रेडियो माडी १०७.६ मेगाहर्ज र यसको अनलाइन प्रसारण

चितवनको माडी बसन्तपुरमा स्थापित भई अत्याधुनिक डिजिटल ट्रान्समिटरद्वारा भू–सतहबाट १२५ फिट उचाइमा रहेका फोर बे ब्रोडव्यान्ड एन्टेना मार्फत निरन्तर प्रसारण हुँदै आएको रेडियो माडी सम्पूर्ण माडीबासीको अपनत्व रहेको एक सामुदायिक प्रसारण संस्थाका रुपमा ग्रामिण सचेतक र सुचना, समाचार तथा मनोरञ्जनको पर्यायका रुपमा परिचित छ ।

मुलतः माडी क्षेत्रका श्रोता केन्द्रित स्थानिय रेडियोका रुपमा सञ्चालित रहेपनि चितवन र नवलपरासी क्षेत्र संगै गोर्खा, तनहुँ, रुपन्देही, पाल्पा, स्याङजा, पर्वत, पर्सा लगायतका एक दर्जन नेपाली जिल्लाहरु र भारत विहारका पुर्वी तथा पश्चिम चम्पारणका अधिकांश भुभाग समेत यसको प्रसारण र श्रवण क्षेत्र रहेको विविन्न निकायहरुले गरेका सर्वेक्षण र रेडियोको श्रोता सहभागिताले देखाएको छ । त्यसको अलावा इन्टरनेट अनलाइनका थुप्रै वेवसाइटहरु मार्फत विश्वभर सुन्न सकिने यस रेडियो नेपालका स्वतन्त्र रेडियोहरुमध्ये सर्वाधिक भाषाहरुमा कार्यक्रम उत्पादन र प्रसारण गर्ने रेडियोको रुपमा चिनिएको छ र सर्वाधिक सम्पर्क मञ्च (श्रोता क्लब)हरु भएको प्रसारण संस्थाको रुपमा समेत प्रसिद्ध रहेको छ । विकास, पर्यटन र वातावरण पत्रकारिताको उत्कृष्ट नमुनाका रुपमा सम्पूर्णतः स्थानीय जनशक्तिवाट सञ्चालित हुनु तथा ग्रामिण आवाज मुखरित गर्नु यसका विशेषताहरु हुन ।

आफ्नै उत्पादनमा माडी खवर, खबर अपडेट, शोमेश्वरको आँगनी, समय सन्दर्भ आदिजस्ता समाचार तथा विचारमुलक कार्यक्रमहरु तथा शैक्षिक दर्पण, नारी आवाज, संरक्षण सेरोफेरो, दलित आवाज आदिजस्ता सुचना तथा चेतनापरक रेडियो कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको यस रेडियोले सामुदायिक सुचना नेटवर्क, कम्युनिकेशन कर्नर, नेपाल एफ.एम. नेटवर्क तथा ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनद्वारा उत्पादित साझा खबर, नेपाल खबर, नेपाल समाचार तथा बि.बि.सी. नेपाली सेवा जस्ता लोकप्रिय समाचार प्रसारण गर्ने गर्दछ । त्यसैगरी श्रोताका चाहना र रुची अनुसारका सांगितिक, साहित्यिक, फोन इन तथा लोककल्याणकारी कार्यक्रमहरु सामयिक रुपमा बज्ने यस रेडियोले छोटो समयमै आफूलाई एक परिमल स्थानिय सामुदायिक रेडियोका रुपमा स्थापित गरेको छ । रेडियोको बृहद सदस्य सञ्जाल अनि यसका साथी व्यवसाय, संस्था तथा निकाय र प्रतिष्ठानहरुका कारण यो समाजको एक महत्वपूर्ण हिस्साका रुपमा स्वीकारिएको पनि छ ।