई एउटा भित्ताअगाडि मारिएकोले ‘रुइ डे रोजियर्स’को एक घरमा कोर्ट मार्शल गरिएको थियो तर त्यही घरमा युद्धका बाँकी दिनहरुमा बन्दीहरुलाई मार्नका लागि लग्ने गरिएको पनि थियो । वरपरका घरहरुको साहारा लिई निशानावाज (स्नाईपर)हरुले व्यारिकेडमा आक्रमण गर्न थालेपछि सुरक्षा खतरा महसुस गरिएका घरहरुमा कम्युनार्डहरुले आगो लगाउन सुरु गरे । यसक्रममा रुए डे रिभोली, टुलुइसे दरवार र अर्थ मन्त्रालय रहेको भवन सबै आगोमा डढे । आगो निभाउनका लागि अग्नि नियन्त्रकहरु खटाइएको भएपनि उनीहरु असफल हुनाले विभिन्न कागजातका खातहरुको अग्नि ज्वालाले पेरिसको आकाश ढाकेको थियो र यत्रतत्र कागजवर्षा भएझैं देखिन्थ्यो । त्यत्तिखेरै चलेको हावाहुरीले आगोका झल्काहरुलाई दश माइल टाढाको सेन्ट जर्मनसम्म पुर्‍याएको थियो र मानिसहरु पेरिस जलिरहेको हेरेर बस्न वाध्य भएका थिए । त्यहाँको ब्यारिकेड भने वुधबार विहानसम्म पनि कव्जामा परिसकेको थिएन जहाँ एक महिलाले सैनिकहरुतिर रातो झण्डा फहराउँदै मोर्चा सम्हालेकी थिइन ।

थियर्सको प्रतिरोधमा लडेका करीब ३० योद्धाहरुलाई युद्धबन्दी लिइएर गोली ठोकिएको थियो र शवहरु व्यारिकेडकै खाडलमा फ्याँकिएको थियो । वुधबार विहान कम्युनले होटेल डे भिल्ले छाड्ने निर्णय गर्‍यो र पछाडी हटिरहँदा कभर लिनका लागि भवनमा आगो लगाइयो । न्याय दरवार र प्रहरी केन्द्रहरुमा कम्युनले तथा अन्य केहि क्षेत्रहरुमा भर्सेलिज गोलावारीका कारण लागेको आगो तथा भत्किएका भवनहरुको चित्रनै आजपर्यन्त पेरिस कम्युन सम्वन्धित चित्रकलाको नमुना रहिआएको छ । पेरिसका घरहरुमा केहि महिलाहरुले आगो लगाउँदै हिँडिरहेको अफवाह फिँजिनाले कयौं निर्दोष महिलाहरु गोलीको शिकार हुनुपर्‍यो । जे होस, अधिकांश कम्युनार्डहरु आफ्नो जीवनको आखिरी घडी बाँचिरहेकोमा विश्वस्त रहनाले पेरिस पनि आफूसंगै सकिनुपर्ने सोचमा देखापरेका थिए । राष्ट्रिय सुरक्षा दस्ताका एक अधिकारीले आफ्ना साथीहरुलाई भेला गरी आफूहरु संगसंगै जाने कुरामा विश्वस्त पार्ने चेष्टा गर्दै ‘अर्सेनल म्युनिटिओन्स’मा विष्फोट गराई उडाउने कुरा गरिरहेका थिए ।

भर्सेलिज सेनाद्वारा मच्चाइएको नरसंहारको हल्ला फिँजिएपछि पेरिसवासीको भीडले पनि वदलास्वरुप आफूहरुले लिएका कैदीहरुलाई मार्नुपर्ने दवाव दिन थाले । फेर्रेले ६ जना कैदीलाई हस्तान्तरण गर्ने निर्देशन पत्रमा हस्ताक्षर गरे । कम्युनले नै नियुक्त गरेको गभर्नरले कैदमा रहेका पेरिसका मुलपादरी (आर्किविशप)लाई हस्तान्तरण गर्न नामञ्जुर गरे किनकी उनको नाम हस्ताक्षरित ६ जनाभित्र सुचिकृत थिएन । पेरिसवासीको माग र दवावलाई समेट्दै फेर्रेले हतारिँदै निर्देशन पत्रको अन्त्यमा ‘र विशेष गरि मुलपादरी’ भन्ने वाक्यांश थप गरे जसलाई गोली ठोकियो ।

