देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (चौथो पृष्ठ)

गजल ३७
कतै भेट भए तिमी अर्कैतिर नफर्किनू
आलो घाउ माथि तिमी नुनचुक नछर्किनू
सञ्चो बिसञ्चोका दुई प्रश्न सोध्ने कष्ट गर्नू
नचिनेको झैं गरी, अघिबाटै नतर्किनू
मुस्कुराउँदै हाँस्दै तिमी केहि मीठा बात गर्नू
अजनवी मान्छेसरी बिनासित्ति नझर्किनू
मंगलसुत्र, सिन्दुर पोते संधैभरी बचाईराख्नू
किन्तु त्यसकै बहानामा बैशाखझै नचर्किनू
हरेक उतार चढाव अनि अतितलाई याद गर्नू
किन्तु त्यही बहानामा श्रावणझै नदर्किनू
बर्तमान र भविष्यलाई सुन्दर र उज्जवल पार्नू
धैर्यता र आशा राख्नू, दायाँ बायाँ नलर्किनू

गजल ३८
तिम्रा हरेक पीडा लिई खुसीहरु दिन्छु भन्छ
तिम्रो सफलताको काँडा बटुलेर लिन्छु भन्छ
हज्जारौंमा होलान यहाँ तिमीले चिन्या जान्याहरु
विश्वास गर संसारमा केवल तिमीलाई चिन्छु भन्छ
तिम्रो जिन्दगीका हरेक अड्चन अनि बाधाहरु
बढारेर हरेकलाई मसलाझैं पिन्छु भन्छ
प्रकट मात्रै गर तिमी चाहना र इच्छाहरु
चाह तिम्रो पुरा गर्न संसारनै किन्छु भन्छ
साथ देऊ या टाढा होऊ, तिम्रो खुसी तिम्रै मर्जी
अञ्जानले जिन्दगीभर तिमीलाई पर्खिन्छु भन्छ
तिम्रा हरेक पीडा लिई खुसीहरु दिन्छु भन्छ
तिम्रो सफलताको काँडा बटुलेर लिन्छु भन्छ

गजल ३९
प्रश्न आज आफैलाई, प्रीत ज्योति बालें किन?
सर्बप्रीय चाँदलाई पाउने, दिवास्वप्न पालें किन?
चाँद एक नासो थिइन, किन्तु मेरो भने होइन
थाहा पत्तो हुदाहुँदै पाइलाहरु चालें किन?
बर्षौंदेखि चाँदनीले, मैलाई पर्खिराछिन भन्ने
कोरा भ्रम खेती गरी, बचनहरु फालें किन?
चाँद एक स्वप्न थिइन, जाग्रामसंगै बिलाईगइन्
फाटेका हर इच्छाहरु, उनकै निम्ति टालें किन?
पत्थर निर्मित चाँदनीलाई पग्लाउने चेष्टा गर्दै
जिन्दगी र भविष्यलाई भड्खालोमा हालें किन?
प्रश्न आज आफैलाई, प्रीत ज्योति बालें किन?
सर्बप्रीय चाँदलाई पाउने, दिवास्वप्न पालें किन

गजल ४०
नजिक आउन खोज्दा टाढा नसरे पो जाती हुन्थ्यो
माया लाउन खोज्दा टाढा नसरे पो जाती हुन्थ्यो
भित्रभित्रै मन पराई माया गर्छ्यौ मलाई नै
बाहिर त्यसरी आँखा नतरे पो जाती हुन्थ्यो
निष्ठुरीको नाटक गर्ने कोमल मुटु धारी तिमी
त्यसरी मन जलाईदिने नगरेपो जाती हुन्थ्यो
मेरो लागि सबैथोक केवल केवल तिमी नै हौ
अनावश्यक शंकाभित्र नपरेपो जाती हुन्थ्यो
दिलको बन्दी बनाएर ह्दयमा थुन्न चाहें
मनभित्रै बसी तल नझरेपो जाती हुन्थ्यो
नजिक आउन खोज्दा टाढा नसरे पो जाती हुन्थ्यो
माया लाउन खोज्दा टाढा नसरे पो जाती हुन्थ्यो