यसविच पेरिसमा झनै चर्को नरसंहार मच्चिइरहेको थियो । हरेक व्यारिकेड कब्जा हुँदा त्यहाँ रहेका प्रतिरोधी योद्धाहरुलाई भित्तामा उभिन लगाई गोली प्रहार गरिन्थ्यो । म्याडेलाइन गिर्जाघरमा छिपेका ३०० जनालाई समेत एकैसाथ गोली वर्षाइएको थियो । अस्पतालको स्वरुप दिइएको सेन्ट सुप्लिइसमा प्रवेश गरेका भर्सेलिज सेनाले स्वास्थ्यकर्मी तथा विरामी लगायत ८० जनाको हत्या गरे र यस्तै प्रकृतिको घटना बोउजोन अस्पतालमा समेत घट्यो । मंगलबार र बुधवार गरी दुई दिन चलेको ल्याटिन क्वार्टरको युद्धपश्चात विहीवार र शुक्रवार कम्युनार्डहरु पछाडि हट्न बाध्य हुनुपर्‍यो जसले गर्दा शहरमाथिको नियन्त्रण गुम्दै गयो ।

शनिवारको दिन कुहिरोमय थियो भने त्यसछिको दिनमा वर्षा । त्यसदिन विशेषतः ‘पा रे लाचेइस मुर्दाघर’ क्षेत्रमा युद्ध चलेको थियो जहाँ राष्ट्रिय सुरक्षा दस्ताका करीब २०० सदस्यहरुले मूर्खतावश नियन्त्रण गुमाउन पुगेका थिए । ढोकामा विष्फोट गराउँदै सैनिकहरु भित्र प्रवेश गरेपछि मुर्दाघर परिसरमा दुवै पक्षविच भीषण रक्तपातपूर्ण हाते युद्ध चलेको थियो । यस भीडन्तको दौरान नमरेका योद्धाहरुलाई मसानघरको पूर्वी कुनाको भित्तामा उभ्याई मारिएको थियो जहाँ धेरै दिनसम्म यसप्रकारको हत्या जारी रह्यो । कब्जा हुन बाँकी अन्तिम ब्यारिकेडमा एकजना मात्र योद्धाले निरन्तर एक चौथाई घण्टासम्म प्रतिकार जारी राखेका थिए । अन्त्यमा उनले आफ्नो आन्तिम गोली प्रहार गरी बाहिरिनु पर्‍यो र आइतवार मे २८ का दिन कम्युन पूर्णतः पराजित भयो ।

युद्ध सकिएको भएपनि गोली प्रहार रोकिएको थिएन । कहिँ, कतै र कुनैपनि जोडकोणबाट कम्युनसंग जोडिएको जोकोहि एवं असम्वन्धित व्यक्तिहरुलाई समेत खोजीखोजी मारिएको थियो । पेरिसमै रहेका जो कोहिपनि शंकाको घेरामा पर्न सक्दथ्यो ।

फ्रान्स प्रसिया युद्ध वा फ्रेन्च इतिहासको अन्य कुनैपनि नरसंहारको तुलनामा मे अन्तिम साता मच्चाइएको यस कत्लेआममा धेरैले ज्यान गुमाएका छन् । फ्रान्सिस क्रान्तिको दौरान डेढ वर्षमा १९,००० मानिसहरुको ज्यान गएको देखिन्छ । प्रमाणिक आधिकारिक तथ्याङ्क नभएपनि भर्सेलिज पराजयकालीन ९०० मृत्यु र ६५०० घाइते सङ्ख्याको अनुपातमा कम्युन गृहयुद्धकालमा करीव ३०,००० मानिसहरुले ज्यान गुमाएको विश्वास गरिन्छ ।

कम्युनको पराजय पश्चात समानता (साम्य)वादी लुइस माइकल समेत करीव ५०,००० जनालाई गिरफ्तार गरिएको थियो । उनको पैरवी चल्दा उनले आफूलाई गोली ठोकिनुपर्ने माग गर्दै भनेकी थिइन्, “जसरी स्वतन्त्रताका लागि धड्किने हरेक मुटुहरुमा मात्रै नेतृत्वको अधिकार रहन्छ, म पनि आफ्नो भागको माग गर्दछु ।” अपितु उनलाई अन्य ४,५०० व्यक्तिहरुसंगै फ्रान्सेली उपनिवेशका रुपमा रहेको अष्ट्रेलियन सामुद्रीकिनार छेउ अवस्थित नयाँ क्यालेडोनियामा निर्वासित गरियो । यात्राको दौरान तथा जेलजीवन भोगिरहँदा धेरैको देहान्त भयो । अरुलाई स्वीट्जरल्याण्ड, बेल्जियम, बेलायत लगायतका क्षेत्रहरुमा निर्वासित गरियो । यी मध्येका दुईजनाले बेलायतमा कार्ल मार्क्सका दुई छोरीहरुसंग विवाह गरे । पछि मार्क्सले एङ्गेल्सलाई देख्नुभयो, “लङ्ग्वीट आखिरी प्रौउढोनवादी हुन भने लाफार्ग अन्तिम बुकानिनवादी । शैतानले त्यी मध्येका दुइलाई लग्यो ।”

नौ वर्षपछि निर्वाचनमा गणतन्त्रवादी तथा समाजवादीहरुका विजयका कारण कैदीहरुमाथि आममाफीको मतदान हुनसक्यो । समाजवादीहरुको आग्रहलाई स्वीकार गर्दै ‘वाल अफ पियर्रे–लाचाइस’मा भव्य प्रदर्शनमा उत्रिएका करीव २५,००० जनालाई प्रहरीले दमन गरी तितरवितर पार्ने असफल प्रयत्न गरेको थियो ।

कम्युनको असर
कम्युनको पराजयले तत्कालका लागि रक्तपातपूर्ण नरसंहार सिर्जना गर्‍यो भने दीर्घकालीन रुपमा फ्रान्सेली मजदुर आन्दोलनलाई क्षती पुर्‍यायो । पेरिसमा ५ बर्षसम्म मार्शल कानुन लागु गर्दै अन्तराष्ट्रिय श्रमिक सङ्गठनलाई अवैधानिक घोषणा गरियो । प्रहरीलाई राजनैतिक अधिकारहरुले लैश गरी राजनितीक गतिविधीउपर नियन्त्रणको चेष्टा गरियो । विशेषतः ‘प्रथम इन्टरनेशनल’लाई फ्रान्समा अस्तित्वविहीन तुल्याइयो । श्रमिक नेताहरु या त मारिएका थिए या कैदी जीवन बाँचिरहेका थिए र कोहि निर्वासित पनि थिए ।

(क्रान्ति र बर्गीय सङ्गठनको कमजोर, किन्तु निर्वाचित कम्युनार्डहरु तथा युद्ध र समाप्तीको राम्रो व्याख्या रहेको पेरिस कम्युन बारेको एक लघु इतिहास पत्र ।)

– डव्लु. एस. एम. बैठकमा प्रस्तुत एक लघु विवरण (सम्पादित लेखन : स्टेवार्ट एड्वार्डस्)
नेपाली अनुवाद : देव ‘अञ्जान’ शाह
दिवाकर बालग्रामको प्रकाशन ‘नयाँ दिशा’को अंक-२ (पौष २०६७ वि. सं.)मा पहिलो प्रकासन