गजल ४१
संधै पछ्याइ राख्नुपर्ने, पागलपनको रोगी होइनँ
भीख सरी माया माग्ने, हजुर जस्तो जोगी होइनँ
अनुहार र खोक्रो प्यार, झुनड्याएर बेच्न खोज्ने
बिज्ञापनवादी हजुर, जस्तो कुनै जोगी होइनँ
चुनौती र प्रश्न अनि, सर्तहरु तेर्स्याएर
अर्थहीन तपस्यारत, हजुर जस्तो योगी होइनँ
भावुकताको फइदा उठाई, प्रेमको नाटक मञ्चन गर्ने
वासनाको प्रेतसवार हजुर जस्तो भोगी होइनँ
नजिकिने हरेकसंग, झूठो प्रेमको खेल खेल्ने
हजुर जस्तो अल्लारे, कुनै प्रतियोगी होइनँ
संधै पछ्याइ राख्नुपर्ने, पागलपनको रोगी होइनँ
भीख सरी माया माग्ने, हजुर जस्तो जोगी होइनँ

गजल ४२
हजार हजार टुक्रा पारी फालिएको जीवन मेरो
सुख्खा मृत बिरुवा झैं ढालिएको जीवन मेरो
जहींतहीं फाटेपनि, चारैतिर च्यातिए नि
लाज ढाक्ने बहानामा टालिएको जीवन मेरो
मुटु धड्की राखेपनि, श्वास चलिराखेपनि
चीता उपर विछ्याएर बालिएको जीवन मेरो
पूर्णाङ्गै नै भएपनि, सबैथोक पाएपनि
मानव स्वरुप अन्त्य गर्न गालिएको जीवन मेरो
सबैथोक रित्तिएपनि, हरेक चिज बितेपनि
केवल केवल उनकै निम्ति सम्हालिएको जीवन मेरो
हजार हजार टुक्रा पारी फालिएको जीवन मेरो
सुख्खा मृत बिरुवा झैं ढालिएको जीवन मेरो

गजल ४३
तिम्रा हरेक कसमहरु, आज मलाई पासो भयो
विश्वासघातको जहर दियौ, जिउनुनै हाँसो भयो
भुल्न सक्ने छैन मैले, संगै बिताएका घडी
पलपलको याद तिम्रो, आज मलाई नासो भयो
तिम्रा हरेक चिठ्ठीपत्र, उपहार र चिनोहरु
किन किन आज मलाई, नचाहिँदो टाँसो भयो
धेरै कुरा भन्नु थियो, सुन्न तिमी तयार भईनौ
सम्पूर्ण गुनासाहरु, गुम्स्याइ राख्या काँसो भयो
किन यस्तो गर्यौा तिमीले, के थियो र गल्ती मेरो
परिमार्जित बाटो हिड्न, थाहा पाउने चासो भयो
तिम्रा हरेक कसमहरु, आज मलाई पासो भयो
विश्वासाघातको जहर दियौ, जिउनुनै हाँसो भयो

गजल ४४
एकै छिन नजिक आई, गयौ माया मारी तिमी
गुल्जार एक जीवनलाई, उजाड उजाड पारी तिमी
पवनको एक झोंक्कासरी उडी आई बही गयौ
बोकाउँदै यो ज्यानलाई तिक्तताको भारी तिमी
लक्षय अनि दिशाहीन अल्लारेको बिल्ला भिराई
नयाँ संसार सजाउन खोज्ने एउटी नारी तिमी
समय ब्यतित गर्ने साधन, तुल्यायौ है माया मेरो
मानवीयताको नाउँमा कुटीलता धारी तिमी
अल्पकालिन अतिथी झै, अञ्जान संसारमा आई
असरल्ल बनाईगयौ, अश्रु गंगा तारी तिमी
एकै छिन नजिक आई, गयौ माया मारी तिमी
गुल्जार एक जीवनलाई, उजाड उजाड पारी तिमी

गजल ४५
साधु भन्दै आफुलाई, छुरी बोक्ने गर्छन यहाँ
सदाचारीको नाटक गर्दै, खल्ती गोजी भर्छन यहाँ
माथिदेखि तलसम्म, हाकिम होस या चप्रासी
सेवाग्राही हरेकलाई, चर्नुसम्म चर्छन यहाँ
हतार गरी के गर्नुछ, फुर्सदमा गरौं भन्दै
आजको काम भोली भन्न, सबै अघि सर्छन यहाँ
कामकुरो नमिल्दो छ, अप्ठ्यारो हुन्छ भन्दै
बस्या कुर्ची बिर्सिएर टेवलमुनी झर्छन यहाँ
नैतिकतालाई ख्याल राखी, भ्रष्ट आचार विचार त्याग्न
भाषण दिने ठूलाबडामा, तिनै मानिस पर्छन यहाँ
प्रदीप्तीको याचनामा, दीपहरु बल्छन तर
आफैले उज्जयालो नपाई, आखिरमा मर्छन यहाँ

गजल ४६
अभाव र गरीवीमै जीवनआयु घटाउँछ ऊ
जोहो गर्दै दानापानी, दिनरात कटाउँछ ऊ
रगत र पसिनाले बाँझो खेत फुटालेर
रोपि गाडी उब्जाउँदै, बालीनाली छटाउँछ ऊ
बालबच्चा सम्भि्कएर दिनभरी भारी बोकी
नुन चामल खरिदेर चिसो चुल्हो तताउँछ ऊ
अछुत भनी घृणा गर्ने छुत महाजनका लागि
ज्यावल सामान बनाउन, घनहरु ठटाउँछ ऊ
कारखानाका पाङ्ग्राभित्र, ज्यान हत्केलामा राखी
आफूलाई अञ्जान सम्झी आफैलाई सताउँछ ऊ
अभाव र गरीवीमै जीवनआयु घ्टाउँछ ऊ
जोहो गर्दै दानापानी, दिनरात कटाउँछ ऊ

गजल ४७
नैराश्यताको निशा चिर्दै जीत बनी आयौ रोज
एकलास जिन्दगीमा मीत बनी आयौ रोज
एकान्तको सुन्यतामा हिक्काहरु गाईने गर्थे
किन्तु आशा भरोसाका गीत बनी आयौ रोज
छुटेका थे साथहरु, निर्जन कठीन यात्रा गर्दा
सहयात्री साथी सरी हीत बनी आयौ रोज
भुलेको थें मुस्कुराउन, हाँस्न अनि रमाउन
हर्षोल्लास र प्रेरणाको रीत बनी आयौ रोज
अन्धकारको जालो च्याती बिहानीको ज्योति छर्ने
उज्जयालो सुचक बुंद, शीत बनी आयौ रोज
स्वार्थी यस संसारमा, निस्वार्थीको प्रतिक बनी
पबित्र र चोखो माया, प्रीत बनी आयौ रोज

गजल ४८
मेरो माया तिम्रो निम्ति जिन्दगीको गीत बनोस्
चाहना र साथ मेरो, आशा अनि जीत बनोस्
संधै फूलिरहू तिमी, बसन्तको फूल बनी
हर प्रभात त्यो फूललाई चुमिरहने शीत बनोस्
निशाहरु चिरीरहू, आभाकालिन भानु सरी,
कामना र गाथ मेरो, संधै तिम्रो हीत बनोस्
बिराजमान रहू तिमी, सफलताको चुचुरोमा,
प्रार्थना छ जीवन मेरो संधै तिम्रो मीत बनोस्
प्रीत लगाईरहू संधै, सौभाग्य सुस्वास्थ्यसंग
ईच्छाहरु पुर्ती हुनु, संधै तिम्रो रीत बनोस्
मेरो माया तिम्रो निम्ति जिन्दगीको गीत बनोस्
चाहना र साथ मेरो, आशा अनि जीत बनोस्

(द्रष्टव्य : यस पृष्ठमा समावेस गरिएका कतिपय निस्सारता पक्षधर र विचारहीन प्रेमविषयक तथा नैराश्यतावादी गजलहरु २०६१ / ६२ को किशोर कालखण्डमा अल्पाध्ययनको साँघुरो घेराभित्रबाट लेखिएका रचनाहरु भएकाले लेखक (देव अञ्जान)का वास्तविक प्रतिनिधी सिर्जनाहरु नभएको र कतिपय रेडियोकर्मी साथी तथा पाठकहरुको मागबमोजिम प्रकासन गरिएको अनुरोध छ ।)